ताजा समाचार

राष्ट्रियसभाको उम्मेदवारी दर्ता पुस २० मा, मतदान कहिले ?

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन ायोगलेर सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस १७ गते मतदाता नामावली सार्वजनिक हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ ।

२० गते उम्मेदवारी दर्ता पश्चात दाबी विरोध लगायतका प्रक्रिया पुरा भएपछि पुस २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनका साथै निर्वाचन चिन्ह समेत प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । तर, मतदान भने माघ ९ गते मात्रै हुनेछ ।

७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।

राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।

को कसको कार्यकाल सकिदैछ ? हेर्नुहोस् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org