ताजा समाचार

राष्ट्रपति भण्डारी शीतलनिवासबाट विमानस्थल हेलिकप्टरमा !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकप्टर चढेर विमानस्थल पुगेकी छन् ।

यसअघि सडकमार्गबाट एयरपोर्ट आउँदा जाँदा सर्वसाधारणको यात्रा प्रभावित भएपछि आलोचना भइरहेका बेला सुरक्षा निकायले राष्ट्रपतिको इच्छा अनुरुप उनलाई महाराजगञ्जबाट हेलिकोप्टरमा त्रिभुवन विमानस्थल पुर्‍याएको हो।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार नागरिकको गुनासोलाई ख्याल गर्दै पहिलो पटक यस्तो अभ्यास गरिएको हो।

‘विगतमा राष्ट्रपतिज्यूलाई विमानस्थलबाट ल्याउँदा लाँदा सडकमा सर्वसाधरणको यात्रा प्रभावित भएको गुनासो आएको थियो’, घिमिरेले भने, ‘नागरिकमैत्री अभ्यासका क्रममा राष्ट्रपतिज्यूलाई हेलिकोप्टरमा एयरपोर्ट पुर्‍याइएको हो।’

आसन्न म्यानमार र जापान भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बिहान ९ बजेर ४५ मिनेटमा हेलिकोप्टर चढेर शीतलनिवासबाट निस्किएकी थिइन्। राष्ट्रपति म्यानमारको पाँचदिने भ्रमणका लागि बुधबार त्यसतर्फ लागेकी हुन्। उनी त्यहाँबाट सीधै जापान जाने कायक्रम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org