ताजा समाचार

प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरूद्ध हाँडीगाउँको जग्गा देखि एनसेल प्रकरण सम्मका मुद्दा

जो जोगि आएनि कानै चिरिएका

काठमाडाैँ २१,भदाै ।   प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी परेका छन्।

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरुद्ध परेका हुन्।

उनीविरूद्धका उजुरी संघीय संसद सचिवालयले खोलेको भने छैन। सुनुवाइ समितिको बैठक शुक्रबारका लागि डाकिएको छ। समितिले उजुरी अध्ययन, उजुरीकर्तासँग छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि बोलाउनेछ।

उनीविरुद्ध सशस्त्रका पूर्वडिजाईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएको उजुरी छ।  बलात्कारविरुद्ध अभियान चलाइरहेकी सावित्री सुवेदीले उक्त मुद्दामा कोइरालाको सजाय घटाइएकोमा प्रश्न उठाएकी छिन्। माइतीघर मण्डलामा सुवेदी लगायत केहीले मिश्रविरुद्ध बिहिबार प्रदर्शनसमेत गरेका छन्।

त्यस्तै नातेदारलाई मुद्दा जिताइदिएको, कालिकोटमा डिल्ली स्वाँरसहित चार जना अभियुक्तलाई सफाइ दिएको उजुरी समेत परेको छ।

‘यस्ता भ्रष्ट व्यक्तिलाई प्रधान न्यायाधीश बनाउँदा न्याय नै समाप्त हुने भएकाले निजलाई प्रधानन्यायाधीश बन्नबाट रोकिपाउँ’, उजुरीकर्ताले लेखेका छन्।

मिश्रको प्रमाणपत्र भारतीय भएकाले उजुरीकर्ताले उनको माइग्रेसनमा प्रश्न उठाएका छन्। उनले पढाइको समकक्षतासमेत प्रमाणित नगरेको उजुरी छ। त्यस्तै हाँडीगाउँमा २ अर्ब बजार मुल्यको ३६ रोपनी ६ आना जग्गा नक्कली मोहीको नाममा दर्ता गर्न आदेश दिएको उजुरीसमेत छ।

एनसेलको मुद्दामा करोडौँ घुस खाएर राजश्व छलीमा सहयोग पुर्‍याएको, सूर्य नेपालको कर छलीमा समेत सहयोग पुर्‍याएको आरोप उजुरीकर्ताले लगाएका छन्। मिश्रको नियुक्तिले भ्रष्टको राज हुने उजुरीकर्ताले उल्लेख गरेका छन्।

मिश्रलाई भदौ ७ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। यसअघि प्रधानन्यायाधीश सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि परिषद्ले मिश्रलाई सिफारिस गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org