ताजा समाचार

सांसद अधिकारीको टिप्पणी, राष्ट्रिय सभाले दायित्व बिर्सियो

काठमाडाैँ २२,असोज । सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको पूरकसभाका रूपमा रहेको राष्ट्रिय सभाले संघीयता कार्यान्वनयका लागि भूमिका खेल्नुपर्ने भए पनि त्यसमा चुकेको उनको भनाइ थियो ।

संसदीय मामिला पत्रकार समाजले गोदावरीमा गरेको संघीय पत्रकारितासम्बन्धी अन्तरक्र्रिया कार्यक्रममा उनले आफैं सदस्य भए पनि राष्ट्रिय सभाले आफ्नो दायित्व भुलेको भन्दै आलोचना गरे ।
दुवै संविधानसभामा सदस्यसमेत रहिसकेका अधिकारीले संघीय संसद्ले लाजमर्दो रूपमा कानुन निर्माण गरेको बताए । हालसालै पारित भएका मौलिक हकसँग सम्बन्धित १६ वटा विधेयक छलफलबिनै कानुन बनेको उनको भनाइ थियो ।
‘मौलिक हकसम्बन्धी विधेयक यति लाजमर्दो ढंगले पारित भयो कि हामी सांसदले पाना पनि पल्टाउन पाएनौं,’ उनले भने, ‘संशोधन दर्ता गर्न ३ घण्टाको समय दिएको छ भन्न पनि सकेनौं ।’ उनले संसद् र समितिले आफ्नो काम प्रभावकारी बनाउन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

‘म राष्ट्रिय सभाको सदस्य भए पनि भन्नैपर्छ यसले आफ्नो दायित्व पूरा गरेन, हामी स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिबाट निर्वाचित भएर आएका हौं,’ उनले भने, ‘त्यस हिसाबले हाम्रो दायित्व स्थानीय तह, प्रदेश र केन्द्रलाई समन्वयन गर्ने हो । त्यो हामीले गरेनौं ।’ प्रदेशसभाको काम कारबाही प्रभावकारी नभएको अवस्थामा प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तरप्रदेश समन्वय समितिको बैठक राख्न पहल नगरिएको अधिकारीले उल्लेख गरे । राष्ट्रिय सभासँग पर्याप्त समय भए पनि देशका जल्दाबल्दा विषयमा छलफल हुन नसकेको उनले बताए ।
‘राष्ट्रिय सभासँग पर्याप्त समय भए पनि ठोस काम गर्न सकेनौं । कहिले १० त कहिले १५ मिनेट बैठक बसेर उठ्ने गरेको छ,’ सांसद अधिकारीले भने, ‘सरकारले त बिजनेस दिएन, दिएन, हामी आफैंले पनि बिजनेस पैदा गर्न सकेनौं । बैठकलाई बिजनेस दिने काम हामी सांसदहरूको पनि हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org