कर्णालीवासीको आशाको केन्द्र बन्दै कर्णाली करिडोर
कालिकोट: कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य अहिले तीव्रगतिमा भइरहेको छ।
कडा चट्टानयुक्त भू–बनोट, भिरालो जमिन, साँघुरो उपत्यका र कर्णाली नदीको किनाराको जटिलताबीच यो सडकको ट्र्याक खोलिराखिएको छ। कर्णालीको समग्र विकासका लागि महत्वपूर्ण मानिएको यो सडक खुलेमा नेपालको उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमामा रहेको जमुनाह नाकासम्म सिधा सम्पर्क स्थापना हुनेछ।
राष्ट्रिय गौरवको आयोजनासमेत रहेको सो सडक खण्डको निर्माणसँगै कर्णालीले सहज सडकको पहुँच पाउने छ भने तिब्बतको कैलाशस्थित मानसरोवर जाने तीर्थयात्रीका लागि बाटो खुल्नेछ। यसको निर्माणले सदियौँंदेखि रोग, भोक र अशिक्षाले जकडिएको कर्णालीमा विकासको गतिले काँचुली फेर्ने आशा स्थानीयवासीले गरेका छन्।
सेनाले जिम्मा पाएको १४५ किलोमिटरमध्ये कालीकोटको २२ किलोमिटर र बाजुराको २८ किलोमिटर गरी ५० किलोमिटर ट्र्याक खनिइसकिएको र अहिले कालीकोटको राताडाँडा तथा बाजुराको कालाभिर, रुपाखोला लगायतका स्थानमा थप २० किलोमिटरको ट्रयाक खोल्ने कार्य भइरहेको सेनाको विकास निर्माण निर्देशनालयका सहायकरथी उद्धव विष्टले जानकारी दिए।
चालु आर्थिक वर्ष २०७३/७४ भित्र कालीकोटअन्तर्गतको ४० किलोमिटर ट्रयाक खोलेर सडक विभागलाई बुझाइने लक्ष्य राखिएको छ। विसं २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरी नेपाली सेनालाई सो सडकको ट्याक खोल्ने जिम्मा दिएको थियो।
एकसय ९६ किलोमिटरमध्ये हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडक नेपाली सेनाले खन्नेछ। त्यहाँबाट सिमिकोटसम्मको बाँकी ५१ किलोमिटर खण्डलाई सडक विभागले खोल्नेछ।
अहिले १८२ जना सैनिक जवान र ३०० स्थानीयवासीको सहभागितामा ट्र्याक खोल्ने कार्य धमाधम भइरहेको छ। सो सडकलाई खुलालु–लैफु–सिमिकोट सडक खण्डमा विभाजन गरिएको छ। सडकखण्डअन्तर्गत कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा ११३ किलोमिटर सडक निर्माण हुनेछ । यो करिडोरको निर्माणले कर्णाली अञ्चल मात्र होइन सुदूरपश्चिमको समेत विकासमा उल्लेख्य योगदान पुग्ने बाजुराका लालबहादुर विष्टको भनाइ छ।
सडक खण्डमा खुलालु खोला, शान्तिघाट खोला, फूगाड खोला, भक्का खोला, जुड्डीगाड खोला, कुन्डा ओला र कुवाडी खोलामा गरी आठ पुल निर्माणका लागि प्रस्ताव गरिएको छ। सडकको चौडाइ ६ मिटर रहेको छ भने दायाँबायाँ ७ दशमलव ५. प्रतिशत क्षेत्रमा भौतिक संरचना निर्माण गर्न पाइने छैन जसले भविष्यमा सडकलाई थप चौडाइ गर्न समेत सहयोग पुग्नेछ।
प्रस्थान विन्दु खुलालु ७३० मिटरमा अवस्थित छ र सिमिकोट पुग्दा दुई हजार ९४५ मिटरको उचाइमा सडक पुग्नेछ । सो सडकका लागि कुल दुई अर्ब ८४ करोड ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । गत आवमा नेपाली सेनाले रु २२ करोड खर्च गरेका थिए। चालु आर्थिक वर्षका लागि २१ करोड विनियोजन गरिएको छ। तर विनियोजित बजेटबाट दोस्रो चौमासिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएकाले तेस्रो चौमासिकका लागि थप बजेटको व्यवस्था भएमा शान्तिघाट र फूगाडमा बेलिब्रिज निर्माण गर्न सकिने सेनाले जनाएको छ।
