ताजा समाचार

हरेक क्षेत्रमा सफलताको शिखर चुमेका ८ महिला

प्रथम महिला राष्ट्रपति

काठमाडौं,२४ फागुन । आज अन्तरराष्ट्रिय महिला दिवस । संसारभरिका महिलाहरुले आजको दिनलाई आफ्नो अधिकार, खुशी र सफलताको मापन एवं उत्प्रेरणा गर्ने दिनका रुपमा सम्झने गर्छन् । र, आजको दिन हरेक क्षेत्रमा सफलताको शिखर चुमेका महिलाहरुको खोजी एवं चर्चा गर्ने गरिन्छ ८ मार्चमा ।

नेपालमा पनि आजको दिन सफल महिलाहरुलाई सम्झने गरिन्छ । हरेक क्षेत्रमा सफलता प्राप्त गरेका महिलाहरुको स्मरण गर्दै महिला सशक्तीकरणको आवाज उठाउने गरिन्छ ।यसै सन्दर्भमा  त्यस्ता ८ जना नेपाली महिलालाई स्मरण गरेका छौं, जसले विभिन्न क्षेत्रमा पाएको सफलताका कारण चर्चा कमाएका छन् ।

 देशकै सर्वोच्च पदमा पुगेकी छिन् विद्यादेवी भण्डारी । उनी नेपालको पहिलो महिला राष्ट्रपति हुन् र उनले यही कुर्सीमा अर्को एक कार्यकाल बिताउने तय भइसकेको छ ।

विद्यादेवी भण्डारी

भोजपुर जिल्लामा मिथिला पान्डे र रामबहादुर पान्डेको छोरीको रुपमा २०१८ साल असार ५ गते उनको जन्म भएको थियो । श्रीमान मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि उनी राजनीतिमा होमिएकी हुन् । श्रीमानको मृत्युपछि एक्लै दुई छोरीहरुलाई हुर्काउँदै उनी राजनीतिको खुड्किलो उक्लिँदै गइन् । राष्ट्रपति पदमा निर्वाचित हुनुअघि उनी नेकपा एमालेकी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् ।

भण्डारी विगतमा जनसंख्या तथा वातावरण र रक्षामन्त्री समेत भएकी थिइन् । उनलाई विश्वप्रसिद्ध फोब्र्स पत्रिकाले २०१६ का विश्वका शक्तिशाली महिलाहरुको सूचीमा ५२ औं स्थानमा राखेको थियो ।

उनको राष्ट्रपतीय कार्यकाल सापेक्षिक रुपमा सफल नै रह्यो ।  भण्डारीले दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्न पाउने पक्का भइसकेको छ ।

शुशीला कार्की

 

नेपालकी पहिलो महिला प्रधानन्यायाधीशमा आफ्नो नाम लेखाउन सफल सुशीला कार्की आफ्नो निडर र हक्की स्वभावका लागि परिचित छिन् ।

प्रधानन्यायधीशका रुपमा उनको कार्यकाल निकै चर्चित रह्यो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा विश्वास राख्ने कार्की आफ्ना विरोधीहरुलाई कँज्याउनलाई पनि उत्तिकै माहिर थिइन् ।
प्रधानन्यायाधीश सुशीलाका श्रीमान दुर्गाप्रसाद सुवेदी कांग्रेसका त्यागी नेता हुन् । आम नेपाली परिवारभन्दा पृथक सुशीला घर बाहिरको र उनका श्रीमान घरभित्रको काम गर्थे लामो समयसम्म ।

आफू न्यायाधीश हुँदा सुशीलाले थुप्रै चर्चित मुद्दाहरुमा फैसला गरेकी छिन् । बहालबाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रष्टाचार मुद्दामा उनले दोषि ठहर गरेर गुप्तालाई जेल पठाएकी थिइन् । प्रधानन्यायाधीशको पदमा रहँदा उनले सुडान भ्रष्टाचार काण्डका दोषीहरुलाई जेल पठाएकी थिइन् ।

ओनसरी घर्तिमगर

दुर्गम गाउँमा विपन्न परिवारमा जन्मिएर राज्यको उच्च पदसम्म पुग्न सफल साहसी महिला हुन् ओनसरी घर्तिमगर । उनी नेपालको पहिलो महिला सभामुख हुन् ।

ओनसरीले सभामुखको जिम्मेवारी सम्हाल्दा उनीप्रति धेरै सन्देहहरु थिए । उनी यो जिम्मेवारीका निम्ति योग्य नभएको र श्रीमान वर्षमान पुनको जोडबलमा यो पद हासिल गरेको भनेर निकै आलोचना भयो । तर, ओनसरीले आफूलाई प्रमाणित गरेर छोडिन् । अपवादलाई छोडेर उनको सभामुख कार्यकाल विवादरहित रह्यो ।

ओनसरीको जन्म २०३४ साल कात्तिक २८ गते रोल्पाको बैंकोटमा भएको थियो । कलिलै उमेरदेखि राजनीतिमा लागेकी उनी माओवादी जनयुद्धमा प्रत्यक्ष संलग्न भइन् ।

