ताजा समाचार

प्रदेश पाँचका प्रदेशसभा सदस्यहरुको सेवा सुविधा वृद्धि गर्ने

काठमाण्डाैँ १२,साउन । प्रदेश ५ को प्रदेशसभा सदस्यहरुको सेवा सुविधा वृद्धि गर्ने गरी संसदको विषयगत समितिले प्रतिवेदन पेश गरेको छ ।

निर्वाचित जनप्रतिनिधिहरू आफ्नै सेवासुबिधा वृद्धिमा केन्द्रीत भईरहेको जनस्तरबाट गुनासो आईरहेको बेला जनचाहनालाई वेवास्ता गर्दै संसदको विषयगत समितिले प्रदेशसभामा प्रतिवेदन पेस गरेको हो।

प्रत्येक सांसदलाई स्वकिय सचिव राख्न पाउने गरि प्रतिवेदन प्रदेशसभामा पेस भएको हो।

शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा अर्थ, उद्योग तथा पर्यटन समितिका जेष्ठ सदस्य अमर बहादुर डाँगीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सम्बन्धित समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रदेश सभामा ८७ जना सांसद छन्। प्रतिवेदन अनुसार सांसदहरूले स्वकीय सचिव राख्न पाउने छन् भने स्वकीय सचिवले निजामती कर्मचारी सुब्बा सरहको सुबिधा पाउने डाँगीले जानकारी दिए ।

विधेयकमा मुख्यमन्त्रीका लागि ६० हजार ९ सय ७०, मन्त्रीका लागि ५२ हजार, राज्यमन्त्रीका लागि ४९ हजार र सहायक मन्त्रीका लागि ४७ हजार मासिक सुविधा प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्रीलाई आवश्यकता अनुसार गाडी र आवास सुविधा दिने तथा मन्त्रीहरुलाई एक-एक वटा गाडी र आवास सुविधा दिइने छ । सभामुखका लागि मासिक सुविधा ५३ हजार र उपसभामुखका लागि ५० हजार र विपक्षी दलको नेतालाई ५० हजार तथा दुबैलाई गाडी र आवासीय सुविधा प्रस्ताव गरिएको छ । त्यसैगरी संसदीय समितिका सभापतिका लागि ४८ हजार, दलका प्रमुख सचेतकलाई ४८ हजार र सदस्यका लागि ४५ हजार प्रस्ताव गरिएको छ ।

शुक्रबारको बैठकमा प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले संसदीय समितिमा चयन भएका सभापतिहरुको नाम पढेर सुनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org