ताजा समाचार

नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

काठमाडौं । आज विक्रम सम्वत २०८१ को पहिलो दिन । नयाँ वर्ष २०८१ साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।

आजदेखि नयाँ वर्ष प्रारम्भ हुँदैछ । आज दिनभरि सबैतिर शुभकामना आदानप्रदानको कार्यक्रम भइरहन्छ । औपचारिक र अनौपचारिकरूपमा शुभकामना आदानप्रदान गर्ने तथा सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू राख्ने काम दिनभरि नै भइरहन्छ । नयाँ वर्षको प्रारम्भ प्रायः यस्तै तरीकाले हुने गर्दछ ।

सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा(आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

नयाँ वर्ष आफैं ढोल बजाएर आउँदैन । यो अनुभूति हो र समयको एउटा मापन हो । समयको भौतिक मापन कतै देखिनुपर्ने हो तर यो क्यालेन्डरमा नापिन्छ । आजदेखि सर्वसाधारणको घरमा नयाँ पात्रो फेरिएको छ । नयाँ पात्रोले घरमा नयाँ वर्षको सङ्केत दिन्छ । नयाँ पात्रोमा पहिलो दिन आजै हो । यसकारण पनि नयाँ वर्ष मानिएको हो । नेपाली नयाँ वर्ष २०८१ सालको शुभ अवसरमा न्यूज नेपाल डट कमको तर्फबाट नेपालमा र संसारभर छरिनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org