ताजा समाचार

संसद् बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ ३२, असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका छन।

सोही क्रममा काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्मविपरितको चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न लागेको आरोप लगाए।

सांसद विश्वकर्माले विगतको सरकारले माथेमा आयोगको भावना र मर्मअनुसारका चिकित्सा शिक्षा आयोग अध्यादेशमार्फत जारी गरेको जानकारी गराए ।

उनले भने, “हामीले आमरण अनसनर डा केसीको माग सम्बोधन गरी उहाँको जीवन रक्षाका लागि पटक÷पटक आवाज उठाउँदा पनि सरकार गम्भीर देखिएन, यस घटनालाई मुलुकभित्र र विश्वमा नै चासोका साथ हेरिएको भए पनि यसमा सरकार गम्भीर देखिएन तसर्थ उहाँका माग सम्बोधन नभएसम्म संसद् चल्न दिदैनाैँ ।”

सभामुखको पटक÷पटकको आग्रहपछि पनि काँग्रेसका सांसद आसन ग्रहण नगरी उभिरहेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक आधा घण्टाका लागि स्थगन गरे ।

सोही क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै नियमित प्रक्रियाबाट नै विधेयक पेश हुने बताउँदै कसैले पनि संसदीय अभ्यासलाई मिच्न नहुने बताए।

साथै उनले संसद्मा अल्पमतले बहुमतलाई अवरोध गर्ने दृष्टान्त विश्वमा नै नरहेको बताए ।

नेकपाका अर्का सांसद खगराज अधिकारीले प्रतिपक्ष दलसँग समेत छलफल गरेर सहमतिमा ल्याएको विधेयकलाई अघि बढाउन अवरोध गर्दा सहमति उल्लघंन भएको बताउँदै सभामुखले बोल्ने बेला कसैले पनि सदनमा बाधा गर्न नहुने नियमावलीमा व्यवस्था रहेको जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org