ताजा समाचार

ट्राफिक लाइट बनाउन ‘डीपीआर’तयार

काठमाडाैं १८,साउन ।    उपत्यकाका विभिन्न १४ स्थानमा जडान गरिने ट्राफिक लाइटको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सडक विभागले तयार गरेको छ । काठमाडौंका सबै ट्राफिक लाइट बिग्रिएको ५ वर्षपछि विभागले डीपीआर तयार गरेको हो ।
उपत्यकाका विभिन्न ३५ स्थानमा ट्राफिक लाइट रहे पनि हाल भक्तपुरका १० स्थानका ट्राफिक लाइटमात्र चालु अवस्थामा छन् ।

गत चैतमा सडक विभागले करिब रु. २० लाखमा नयाँ बानेश्वर र महाराजगञ्जमा नेपाली इन्जिनियरहरुले निर्माण गरेको ट्राफिक लाइट जडान गरेको थियो । उक्त दुई स्थानका लाइटको गुणस्तर र कार्यशक्ति अध्ययन गरेर थप १४ स्थानमा ट्राफिक लाइटको डीपीआर तयार गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता मुक्ति गौतमले बताए ।

नेपाली इन्जिनियरले काठमाडौंमै निर्माण गर्ने उक्त ट्राफिक लाइटको जडानका लागि कुल खर्च एक स्थान बराबर ६ देखि १२ लाख रुपैयाँसम्म लाग्ने विभागको अनुमान छ ।

“सो रकम बराबरको बोलपत्र आह्वान आउँदो बुधबार खोलिने छ,” प्रवक्ता गौतमले  भने, “बानेश्वर र महाराजगञ्जमा जडान भएको लाइट निर्माणकर्ता नै हालसम्म विश्वासिलो र ती लाइट गुणस्तरीय देखिएकाले सोही नेपाली कम्पनीले यस पटकको पनि ठेक्का पाउने सम्भावना रहेको छ ।”

विभागले भएका लाइटको मर्मत नगरी सोही स्थानमा नयाँ प्रविधिको लाइट जडान गर्न लागेको हो ।  सन् २००० मा जापान सरकारको सहयोगमा जडान भएका लाइट बल्ने समय मिलाउने प्रक्रिया कठिन रहेको र अब जडान गरिने लाइट अटोमेटिक सिग्निफिकेसन सिस्टमको रहने र रिमोटबाट लाइट बल्ने समय निर्धारण सर्न सहजै सकिने प्रवक्ता गौतमले बताए ।

ट्राफिक लाइट नहुँदा र भएका स्थानमा पनि बिग्रिएर चालु अवस्थामा नरहेका कारण ट्राफिक प्रहरीले कष्टकर रुपमा सडकको आवागमन व्यवस्थित गर्दै आएका छन् ।   हाल उपत्यकामा १ हजार २ सय ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए ।

“लाइट नहुँदा प्रहरीहरु मेनुअल तरिकाले ट्राफिक व्यवस्थापन गर्न बाध्य छन्,” पन्तले  भने, “बिहान ९ देखि ११ र बेलुका ३ देखि ५ बजेसम्म काठमाडौंका सबै चोकमा ट्राफिक चाप बढ्ने गरे पनि प्रहरीहरु ‘गो’ र ‘स्टप’ लेखिएका बोर्डका भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् ।”
ट्राफिक लाइट बनेपछि हालको अव्यवस्थित ट्राफिक व्यवस्थापन चुस्त र छरितो हुने विभागका प्रवक्ता गौतमको भनाइ छ । अटोमेटिक सिग्निफिकेसन र रिमोट सिस्टमको लाइट जडान गरिने गौतमले बताए ।  “जडान गरिने ट्राफिक लाइट नेपाली इन्जिनियरद्वारा नेपालमै उत्पादन गर्ने र विदेशबाट ल्याइनेभन्दा रकमका हिसाबले सस्तो पर्नेछ,” गौतमले भने ।

लाइट नभएकैले हाल एउटै चोकमा ७ जनासम्म ट्राफिक प्रहरी खट्नु परेको एसएसपी पन्तले बताए । काठमाडौं महानगरपालिका ८ मिटर चौडाइका सडकमात्र आफ्नो अधिकार भित्रपर्ने भएकाले मुल सडकका ट्राफिक लाइटको जिम्मा विभाग र ट्राफिक प्रहरीको रहेको बताउँछ ।

“८ मिटरसम्मका सडकमा ट्राफिक लाइटको जिम्मा मात्र हाम्रो हो,” महानगरपालिकाका सहरी पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले भने, “उक्त क्षेत्रफलभन्दा ठूला मुल सडकमा ट्राफिक लाइट जडान गर्नका लागि बजेट र योजना हामीसँग छैन ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org