ताजा समाचार

सातामा १ घण्टा जनतासंग उर्जा मन्त्रि

काठमाण्डाै १२, साउन । प्रत्येक साताको शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने भएका छन् ।
झण्डै एक वर्ष अघिदेखि ऊर्जा क्षेत्र मन्त्रालय र यसको मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्नका लागि हटलाइन सेवा सुरु गरेकोमा प्रत्येक शुक्रबार मन्त्री आफैले उपभोक्तासँग कुरा गर्न लागेका हुन् । आगामी शुक्रबार अर्थात् १८ साउनदेखि प्रत्येक शुक्रबार १२ बजेदेखि १ बजेसम्म उपभोक्ताको गुनासो तथा जिज्ञासाबारे ऊर्जामन्त्री पुनले हटलाइनमार्फत साक्षत्कार कार्यक्रम गर्न लागेको मन्त्रीको सचिवालले जनाएको छ ।

“हटलाइन सेवा सुरु भएको एक वर्ष पुग्न लागे पनि प्रभावकारी नभएकाले ऊर्जा क्षेत्रमा जनताका गुनासा सुन्न र त्यसको समाधानका लागि मन्त्रीज्यूले प्रत्येक शुक्रबार १२ बजेदेखि १ बजेसम्म हटलाइनमार्फत प्रत्यक्ष कुराकानी गर्न लाग्नुभएको हो,” मन्त्रीका प्रेस संयोजक रोशन खड्काले भने, “यसबाट उपभोक्तालाई प्रभावकारी रूपमा सेवा प्रदान गर्नका लागि सहयोग पुग्छ, गुनासोको आधारमा त्यसको सम्बोधन गर्ने र समाधान भएपछि सम्बन्धित गुनासोकर्तालाई समेत जानकारी दिने गरी हटलाइनलाई प्रभावकारी बनाउन लागिएको छ ।”

मन्त्रालयका अनुसार, शुक्रबार ऊर्जामन्त्रीसँग निःशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१-४२ मा प्रत्यक्ष कुराकानी गर्न पाउने व्यवस्था गरिएको छ । उपभोक्ताले विद्युत् सेवाका साथै सिँचाइ र वैकल्पिक ऊर्जाबारे समेत गुनासो र जिज्ञासा राख्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विशेषगरी मिटर नपाएको, पोलको व्यवस्था नभएको, विद्युत् चुहावट भएको, लो भोल्टेजको कुरा बिजुलीमा समस्या आएको, ट्रान्सफर्मरमा समस्या आएको, समयमै विद्युतीकरण हुन नसकेको लगायतका गुनासो गर्दै आएका छन् ।

१५ भदौ २०७४ देखि सञ्चालनमा ल्याइएको हटलाइनमा सेवाका लागि १२ कर्मचारीको व्यवस्था गरिए पनि हाल ५ कर्मचारीमात्र छन् । हाल गुनासो आएपछि कर्मचारीहरूले विद्युत् प्राधिकरणलगायतका सम्बन्धित निकायलाई जानकारी दिएर त्यहाँमार्फत कारबाही भएपछि सम्बन्धित गुनासो कर्तालाई जानकारी दिने गरेका छन् । गुनासो सम्बोधनका क्रममा लामो समय लाग्ने गरेको र यसकै कारण पछिल्लो समयमा गुनासो गर्नेको संख्या घट्दै गएपछि प्रत्यक्ष रूपमा मन्त्री स्वयंले उपभोक्तासँग साक्षात्कार गरेर प्रभावकारी बनाउने लक्ष्य मन्त्रालयको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org