ताजा समाचार

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा  एकै दिनमा डेढ लाखभन्दा बढी भक्तजन सहभागी भएका छन् । महाकुम्भ मेला मूल आयोजक समितिका सचिव चन्द्र मगरले शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै दर्शनार्थी उपस्थित भएका हुन् ।

आतबारदेखि शुक्रअन्ध सुरु हुने भएकाले आज यति धेरै दर्शनार्थी सहभागी भएको उहाँको भनाइ छ । मेलामा भक्तजनको घुँइचो बढेपछि सवारी साधन पार्किङका लागि समस्या भएको थियो । मानिसहरुले टाढैबाट पैदल सो स्थानसम्म पुगेका थिए ।

आयोजक समितिले एक महिना करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरुप मेलाको व्यवस्थापन गरेको थियो । कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् ।

कुम्भमा सहभागी हुन नेपालका विभिन्न स्थानसँगै भारतबाट भक्तजन आउने गरेका छन् । भारतका इलाहावाद, उज्जैन, नासिक, हरिद्वारमा पनि कुम्भमेला लाग्दै आएको छ । सुनसरीको बराह क्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला लाग्न थालेको हो । यहाँ छ–छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ ।

हिन्दू धर्मशास्त्रमा बराह क्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धार्मिकग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो । बराह क्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको महाकुम्भ मेला आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org