ताजा समाचार

कृषकका लागि बनाइएको तरकारी केन्द्रमा ठूला ब्यापारीको कब्जा

खोटाङ १७ माघ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ ।

ग्रामीण पहुँच कार्यक्रम र्यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेका हुन् ।

कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा अहिले ठूला व्यापारीले कब्जा जमाएर जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको खाल्लेका नेत्रबहादुर कटवालले बताए ।

“हामी फलफूल तथा तरकारी व्यापारीले पाखामा सामान राखेर बिक्री गर्नुपर्ने बाध्यता छ ।” उनले भने – “ठूला व्यापारीको हेपाहा प्रवृत्तिप्रति सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत सुनुवाइ भएको छैन ।”

दिक्तेलको हाटडाँडामा  ७० लाख रुपैयाँ  र स–छितापोखरीको पञ्चमीबजारमा  ३० लाख रुपैयाँको लागतमा पक्की छाप्रा, शेड, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशाला बनाइएको छ । जिल्लाको अर्थोपार्जन र विनिमयको प्रमुख माध्यम मानिएको कृषि व्यवसायलाई व्यवस्थित ढङ्गले बिक्री वितरण गर्न दुवै ठाउँमा पूर्वाधार निर्माण गरिएको हो ।

बाह्र रोपनी क्षेत्रफल ओगटेको दिक्तेलको हाटडाँडामा निर्माण गरिएका सबै टहरामा ठूला व्यापारीले कब्जा जमाएपछि कतिपय कृषकले उत्पादन गरेको कृषि उपज हटियामा बिक्री हुने मूल्यको आधा मूल्यमा व्यक्तिले खोलेका बिक्री केन्द्रमा लगेर बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।

कृषि उपज बाहिर पाखामा नै राखेर बिक्री गर्दा पनि छाप्रोमा राख्नेले जत्तिकै शुल्क बजार व्यवस्थापन समितिलाई तिनुपर्ने बाध्यता रहेको कृषक बताउँछन् । “हिउँदको समयमा त जसोतसो बाहिरै राखेर भए पनि बिक्री गरिन्छ ।” एक कृषकले भने – “वर्षाको समयमा बाहिर राखेर बिक्री गर्नुपर्दा सबैभन्दा बिजोग हुन्छ ।”

दिक्तेलमा लाग्ने हटियालाई व्यवस्थित गर्न आफूहरु लागिरहेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए । “अव्यवस्थित हटियामा बिचौलियासमेत मौलाएको छ ।” उनले भने – “बिचौलिया नियन्त्रण गर्दै हटियालाई व्यवस्थित गर्न वाणिज्य सङ्घ लागिपरेको छ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको हाटडाँडामा प्रत्येक हप्ताको बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने पञ्चमीबजारमा १५\१५ दिनमा हटिया लाग्ने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org