ताजा समाचार

अघि बढ्यो स्वदेशी लगानीमा बन्ने दोस्रो ठुलो बेतान कर्णाली जलविद्युत् आयोजनाको डीपीआरको काम

सुर्खेत १२, साउन । कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढाएको छ। कोषले ४ सय २५ मेगावाट क्षमताको आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य अघि बढाएको हो।

तामाकोशीपछिको स्वदेशी लगानीमा निर्माण हुन लागेको दोस्रो ठुलो आयोजनाको डीपीआर तयार भएलगत्तै टेण्डर प्रक्रियामा जाने तयारी गरेको कोषले जनाएको छ। यसका लागि कम्पनीले वित्तीय स्रोत जुटाइसकेको छ। आयोजना निर्माणमा कम्तीमा ८० अर्ब बढी लागत खर्च हुने अनुमान छ। प्रारम्भिक अध्ययनअनुसार सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको सुगरखालमा रहने गरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना निर्माण हुनेछ।

आयोजनाको निर्माण कार्य शुरु गर्नभन्दा पहिले पहुँचमार्ग र डीपीआरको काम अघि बढाउने भएको छ। आयोजनाको काममा आर्थिक संकटले कुनै प्रभावित नभएर काम अघि बढाउने दावी गरिरहेका छन्। आयोजनाको एक वर्षको सर्वेक्षण करिव ५ वर्षभित्र निर्माण शुरु गर्ने कम्पनीको लक्ष्य रहेको बेतान कर्णाली सञ्चय कोष हाइड्रोपावर लिमिटेडका परामर्शदाता श्रीराम शेखर अधिकारीले जनाए। उनका अनुसार अहिले कम्पनी दर्ता गरी उत्पादन लाइसेन्स पाएको उनले बताए।  ‘कम्पनी दर्ता गरेर उत्पादनका लागि लाइसेन्स पाईसकेका छौँ।’ उनले भने,‘अब जति सक्यो छिटो डीपीआरको काम अघि बढाउने तयारीमा छौँ।’

डीपीआर अवको एक वर्ष भित्र सक्ने गरी काम अघि बढाएको उनले बताए। नेपाल विद्युत् प्राधिकरणको मुख्य शेयर भएको इञ्जिनीयरिङ कम्पनीले डीपीआर अध्ययन गरिरहेको छ। २०१७ अक्टोबरदेखि उसले डीपीआरको काम थालेको हो।

सुर्खेत र कैलालीको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा यो आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले बेग्लै कम्पनी दर्ता गरिसकेको छ।

सञ्चय कोषले शेयरका साथै आवश्यक ऋण जुटाइसकेको छ। नविल र एसबीआई बैंकले सहवित्तीयकरणमा ऋण जुटाउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।

सञ्चय कोषसँग हाल २ खर्ब ५६ अर्ब रुपैयाँको कोष छ, जसबाट उसले वार्षिक डेढ अर्ब कमाउने गरेको छ।

आयोजनाको प्रारम्भिक अध्ययनले सुर्खेतको चाौकुने गाउँपालिकमा पर्ने साबिकका बेता, छाप्रे, गुटु, बिजौरा र पञ्चपुरी नगरपालिकाको विद्यापुर, कैलाली जिल्लाको सुगरखाल तथा अछाम जिल्लाको साविकका गाविस ढुङ्गेचाल्ना, नाराणपुर, तुर्माखाँद क्षेत्र प्रभावित हुने भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org