ताजा समाचार

सिद्धबाबा सुरुङमार्ग निर्माणमा ६१ प्रतिशत प्रगति

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । १ हजार १ सय २६ मिटर लामो सुरुङ छिचोलिएपछि कामले गति लिएको हो ।

अहिलेसम्म लाइनिङ र ढलानको काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको अहिलेसम्म भौतिक प्रगति ६१ दशमलव ६ प्रतिशत र वित्तीय प्रगति ५१ दशमलव १ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माण भइरहेको जनाउँदै आयोजना कार्यालयका प्रमुख अधिकारीले ५/७ महिनामा मुख्य सुरुङबाट गाडी गुडाउन सकिने बताउनुभयो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट १ हजार १ सय २६ मिटर सुरुङमार्गको निर्माण २०७९ सालदेखि शुरू भएको हो । सुरुङमार्गकाे काम ५ वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा शुरू गरेको थियो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्मको क्षेत्रमा अत्यधिक पहिरो झर्ने गर्दछ । सुक्खायाममा पनि धूले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org