ताजा समाचार

अबिरल वर्षाका कारण तराई जलमग्न, बाढीको खतरा, सर्तकता अपनाउन प्रशासनको आग्रह

मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

महाशाखाका अनुसार आज देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीलगायत मुख्य नदीको जलबहाव एकदम तीव्र छ । जुनसुकै बेला जलमग्न बनाउन सक्ने भएकोले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमका मोहना, बबई, पश्चिम राप्ती र आसपासका साना जलाधारमा भारी वर्षा भइरहेकाले जलसतह खतराकै आसपास रहेको बताइएको छ ।

पूर्व तथा मध्यक्षेत्रमा पनि भारी वर्षा भइरहेको छ । वर्षाबाट मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बूढीखोला, त्रियुगा, खाँडो, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोलालगायत चुरे आसपासबाट बहने सबै नदीहरूमा जलसतह बढेको छ । जुनसुकै बेला खतरा निम्त्याउन सक्नेतर्फ सचेत रहन सरकारले आग्रह गरेको छ ।

यस्तै सोमबार कोसी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । नारायणी र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । महाभारत र चुरेबाट बहने विरिङ, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ ।

अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् ।

मंगलबार कोसी, नारायणी, कर्णाली र महाकालीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना नदेखिएको प्रायः सबै मुख्य नदीमा बहाव विस्तारै घट्दै जाने अनुमान महाशाखाको छ । आइतबार गोरखा, धादिङ, लमजुङ, कास्कीको केही स्थान तथा सोमबार गोरखा, धादिङ, लमजुङ, कास्कीको अतिरिक्त काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहाडका साना नदीमा पनि एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यसैगरी चुरे र महाभारतबाट बग्ने प्रायः नदीमा बहाव बढ्ने क्रममा हुने अनुमान गरिएकाले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बसोवास गर्ने नागरिकलाई आइतबार र सोमबार सजकता अपनाउन भनिएको छ । आइतबार र सोमबार बागमती र नारायणी आसपासमा पनि सतर्क रहन आग्रह गरिएको महाशाखाको विज्ञप्तिमा भनिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवामा ६३, पोखरामा ६२, सिमरामा ५१, धनकुटामा २७ तथा विराटनगर र धनगढीमा १०÷१० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ४ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २७ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org