ताजा समाचार

प्रधानमन्त्री ओलीले पार्टीलाई विश्वासमा लिएर चल्नु पर्छ : नेता नेपाल

madhav-kumar-nepalकाठमाडौं, ४ कात्तिक । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीबीच कुनै मनमुटाव नरहेको बताउनुभएको छ । तर उहाँले एमालेलाई विश्वासमा लिएर अगाडि बढ्न ओलीलाई सुझाव दिनुभएको छ ।

बुधबार कुरा गर्दै नेपालले मनमुटाव नरहे पनि पार्टीका केही विषयमा प्रधानमन्त्री ओलीले ध्यान दिनुपर्ने बताउनुभयो । ‘प्रधानमन्त्री केपी ओली र मबीच कुनै विवाद छैन’, उहाँले भन्नुभयो, ‘तर उहँले पार्टीभित्र विश्वास जित्नुपर्छ ।’

उहाँले एमाले नेतृत्वको अहिलेको सरकार असफल बनाउने कुरा सोँच्नु पनि अपराध हुने बताउनुभयो । ओली सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको पनि बताउनुभयो ।

नेता नेपालले एकीकृत माओवादीलाई ८ वटा मन्त्रालय दिइएकोमा भने असन्तुष्टि जनाउनुभयो । ‘१ सय ८४ सिट भएको एमाले ६ वटा मन्त्रालय राख्ने । ८३ वटा सांसद भएको एकीकृत माओवादीलाई ८ वटा मन्त्रालय दिने । सभामुख र राजनीतिक समितिको संयोजक पनि दिने । यस्तो शक्ति बाँडफाँट उचित भएन ।’ उहाँले यस्ता सहमतिले एमालेभित्र विद्रोह हुने चेतावनी दिनुभयो ।

‘यस्ता असमान सहमतिले एमालेमा विद्रोह हुन्छ’, नेता नेपालले भन्नुभयो, ‘सरकारमा एमाओवादीकरण भएको छ । पदमा जाने नाममा जे पनि सहमति गरेको देखियो ।’

उहाँले प्रधानमन्त्री ओलीलाई एकीकृत माओवादीसँग असमान सहमति गरेको आरोप पनि लगाउनुभयो ।

एक वर्षपछि पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने कुरामा सहमति नभएको एमाले वरिष्ठ नेता नेपालको भनाइ छ ।

‘पुष्पकमल दाहाललाई एक वर्षपछि प्रधानमन्त्री बनाउने कुनै सहमति भएको छैन’, उहाँले भन्नुभयो, ‘यदि त्यस्तो सहमति भएको रहेछ भने पनि एमालेले मान्दैन । दुई वर्षसम्म ओली नै प्रधानमन्त्री बन्नु हुन्छ ।’

उहाँले आफूलाई प्रधानमन्त्री बन्न लागेर षड्यन्त्र गरेको आरोपको खण्डन गर्दै भन्नुभयो, ‘माधवकुमार नेपालफेरि प्रधानमन्त्री बन्ने दौडमा छ भन्नु गलत हो । म अहिले प्रधानमन्त्री बन्न चाहँदैन । म तुच्छ मान्छे होइन, ओलीलाई असफल बनाउन लागेको छैन ।’

यसैबीच नेता नेपालले मधेसी मोर्चाले माग गरेर जस्तो संघीय प्रदेशको सिमाङ्कनमा कुनै सहमति नहुँने बताउनुभएको छ । ‘सिमाङ्कनमा संविधानमा जे व्यवस्था भएको छ, त्यो अहिले संशोधन हुँदैन’, उहाँले भन्नुभयो, ‘संविधानले मधेसी मोर्चाले माग गरेभन्दा पनि धेरै अधिकार दिएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org