उनी जनयुद्धका क्रममा पूर्वी नेपाल र राजधानी काठमाडौं वरपरका काभ्रे, रामेछापमा सक्रिय रहिन् । उनले मगर जनमुक्ति सेनामा केही समय काम गरेकी थिइन् । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उनी पनि एक थिइन् ।

 

अनुराधा कोइराला

 

संघर्ष र समाज सेवाकी पर्याय हुन्( अनुराधा कोइराला । पछिल्लो समय नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकी उनी हाल ३ नम्बर प्रदेशको प्रदेश प्रमुखको पदमा छिन् । उनी देशकी पहिलो महिला प्रदेश प्रमुख हुन् ।

 

अनुराधालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम चाहिँ माइती नेपाल नामक गैरनाफामुलक संस्थाले गरेको हो । यस संस्थाले मुम्बईमा बेचिएका नेपाली महिलाहरुको उद्दार र संरक्षण गर्दै आएको छ । हाल माइती नेपालले काठमाडौंमा पुनस्थापना गृह सञ्चालन गर्नुका साथै नेपाल(भारत सीमा शहरहरुमा ट्रान्जिट होमसमेत चलाइहेको छ ।

मुम्बईका कोठीहरुबाट उद्दार गरिएका चेलीहरुलाई परिवारले स्वीकार नगरेमा यहाँ आश्रय दिने गरिन्छ । हालसम्म माइती नेपालले १२ हजार भन्दा बढि महिला तथा बालिकाहरुलाई उद्दार र पुनस्र्थापन गरेको छ ।

अनुराधालाई थप चर्चित बनाउने काम चाहिँ सीएनएन हिरो अवार्डले गर्‍यो । सन् २०१० मा उनले सो प्रतिष्ठित अवार्ड जितेकी थिइन् । उनले सो वापत् माइती नेपाललाई निरन्तरता दिन १ लाख अमेरिकी डलर र टोकन अफ एप्रिसियसन स्वरुप २५ हजार डलर प्राप्त गरिन् ।

शाही शासनकालमा उनी महिला तथा समाजकल्याण मन्त्री बनेकी थिइन् । अनुराधाको जन्म सन् १९४९ को १४ अप्रिलमा भएको हो ।
यद्यपि सामाजिक क्षेत्रमा चर्चित बनिरहेको व्यक्तित्व जीवनको उत्तरार्धमा आएर पार्टीमा प्रवेश गरेर सरकार नियुक्ति खान गएकोमा कतिपयले अनुराधाको आलोचना पनि गरेका छन् । उनले पदको लोभ नदेखाएको भए हुन्थ्यो भन्ने कतिपय उनका सुभेच्छुृकहरु पनि भेटिने गरेका छन् ।

मिरा राई

भोजपुरको सानोदुङमामा अत्यन्त विपन्न परिवारमा जन्मिएकी थिइन् मिरा राई । परिवारमा उनी पाँच भाइबहिनी मध्येकी जेठी थिइन् ।
उनको परिवारलाई आर्थिक समस्याले सताउन थालेपछि उनले १२ वर्षको उमेरदेखि स्कुल जान छाडिन् र घरायशी काम धन्दामा सिमित भइन् ।

घरायशी धन्दाका लागि उनी दैनिकरुपमा भोजपुरका पहाडमा ओहोरदोहोर गर्थिन्, जसले कालान्तरमा। उनलाई अल्ट्राधावक बनायो ।पारिवारिक समस्या बढ्दै गएपछि १४ वर्षको कलिलो उमेरमा उनी माओवादी जनयुद्धमा प्रवेश गरेकी थिइन् । तर, पछि उनी ‘अयोग्य लडाकु’ को ट्याग भिरेर अस्थाई शिविरबाट रुँदै बाहिरिनुपर्‍यो ।

उनै मिरा राईले सन् २०१६ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो मोन्ट ब्लङ्क म्याराथनमा च्याम्पियन बनेर आफ्नो योग्यता दुनियासामु देखाइदिइन् । मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेन्डमा पुरा गरी सो उपाधी उचालेकी थिइन् ।

माओवादी शिविरमै रहँदै कराँते सिकाएका गुरुको सहयोगमा उनी काठमाडौं आइन् । तीन वर्षको अन्तरालमा उनले यति ठूलो सफलता पाइन् कि नेसनल जियोग्राफीले उनलाई २०१७ मा संसारकै साहसिक महिलाको उपाधी दियो ।

पछिल्लो समयमा घुँडाको शल्यक्रियापछि उनले कुनै प्रतियोगितामा भाग लिएकी छैनन् ।

विश्व च्याम्पियन मिरा राईमाथि बनेको डकुमेन्ट्रीले काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किम्फ० मा अडियन्स च्वाइस अवार्ड जितेको थियो ।

पुष्पा बस्नेत

सहाराविहीन बालबालिकाहरुका लागि आफ्नो जीवन समर्पण गरेकी उदाहरणीय समाजसेवी हुन् पुष्पा बस्नेत ।

चुपचाप आफ्नो कर्ममा लिप्त रहेकी पुष्पा सन् २०१२ मा सीएनएन हिरो घोषित भएपछि एकाएक चर्चामा आइन् । लगत्तै उनले राष्ट्रपतिको हातबाट गोरखा दक्षिणबाहु पनि प्राप्त गरिन् ।

