ताजा समाचार

अन्ततः प्रचण्डले वामदेवलाई सदनमा भित्रयाएरै छाडे, रामवीरले दिँदैछन काठमाडाैं ७ बाट राजीनामा

काठमाडाैँ २३,असोज ।  नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा बुझाएपछि नेता वामदेव गौतम सोही ठाउँबाट चुनाव लड्ने पक्कापक्की भएको छ।

 अध्यक्ष प्रचण्डको चासो र वामदेवको सदन छिर्ने चाहनाको अर्थ के हुन सक्छ? राजनीतिक वृत्तमा प्रश्नसहितको चर्चा सुरु भएको छ।   नेता गौतमलाई सदन छिराउन खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरता कहिँकतै छिपेको छैन।

नेकपाभित्र एक थरीको अनुमान छ, एमाले–माओवादी एकिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता वामदेवलाई सदनभित्र लगेर अध्यक्ष प्रचण्डले पार्टीभित्रको शक्ति सन्तुलन कायम राख्ने राजनीतिक अभ्यास गरिरहेका छन्। अलग अलग दलमा हुँदा पनि प्रचण्ड र वामदेवको व्यक्तिगत सम्बन्ध पनि राम्रो मानिथ्यो। यतिसम्म कि, माओवादी शान्ति प्रक्रियामा आएपछि यही सम्बन्ध र भेटघाटका आधारमा वामदेव माओवादी छिर्दैछन् भन्ने ‘गसिप’ पनि राजनीतिक हाटबजारमा राम्ररी नै चलेको हो।

‘प्रचण्ड र वामदेवको सम्बन्ध अलिक बाक्लो नै हो, एकिकृत दलको तल्लो तहसम्मको एकिकरणको प्रक्रिया र माथिल्लो तहमा चल्दैरहेको शक्ति संघर्षका लागि यो सामिप्यताको अर्थ छ’ नेकपाभित्र अध्यक्ष प्रचण्डसँग नजिक मानिएका एक नेताको विश्लेषण छ, ‘अध्यक्ष प्रचण्ड वामदेवलाई गुन लगाउन र आफू नजिक रहेको देखाउन चाहन्छन्।’

वामदेवलाई सदन लैजानका लागि यसअघि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदलाई राजीनामा गराउने प्रयास भएको थियो तर उनीहरुले राजीनामा गर्न अस्वीकार गरेका थिए।  काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्न राजी गराउन पनि अध्यक्ष प्रचण्डको भूमिका रहेको बताइएको छ।

‘दुई नेताहरुबीच यो विषयमा पटक पटक भेटवार्ता र छलफल भएको हो’ प्रचण्ड नजिकका ती नेताले भने, ‘वामदेवलाई काठमाडौबाट नै उठाएर जिताउन सकिन्छ भन्ने विश्लेषण अध्यक्ष प्रचण्डको छ।’ पछिल्लो निर्बाचनमा काठमाडौं– ७ बाट १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए।

मतान्तर धेरै भएको क्षेत्र भएकाले यहाँबाट वामदेवलाई जिताउन सकिने आंकलन प्रचण्डको छ।

सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै जानु र दलभित्रका गुटीय संरचनाहरुमा फेरवदलका संकेत देखिँदै जानुले सांसद बनेको खण्डमा वामदेवको भूमिका सरकारमा सहभागीसम्मको हुनसक्ने अनुमान सम्भावनाहिन लाग्दैन। ‘दुई अध्यक्ष रहेको पार्टीको आगामी महाधिवेशनसम्मलाई सोचेर प्रचण्डले नेता वामदेवलाई आफ्नो खेमाको एक महत्वपूर्ण ‘पीलर’ बनाउन चाहेका हुन्’ नेकपाका अर्का एक नेता भन्छन्, ‘प्रचण्ड पार्टीभित्र बलियो हुने आधारहरु जोहो गर्दैछन्।’

पार्टीभित्र पूर्वमाओवादी नेताहरुको साथ जोगाउँदै त्यसमा वामदेव खेमा पनि जोड्न सकियो भने आफू बलियो नेता हुने प्रचण्डको यस्तो अभ्यासलाई राजनीतिक रुपमा स्वभाविक पनि ठानिएको छ।

सम्बन्धित सामाचार, यो पनि पढ्नुहोस ।

अन्तत वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने भए , रामवीरले राजीनामा दिँदै

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org