ताजा समाचार

सांसदसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद रौनियार स्वतः निलम्बित

काठमाडाैँ २०,असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार, उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको छ ।
सांसद रौनियार संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभामा सदस्य छन् ।

 

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहितलाई मुद्दा दायर गरिएको हो । बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पुप्पु कन्सट्रक्सनले बनाएको थियो । पुल गुणस्तरहीन बनाएको भन्दै सर्वत्र विरोध भएको थियो । गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

पप्पु कन्सट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
डिभिजन सडक कार्यालय नेपालगन्ज र पप्पु कन्सट्रक्सन, पोखरियाबीच पुल निर्माणका लागि २२ असार २०६८ मा सम्झौता भएको थियो ।
पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीबाट त्रुटि गरिएको आरोपपत्रमा उल्लेख छ । त्रुटिपूर्ण कामलाई स्वीकार गरी गुपचुप रूपमा कार्य गरेको र फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको आरोपत्रपमा उल्लेख छ ।

गुणस्तर प्रमाणित नभईकनै भुक्तानी सिफारिस गरेको र डिजाइनबमोजिम नभएको अख्तियारको भनाइ छ । डिजाइनबमोजिम निर्माण नगरेको तथा निर्माण भएकोमा समेत गुणस्तरहीन भएकाले लोड लिन नसकी पुल भासिएको प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख छ ।
यसैबीच, सांसद रौनियार पप्पु कन्सट्रक्सनका संस्थापक हुन् । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । मुद्दा दर्ता भएपछि उनको पद स्वतः निलम्बनमा परेको छ । प्रतिनिधिसभा नियमावलीअनुसार उनले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउनेछन् । तर, सांसदको हैसियतको सेवासुविधा भने पाउनेछैनन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता नवराज थपलियाले बताए ।

पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org