कुनै समय ७ हजार कोठाभाडा निर्त सक्ने अवस्थामा नरहेकी पुष्पासँग आज प्रारम्भिक बालविकास केन्द्रका नाममा करोडौंको सम्पत्ति छ ।
स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे पनि उनी कुनै ठूलो जागिरको खोजिमा लागिनन् । उनले सन् २००५ मा ६ जना साथीसँग मिलेर ५ जना बालबालिकाबाट शिशु स्याहार केन्द्रको सुरुवात गरेकी थिइन्, जसमा जेलभित्र बाबुआमा भएका बालबालिकालाई राखिएको थियो । यसको दायरा विस्तारै फराकिलो हुँदै गएर आजसम्म उनले सयभन्दा बढि बालबालिकालाई पालनपोषण र शिक्षादिक्षा दिलाइसकेकी छिन् ।

प्रथम नेपाली टेम्पो चालक

लक्ष्मी शर्मा

महिला र पुरुषबीच समानताको जति नारा फलाके पनि अझै धेरै कामहरु यस्ता छन्, जसमा संलग्न महिलाको संख्या नगन्य छ । त्यस्तै काममध्ये एक हो ड्राइभिङ । सार्वजनिक सवारी साधनको स्टेयरिङ समाउने महिलाहरु अहिले पनि न्यून संख्यामा छन् ।

लक्ष्मी शर्माले ०३८ सालमै टेम्पो चलाउने काम गरेकी थिइन् । त्यसैले त उनी नेपालकै पहिलो महिला टेम्पो चालकका रुपमा चिनिएकी छिन् । तर, उनी टेम्पो चालकमा मात्रै सीमित रहिनन्, एउटी सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिन् ।

१३ वर्षको कलिलो उमेरमा वैवाहिक सम्वन्धमा बाँधिएकी शर्मालाई श्रीमानले चरम मानसिक र शारीरिक यातना दिएका थिए । त्यसपछि उनले आफैंले केही गर्नुपर्छ भन्ने भावनाका साथ संघर्ष प्रारम्भ गरेकी थिइन् ।

२०३८ सालमा उनले आफ्नी साइली आमाबाट सापटी पैसा मागेर टेम्पो किनेर जमलदेखि महाराजगञ्जसम्म आफैं हाँक्न थालिन् । सुरुमा उनले टेम्पो चलाएको देख्नेहरु अनौठो मानेर हेर्थे । कतिपय यात्रुहरुले हेप्थे र दुर्वचन पनि बोल्थे । तर, उनी डग्मगाइनन् ।

आफ्नो कडा संघर्ष र लगनले गर्दा उनी अहिले करोडौंको कारोवार गर्ने सफल उद्यमी बनेकी छिन् र सयौंलाई रोजगारी दिएकी छिन् ।

जोली अमात्य

संयुक्त राष्ट्रसंघको युथ एसेम्बलीको अध्यक्ष गर्ने पहिलो नेपाली महिला हुन् जोली अमात्य । राष्ट्रसंघ यति उच्च तहमा पुग्ने उनी सबैभन्दा कम उमेरकी नेपाली पनि हुन् । राष्ट्रसंघको सबैभन्दा ठूलो युवा सम्मेलनका रुपमा परिचित युथ एसेम्ब्ली विश्वभरका युवाहरुलाई नेतृत्व गर्ने उच्च तह हो । युथ एसेम्ब्ली राष्ट्रसंघमा सबैभन्दा लामो समय चल्ने सबैभन्दा ठूलोमध्येको एउटा सम्मेलन हो ।

राष्ट्रसंघको युथ एसेम्बलीमा नेपालको युवा प्रतिनिधिका रुपमा अमात्य सन् २०१३ मा प्रवेश गरेकी हुन् । तीन वर्षको छोटो समयमा नै उनी उच्च तहमा पुग्न सफल भइन् ।सम्मेलनको अध्यक्षताका लागि नियुक्त भएपछि अमात्यले ९७ देशका १ हजारभन्दा धेरै प्रतिनिधिहरुको नेतृत्व गर्दै राष्ट्रसंघको मुख्यालयमा कार्यक्रम गरेकी थिइन् । उनले खचाखच भरिएको ऐतिहासिक राष्ट्रसंघको महासभाहलमा आयोजित युथ एसेम्ब्लीमा सम्वोधन गरिन् ।

अमात्यले राष्ट्रसंघका विभिन्न अंगहरुसहित विश्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्सन एड इन्टरनेसनल लगायत संस्थामा काम गरिसकेकी छिन् । सन् २०१५ मा उनलाई ग्लोबल कनेक्सन फर वुमन फाउन्डेसन न्यूयोर्कले युथ ग्लोबल लिडर अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।

पाटनको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयबाट विज्ञान संकायमा प्लस टु सकेर अमेरिका पुगेकी जोली पहिलोपटक सन् २०१३ मा संयुक्त राष्ट्रसंघको युवा सम्मेलनमा सहभागी भएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org