अलैँचीमा गुणस्तर खोजी सुरु

प्रकाश धौलाकोटी /तेह्रथुम । मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करीब दुई बोरा अलैँची बेच्न पिठ्युँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो तर अलैँची राम्रो नसुकेको भन्दै पुनः राम्ररी सुकाएर ल्याउन भनेपछि उहाँ चकित पर्नुभयो ।
विगतमा यसैगरी सुकाएर लाखौँको ‘कालो सुन’ कारोवार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस पनि उठेको थियो । “पहिले यस्तै अलैँची व्यापारीले खुशी भएर किन्थे”, अलैँची बोकेर फर्कँदै गरेका लिम्बूले भन्नुभयो, “अहिले अझै राम्रो सुकाएर ल्याउन भनेका छन् ।”
श्रीजुङकै किसान देउबहादुर लिम्बूले फलाएको १५ मन अलैँची पनि न्यून गुणस्तरको ठहरियो । उहाँको केही अलैँची मात्रै मध्यमस्तरको ठहर गरी बाँकी सबै न्यून गुणस्तरकै मूल्यमा बिक्री भयो । विगतमा जिल्लाका किसानले उत्पादन गरेको अलैँचीको गुणस्तरको कुनै वास्ता हुन्थेन ।
विगतमा व्यापारीलाई चार पैसा नाफा हुने गरी खरीद गर्नु थियो र किसानले पनि जस्तो भए पनि बिक्री गर्नुमात्रै । किसानले उत्पादन गरेको अलैँचीको गुणस्तरको विषयमा चासो नराखी व्यापारीले नाफामुखी व्यापार गर्थे । किसान पनि आफूलाई फाइदा हुने मात्रै सोच्थे । अहिले अलैँचीको मूल्य एक्कासि घटेपछि नेपाली अलैँचीमाथि गुणस्तरको प्रश्न चिह्न उठ्न थालेको व्यवसायी बताउँछन् । त्यसैले पनि यस वर्ष गुणस्तरीय, मध्यम र चलनचल्तीको अलैँचीको छुट्टाछुट्टै मूल्य निर्धारण भएको छ । व्यापारीले गुणस्तरीय अलैँची खोज्न थालेपछि किसान भने दुःख पाएको बताउँछन् । गाउँमा सानोतिनो व्यापार गर्ने भण्डारी आफैँ पनि अलैँची कृषक हुनुुहुन्छ ।
“विगतमा जस्तो अलैँची पनि एउटै भाउमा बिक्थ्यो, तर अहिले त्यस्तो छैन”, उहाँले भन्नुभयो । गाउँमा किसानले अलैँचीको तौल बढाउन बेच्ने बेला पानी हालेर पनि लैजाने गरेका थिए तर यो वर्ष अलैँचीको गुणस्तरलाई ध्यानमा राखेर खरीद बिक्री हुन थालेपछि आफूले पनि सोहीअनुसार खरीद बिक्री गरिरहेको उहाँले बताउनुभयो ।
भण्डारीको आफ्नै बगैँचामा यो वर्ष सात मन अलैँची फल्यो । त्यसबाहेक करीब ४० मन अलैँची खरीद बिक्री गरेको उहाँले बताउनुभयो । त्यतिका अलैँची कारोवार गर्दा उहाँले सबै न्यून गुणस्तर अर्थात् चलनचल्तीको दाममा मात्रै कारोवार गर्नुभयो । नसुकेको काँचो, ढुसी आएको, पुच्छर नकाटेको, कुहिएको अलैँची मिसिएको, भट्टी लगाउँदा डढेको जस्ता अलैँची बजारमा यसपाली किनबेच नभएको व्यापारी भण्डारीले बताउनुभयो ।
यो वर्ष जिल्लाका बजारमा पनि अलैँचीको कारोवार गुणस्तर हेरेर मात्रै गरिएको अलैँची व्यवसायी सङ्घले जनाएको छ । अलैँची व्यवसायी महासङ्घले निर्धारण गरेको उच्च गुणस्तरीय, मध्यम र चलनचल्तीको अलैँचीको छुट्टाछुट्टै मूल्यमा आधारित रहेर कारोवार भइरहेको अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिव तुलसी ढकालले बताउनुभयो ।
