ताजा समाचार

आइतबार बिदा दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिरपरिषदको कार्यालय, गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाएर रिट दर्ता भएको हो ।

‘मन्त्रिपरिषदले आवश्यक विचारविमर्श नै नगरी हप्तामा दुई दिन बिदा दिने गरी गरिएको निर्णय देशको भौगोलिक अखण्डता, राष्ट्रियता र राष्ट्रिय सुरक्षा समेतमा खलल पुग्ने भएकाले र यस्तो महत्वपूर्ण सार्वजनिक सरोकारको विषय भई संविधानको धारा १३३(२) र (३) बमोजिम भई यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत यस्तो सार्वजनिक सरोकारको विषयसँग सम्बन्धित संवैधानिक तथा कानूनी प्रश्नको निरूपण गर्न अतिआवश्यक देखिएकाले यो निवेदन पेश गरेका छौं,’ रिट निवेदकले भनेका छन् ।

उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् । मन्त्रिपरिषदको बैठक २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org