ताजा समाचार

४ वर्षदेखि सम्पर्कविहीन गंगामायाका छोरा नुरप्रसाद ‘पक्राउ’

काठमाडाैं २०, साउन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीलाई कारवाहीको माग गर्दै उजुरी गर्ने नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार महानगरीय अपराध महाशाखाको टोलीले नुरप्रसादलाई सानेपास्थित डेराबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत चितवनमा आइतबारै कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धि मुद्दाको सुनुवाई भइरहँदा काठमाडौं प्रहरीले नुरप्रसादलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार आइतबार अपरान्ह नुरप्रसादलाई नियन्त्रणमा लिइएको छ । नुरप्रसादलाई पक्राउ गरिएको नभई खोजबिन गरी नियन्त्रणमा लिइएको सिंहले बताए ।

यसअघि असार २९ गते गंगामाया अधिकारीले अनसन तोड्ने क्रममा आफ्नो जेठा छोरा नुरप्रसाद अधिकारीको खोजी गरिदिनसमेत आग्रह गरेकी थिइन् । गंगामायाको आग्रह अनुसार नुरप्रसादलाई खोजी गरिएको हो । नुरप्रसादलाई आइतबार नै गंगामायाको जिम्मा लगाउने तयारी भएको महाशाखाका एसएसपी सिंहले बताए ।

२०६१ साल जेठ २४ गते चितवनमा मारिएका आफ्ना भाइको हत्या आरोपीलाई हदैसम्मको कारवाहीको माग गर्दै उनले २०७१ सालदेखि आन्दोलन गर्दै आएका थिए । जिल्ला अदालत चितवनमा किटानी जाहेरी दिने उजरीकर्तामध्ये नुरप्रसाद प्रमुख व्यक्ति थिए । तर २०७२ सालदेखि उनी अनसनरत आमा र मानव अधिकारवादीसँग पनि सम्पर्कविहीन भएका थिए ।

सुरुवाती समयमा नुरप्रसादले हत्या आरोपीलाई जन्मकैदको माग गर्दै करोडौ क्षतिपूर्ति र आफूलाई बेलायतमा बसोबासको व्यवस्था मिलाउनुपर्ने माग राखेका थिए । मानव अधिकारवादीमार्फत् उनले यस्तो माग सरकारसमक्ष पुर्याएका थिए ।

तर, क्षतिपूर्ति र अन्य देशमा बसोबासको व्यवस्था मिलाउने विषय सम्भव नभएपछि उनी मानव अधिकारवादीलाई नै धम्की दिँदै ४ वर्षदेखि सम्पर्कविहिन थिए । तर आइतबार महाशाखाको टोलीले नुरप्रसादलाई सानेपास्थित आफ्नै कोठाबाट नियन्त्रणमा लिएका हुन् ।

कोठामा एक्लै भेटिए नुरप्रसाद
अनसनकै क्रममा बुवाको मृत्यु भएपछि लाश बुझ्नसमेत नुरप्रसाद गएनन् । अनसनकै क्रममा मृत्यु भएका कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीको शव अहिले पनि शिक्षण अस्पतालको शवगृहमै राखिएको छ ।

तर बुवाको शव बुझ्न र आमालाई भेट्नसमेत नगएका नुरप्रसाद कान्छी श्रीमती ल्याएर बसेको चर्चासमेत चलेको थियो । यद्यपि प्रहरीले खोज्दै जाँदा आइतबार सानेपास्थित कोठामा नुरप्रसाद एक्लै भेटिएको प्रहरीले बताएको छ ।

यता आमा गंगामायाले भने दुई साताअघि वीर अस्पतालमा जारी ४५ दिन लामो अनसन तोडेकी थिइन् । अनसन तोडेपछि सरकारले गंगामायाको जीवन निर्वाहको लागि १ करोड रुपैयाँ निकासा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org