गतहप्ता रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले बाजुराको पिलुचौर र कालीकोटको शिलाजितभिर खण्डमा भइरहेको सडक निर्माणको स्थलगत निरीक्षण गर्दै आवश्यक सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको र समस्या आइपरे तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
उनीहरुले बजेटको चिन्ता नगर्न आग्रह गर्दै आवश्यक परे विनियोजित बजेटमा थप बजेट उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पारे । जोखिमयुक्त ठाउँमा सडक खन्ने काम भइरहेकाले करिडोरको निर्माणकै क्रममा चार स्थानीयवासी र एक सैनिक जवान गरी पाँच जनाको ज्यान गइसकेको निर्माण कार्यदलका प्रमुख सेनानी इन्दिबर गुरुङले जानकारी दिए।
यो सडकका बीचमा खुलालु, रङ्गिल, शान्तिघाट, काप्रीगाउँ, पिलुचौर, अर्थङ्गेचौर, बोल्ढिक, कुवाडी, मकैगाउँ, तुम्चागाउँ, सरिसल्ला, सर्किगाड, लालिगाउँ, खर्पुनाथ, बारागाउँ र सिमिकोटसम्मका बस्ती पर्छन् ।
अब खन्न बाँकी रहेका भू–बनोट कडा चट्टानयुक्त इलाका हुनाका साथै सडकको रेखाङ्कनमा रहेका बस्तीमा र सार्वजनिक स्थानमा बनेका घर, टहराका कारण थप जटिलता निम्तिएको प्रमुख सेनानी गुरुङले बताए।
हिउँदमा फेरी चले पनि वर्षामा कर्णाली नदीमा फेरी नचल्ने भएकाले निर्माण सामग्री ल्याउन अप्ठेरो पर्ने गरेको छ । करिडोर निर्माणको क्रमसँगै सडक विभागले सो खण्डमा पिच गर्ने, पुल बनाउने काम पनि एक साथै अघि बढाउने सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए।
सरकारको सबै जिल्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल पुर्याउने लक्ष्य अनुरुप बाँकी रहेका डोल्पाको सदरमुकामलाई एक वर्षभित्र र हुम्लाको सदरमुकामलाई दुई वर्षभित्र सडक सञ्जालमा जोड्न नेपाली सेना लागिरहेको छ ।
हुम्लाको सदरमुकाम सिमिकोट सडक सञ्जालमा जोडिने सबैभन्दा पछिल्लो र अन्तिम जिल्ला बन्ने निश्चित छ । नेपाली सेनाकै नेतृत्वमा डोल्पाको सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जाल विस्तारअन्तर्गत भेरी करिडोरको निर्माण भइरहेको छ । सो करिडोरको ११८ किलोमिटरमध्ये १०६ किलोमिटर सडकको काम पूरा भएको सेनाले जनाएको छ ।
सुर्खेतदेखि दैलेख हुँदै जुम्लासम्मको २३२ किलोमिटर कर्णाली राजमार्ग पिच बनेकामा कर्णाली करिडोरको निर्माण सम्पन्नसँगै बाँकी रहेको बाजुरा, कालिकोट र हुम्लासमेत सो सडकमा जोडिनेछ । सो सडक खण्डको निर्माण सम्पन्न भएपछि उत्तरी नाका हुम्लाको हिल्साबाट ५३० किलोमिटर दक्षिण बाँकेको जमुनाह सडक सम्पर्क बन्नेछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












