ताजा समाचार

त्रिशुली-काठमाडौं भूमिगत प्रसारणलाइन २ महिनाभित्र पूरा गर्न मन्त्री पुनको निर्देशन

काठमाडाैं २० , साउन । आइतबार ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्माणधीन भूमिगत त्रिशुली-काठमाडौं प्रसारणलाइनको अनुगमनको क्रममा मातातीर्थमा पुगे । वनका कारण प्रसारणलाइन निर्माणमा समस्या आएको रिपोर्टिङ ठेकेदार र आयोजनाले मन्त्रीसमक्ष गरे । त्यसलगत्तै पुनले वनमन्त्री शक्ति बस्नेतलाई फोन लगाएर भने,’मातातर्थी प्रसारणलाइनको समस्या छिटो समाधान गर्नुपर्ने भयो मन्त्रीज्यू, सहयोग गरिदिनुस् ।’

उनले प्रसाराणलाइन निर्माणमा ढिलाइ हुँदा हाल उत्पन्न र भविष्यमा आउने समस्याबारे वनमन्त्री बस्नेतलाई जानकारी दिए । पुनले बस्नेतलाई समस्यामा गमभीर भइदिन अनुरोध गरे ।

१ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये अहिलेसम्म करिब ६ सय ३० मिटर पूरा भएको छ । निर्माणस्थलमा वन र स्थानीयको समस्या रहेकाले निर्माणलाई गति दिन नसकिएको आयोजनाले जानकारी गराएको छ । उत्पादित विद्युत खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताए । ‘वन, स्थानीयबासी र सुरक्षा सबैको व्यवस्था गर्ने जिम्मा सरकारले लिन्छ, सुरक्षाबारे गृह मन्त्रीसँग पनि कुरा भइसकेको छ,’ मन्त्री पुनले भने, ‘तर, काम समयमै सकिनुपर्छ ।’ स्थानीयले खनेको बाटो हुँदै भूमिगत लाइन विस्तारको काम हुँदा अवरोध भएको छ । यसको पनि उचित समाधान हुने मन्त्री पुनले स्थानीयलाई आश्वस्त पारेका छन् । विद्यमान समस्या समाधान भए २ महिनाभित्र काम पूरा हुने चिनियाँ ठेकेदार सिडब्लूईले प्रतिबद्धता जनाएको छ । सिभिल निर्माण २ महिनाभित्र पूरा भए तार केही समयपछि तान्न सकिने आयोजनाका अधिकारीको भनाइ छ । स्थानीयलाई असर नपर्ने गरी निर्माण भइरहेको यो देशकै पहिलो भूमिगत प्रसारण लाइन हो । प्रसारण लाइनको बाडभञ्ज्याङस्थित पातलेवनमा गाडिने एउटा टावरमा पातलेवन रिसोर्टले विरोध गरेको थियो । अहिले यो समस्या समाधान भइसकेको छ । त्रिशूली-काठमाडौं प्रसारण लाइनमा निर्माण हुने १ सय ४० टावरमध्ये १ सय २७ वटाको निर्माण पूरा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org