ताजा समाचार

ग्रामीण क्षेत्रमा लगानी बढाउनुहोस्- उपप्रधानमन्त्री महरा

काठमाडौं, १० माघ ।  अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र राष्ट्रिय वाणिज्य बैँकबीच एकीकरण (मर्ज) गर्ने कार्यलाई स्वीकृत प्रदान गरेको छ। स्वीकृतिलाई मन्त्रालयले अगामी मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ। सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंकको ५२औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै एनआइडिसी र बैकका बीच मर्ज गर्ने निर्णय अगामी मन्त्रिपरिषद्बाट अनुमोदन हुने जानकारी दिए। उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बंैकले ग्रामीण क्षेत्रमा कर्जा प्रवाह र सङ्कलनमा थप जोड दिन आग्रह गर्दै कर्जालाई उत्पादन क्षेत्रमा लगानी बढाउन निर्देशनसमेत दिए।  अर्थमन्त्री महराले बैंक र वित्तीय संस्था बढी मात्रामा सहर र बजारमुखी हुँदा ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न चुनौती थपिएको चर्चा गर्दै यसलाई चिर्ने काम वाणिज्य बैंकले गर्नुपर्ने बताए।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताले बैंकमा सङ्कलन गरेका निक्षेपलाई जथाभावी लगानी गर्ने र लगानी गरेको देखाइ नाफा बढी खोज्ने बैंक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए।  उनले भने ‘साधारण जनताका निक्षेपलाई कम र संस्थागत निक्षेपलाई बढी प्राथमिकतामा राख्ने प्रवृत्तिलाई अन्त्य गरिनु जरुरी छ, वित्तीय सन्तुलनका लागि केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरिराखेको छ।’ सो अवसरमा बैंकमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org