ताजा समाचार

प्रचण्ड सरकारको निरन्तरताको पक्षमा छौं: महासचिव पाेखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशको ओरालो यात्रा रोक्नको लागि वामपन्थी र नयाँ शक्तिहरु मिलेर नयाँ समीकरण बनाएको बताए ।

‘कतिपयले आलोपालो प्रधानमन्त्री भनेका छन् । तर हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौँ’, महासचिव पोखरेलले भने, ‘किनकि हाम्रो चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति हो ।’

महासचिव पोखरेलले गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका सवालमा सबै पक्षसँग एमाले मिलेर जान तयार रहेको समेत बताए । ‘मुलुकलाई ओरालो यात्राबाट सुरक्षित यात्रामा डोर्‍याउने कुरा नै प्राथमिकता हो’,महासचिव पोखरेलको भनाइ छ । उनले लोकतन्त्रमाथि सङ्कट आएका बेला कांग्रेससँग पनि मिलेर काम गर्नुपर्छ भनेर भनिरहेको बताए ।

नेता पोखरेलले प्रदेशहरूमा देखिएको अस्थिरता राष्ट्रिय राजनीतिमा भएको कोर्स करेक्सनको प्रभाव भएको पनि टिप्पणी गरे । केन्द्रको राजनीतिक समीकरण अनुसार नै प्रदेश सरकारहरू बनेपछि मात्र मुलुकले स्थायित्व प्राप्त गर्ने पोखरेलको दाबी छ ।

‘नयाँ राजनीतिक कोर्स करेक्सनका कारण प्रदेशहरूमा जुन प्रकारको परिवर्तन देखा परेको छ त्यसलाई अस्थिरता ठानिराख्नुभएको छ भने त्यो स्वाभाविक रूपमा राष्ट्रिय राजनीतिको कोर्स करेक्सनको प्रभाव हो’, महासचिव पोखरेलले भने, ‘अब सातवटै प्रदेशहरूमा केन्द्रमा जुन प्रकारको राजनीतिक समीकरण बनेको छ त्यही समीकरणको जगमा प्रदेश सरकारहरू बन्दा मुलुकले स्थायित्व प्राप्त गर्नेछ ।’

महासचिव पोखरेलले अस्थिरताको जगमा खडा भएका प्रदेश सरकारहरू परिवर्तन जरुरी रहेको बताए ।

‘जहाँ नीति विहिनता, उद्देश्य, लक्ष्य विहिनता र नीति नमिल्ने दलहरूबिचको गठबन्धनको अवस्थाबाट सापेक्षित रूपमा वामपन्थी र नयाँ शक्ति मिलेर अहिलेको समीकरण बनेको छ’, पोखरेलको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org