ताजा समाचार

एमालेले सुरु गर्‍यो निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु

काठमाडाैं । नेकपा (एमाले)ले संघ र प्रदेशसभाको निर्वाचनका तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

चुनावलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । सोमबार मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको थालनी गरे ।

मंगलबार प्रदेश १ को विराटनगर, बुधबार वाग्मतीको काठमाडौं, साउन ८ गते गण्डकीको पोखरामा प्रदेशस्तरीय प्रशिक्षण हुनेछ । ‘अन्य प्रदेशको मिति भने तोक्न बाँकी छ र चाँडै तोकिने छ‚’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘आगामी चुनावसम्म सबै कार्यकर्ताहरूमा कम्तीमा एउटा प्रशिक्षण कार्यक्रममा सहभागी हुनसक्ने गरी कार्यक्रम तय गरिएको छ ।’

एमालेले भौतिक उपस्थिति र भर्चुअल दुवै तरिकाबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संयोजनका लागि एमालेले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई सातवटा प्रदेशको जिम्मेवारी दिएको छ । प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, वाग्मतीमा उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रशिक्षण कार्यक्रमको संयोजक तोकिएको छ ।

एमालेले स्थानीय निर्वाचनको परिणामपछि प्रतिरक्षात्मक मनोविज्ञान रहेका कार्यकर्तालाई त्यसबाट बाहिर ल्याउन देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो । प्रशिक्षणको विषयवस्तु र विधिको संयोजन भने स्कुल विभागले गरेको एमालेले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org