पुल निर्माण समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न निर्देशन
काठमाडौँ, १९ माघ । रणनीतिक सडकमा निर्माण भइरहेका पुल गुणस्तरीय रुपमा तोकिएको समयमै सक्न व्यवस्थापिका–संसद्को विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
वर्षौंदेखि पुल निर्माण अलपत्र भएपछि समितिको आजको बैठकमा मन्त्रालय र सडक विभागसँग छलफल गरी समयमै पुल निर्माण नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखी कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले ठूला पुल र भौतिक पूर्वाधारका काम समयमै नसकिने एवम् गुणस्तरीय काम नहुने समस्या देखिएकाले त्यसको समाधानका लागि सरकार केन्द्रित भएको बताउनुभयो ।
“समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न केही कानुनी समस्या देखिएकाले त्यसको समाधान गरी कारबाही प्रक्रिया सुरु गरिनेछ,” उहाँले भन्नुभयो– “समयमै काम सक्न कतै प्राकृतिक र कतै मानवीय समस्या छन्, यसको समाधान गरिनेछ”
मन्त्री लेखकले पूर्वाधार निर्माणमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग सहकार्य गरेर काम भइरहेको बताउँदै मन्त्रालयको पुँजीगत खर्च अहिले २५ प्रतिशत पुगेको र एक महिनामा ४० प्रतिशत पु¥याउने लक्ष्य राखिएको धारणा व्यक्त गर्नुभयो ।
“ठूलो भूकम्पमा पनि पुल नचल्ने गरी नबिग्रिएकाले प्राविधिक रुपमा कमजोर नभएको प्रमाणित गरेको छ, केही कमजोरीलाई सच्याएर पुल निर्माणलाई तीव्रता दिनुपर्छ”– उहाँले भन्नुभयो ।
समितिका सभापति रवीन्द्र अधिकारीले भौतिक पूर्वाधारका विषयमा अनुसन्धानका लागि स्रोत र साधनको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
“यसका लागि आयोग र अर्थ मन्त्रालयले कुनै विश्वविद्यालयसँग मिलेर काम गर्नुपर्छ, पूर्वाधारमा गरिने अनुसन्धानले विकास निर्माणमा सहयोग पु¥याउने भएकाले आयोगले अग्रसरता लिनुपर्छ”–उहाँले भन्नुभयो ।
वर्षायाम अघि नै पुल मर्मत सम्भारको काम सक्न, पुलमा भित्तेलेखन र पर्चा टाँस्ने गर्नाले दुर्घटना बढेकाले रोक्न पनि सभापति अधिकारीले निर्देशन दिनुभयो ।
सांसद गणेश पहाडीले पुल समयमा नसकिनुमा निर्माण व्यवसायी जिम्मेवार भएको उल्लेख गर्नुहुँदै सिन्धुली र मकवानपुर जिल्ला जोड्ने कमलामाई नदीको पुल पाँच वर्षदेखि अलपत्र भएको सुनाउनुभयो ।
सांसद ललितजङ्ग शाहीले जुम्लाको दानसाँघुमा ‘साइड क्लियर’ नगरी पुल बनाइँदा सम्पन्न भएर पनि अलपत्र रहेको घटना प्रस्तुत गर्नुभयो । सांसद जानकी साउदले कर्णाली नदीको रकम पुल धेरै वर्षदेखि अलपत्र हुँदा अछाम जिल्लामा छ महिना यातायात नचल्ने समस्या रहेको बताउनुभयो ।
सांसद आङटावा शेर्पाले रामेछापको खिम्ती खोलामा पिलर ठड्याएको आठ वर्ष पुग्दा पनि पुल नबनेको उदाहरण दिनुभयो । सांसद गुरुप्रसाद बुर्लाकोटी, सीता गिरी, अनिता देवकोटा, प्रेमबहादुर आले, शान्ता मानवी, रञ्जना सरदार र रामअयोध्या यादवले समयमा पुल र सडक निर्माण नगर्ने निर्माण व्यवसायीको सूची सार्वजनिक गर्न माग गर्नुभयो ।
आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विकास निर्माणका मन्त्रालयमा प्राविधिकको सङ्ख्या बढाइनुपर्नेमा जोड दिनुभयो । “पुल निर्माण हुनुपर्ने योजनामा पुलका लागि लाग्ने वास्तविक लागत नआउँदा योजना छनोटमा समस्या हुने गरेको छ, तलैदेखि प्रक्रिया पूरा गरेर मात्र आयोगमा योजना पठाइनुपर्छ”– उहाँले भन्नुभयो ।
मन्त्रालयका सचिव धनबहादुर तामाङले सडक पुलको डिजाइन राम्रो नहुने र आधार पनि स्पष्ट नहुँदा समस्या आएकाले आधार निर्माण गरिनुपर्ने बताउनुभयो ।
आयोगका सचिव चन्द्रकुमार घिमिरेले भौतिक पूर्वाधारमा बढी बजेट लगानी भएकाले विकास निर्माण गर्न काम समयमै सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले कम पैसा कबोल गर्ने निर्माण व्यवसायीलाई पुराना काम नसके पनि अर्को ठेक्का दिनुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।
विभागका उपमहानिर्देशक एवम् पुल महाशाखा प्रमुख सरोजकुमार प्रधानले एक हजार २०० पुल हाल निर्माण भइरहेको जानकारी गराउनुभयो । “यो वर्ष १०० पुल सम्पन्न गर्ने लक्ष्य छ, रणनीतिक महत्वका २८८, स्थानीयस्तरका ९०३ गरी एक हजार १९१ पुल निर्माण भइरहेको छ, यसमध्ये १२६ पुल विभिन्न कारणले समस्यामा छन्”– उहाँले भन्नुभयो ।
पुल फोहर मैला थुपार्ने स्थल बन्दा पुलको आयु घट्ने गरेको विभागले जनाएको छ । हाल ८०० पुल ४० वर्षभन्दा पुराना रहेको तथ्याङ्क विभागसँग छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