“पहिलेकै गुणस्तरको अलैँची यसपाली बजारमा कारोवार भएन, बरु फिर्ता पठाइयो”, उहाँले भन्नुभयो । ढकालले यो वर्ष ७०० मन बढी अलैँची कारोवार गर्नुभयोे । त्यसमध्ये २०० मन मात्रै गुणस्तरीय अलैँची थियो । बाँकी सबै चलनचल्तीको रहेको उहाँले बताउनुभयो । “राम्रो सुकेको, पुच्छर काटेको, ढुसी नपलाएको र ठूलो दाना भएको अलैँची गुणस्तरीयमा पर्छ”, उहाँले भन्नुभयो ।
पुच्छर नकाटे पनि ठूलो दाना भएको अलैँची मध्यम गुणस्तरको ठहरिन्छ । “ढुसी पलाएको र राम्ररी नसुकेको अलैँची गुणस्तरहीन हो, मैले यसपाली त बेच्न ल्याइएका अलैँची पटक–पटक फिर्ता गरेँ, र फेरि राम्रो सुकाएर ल्याएपछि मात्रै खरीद गरेँ”, महासचिव ढकालले भन्नुभयो ।
यो वर्ष पनि बजारमा नसुकेको काँचो, ढुसी पलाएको, पुच्छर नकाटेको, कुहिएको अलैँची मिसिएको, भट्टी लगाउँदा डढेको, बजार ल्याउने बेला पानी हालेको अलैँची धेरै नै थियो तर किन्ने बेला व्यापारीले भुइँमा खन्याएर दाना दाना छुटाएर हेरेपछि गुणस्तरमा ध्यान नदिने किसान फन्दामा परेका हुन् । त्यसो त गुणस्तरको आधारमा किनबेच हुँदा विगतदेखिनै गुणस्तरीय अलैँची फलाउँदै आएका किसानलाई भने राहत मिलेको छ ।
अरुभन्दा राम्रो अलैँची उत्पादन गरेर दुई पैसा भएपनि बढी पाउँदा मेहनती किसानलाई सन्तुष्टि मिल्ने व्यापारी ढकाल बताउँछन् । उहाँ भन्नुहुन्छ, “उत्पादनमा गुणस्तर नहुनु किसानलाई त्यसबारे जानकारी नभएर पनि हो, यसपाली धेरैले सिके, अर्को वर्षबाट राम्रो उत्पादन आउँछ भन्ने आशा छ ।” जिल्लामा अलैँची खेतीसँग सम्बन्धित धेरै कार्यक्रम सञ्चालन भए पनि गुणस्तरीय अलैँची उत्पादनसम्बन्धी कुनै पनि कार्यक्रम भएका छैनन् ।
किसानलाई गुणस्तरीय उत्पादनबारे थाहा नै छैन । आफूलाई गुणस्तरीय अलैँचीको छुट्टै मूल्य पर्नेबारे केही थाहै नभएको ओयाक्जुङकी किसान मालती जोगीले बताउनुभयो । “सधैँझैँ अलैँची लिएर गएँ, व्यापारीले भुइँमा थुपारेर अलैँची हेर्नुभयो”, उहाँले भन्नुभयो, “भाउ सधैँ एउटै हुन्थ्यो, अहिले गुणस्तरका आधारमा हिसाब गरेर पैसा लिएँ ।” मालतीले अलैँचीमा गुणस्तरको कुरा योभन्दा अगाडि कहिल्यै नसुनेको बताउनुभयो । अलैँची खेती किसानका लागि सबैभन्दा सजिलो खेती हो । कतिपय किसानमा अझै पनि अलैँची भन्नासाथ बाजेले रोप्ने र नातिसम्मले फलमात्रै खाइरहने भन्ने बुझाइ छ ।
गुणस्तरीय अलैँची उत्पादन गर्न किसानलाई आधुनिक प्रविधिको प्रयोग बढाउन सुझाएको व्यवसायी बताउँछन् तर किसानले भने आधुनिक भट्टी अलैँची सुकाउनका लागि खासै काम नलाग्ने बताउँछन् । जिल्लाका किसानलाई दुई वर्ष अघि उद्योग वाणिज्य सङ्घले १०० वटा अनुदानमा आधुनिक भट्टी वितरण गरेको थियो तर अहिले एउटा पनि प्रयोगमा छैन । “जिल्लाका १०० किसानले आधुनिक भट्टी पाएका थिए”, महासचिव ढकालले भन्नुभयो, “अहिले कसैले पनि प्रयोग गरेको छैन ।”
आधुनिक भट्टीको प्रयोग प्राविधिक रुपमा असजिलो, महँगो र धेरै समय लाग्ने किसान बताउँछन् । आधुनिक भट्टी गरेको अलैँची र परम्परागत भट्टीमा सुकाएको अलैँचीको मूल्यमा खासै फरक नहुने भएकाले पनि कम खर्चमै सुकाउन परम्परागत भट्टीको प्रयोग गरेको फुलेकका किसान योगेन्द्र कार्कीले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












