ताजा समाचार

नेकपाको सचिवालय बैठक आज, मत्थर होला विवाद ?

काठमाडौँ । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा कुरा नमिल्दा सचिवालय बैठक स्थगित भएको थियो ।

स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्कीसमेतको जिकिर छ । सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधवकुमार नेपालगायत सबैजसो विभागमा सहमति भए पनि निर्णय हुन भने बाँकी छ । आज बस्ने बैठकले पार्टीका विभिन्न ३३ विभागको टुङ्गो लगाउने भएको छ ।

यसअघि गत साउन ५ गते बसेको बैठकले पार्टी जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेको थियो । सचिवालय बैठक बस्नुअघि बैठकमा छलफल गर्नका लागि पूर्वनेकपा ९एमाले०बाट प्रतिनिधित्व गर्ने सवै सचिवालय सदस्यको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेका छन् । विभागको टुङ्गो लगाएपछि पार्टीले जनसङ्गठन इञ्चार्ज र विभिन्न कमिटी गठन गर्ने तयारी गरेका छन् । विसं २०७५ जेठ ३ गते पार्टी एकता गरिए पनि अझैसम्म यसले पूर्णता पाइसकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org