ताजा समाचार

काभ्रेमा चारहजारभन्दा बढी मतदाता थपिए

बनेपा, २० माघ । जिल्ला निर्वाचन कार्यलय, काभ्रेपलाञ्चोकले डेढ महिनाको अवधिमा थप कुल चारहजार एकसय १८ जनाको फोटो सहितको मतदाता नामावली सङ्कलन गरेको छ । तीमध्ये महिला दुई हजार ९९ र पुरुष दुई हजार १९ रहेका छन् ।

“मतदाताको मताधिकार सुरक्षित गर्न फोटो सहितको मतदाता नामावली सङ्कलन गरेका हौँ”, जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका प्रमुख मधुकरप्रसाद पोखरेलले भन्नुभयो । उहाँले गत पुस ११ गतदेखि जिल्लाको प्रत्येक गाविस र नगरपालिकामा फोटो सहितको मतदाता नामावली सङ्कलनका लागि घुम्ती शिविर नै सञ्चालन भएको उल्लेख गर्दै यही माघ २७ गतेसम्म घुम्ती शिविर जारी रहने बताउनुभयो । जिल्लामा ७५ गाविस र पाँच नगरपालिका छन् ।

विसं २०७० सालको मतदाता सङ्कलनबाट जिल्लामा कुल दुईलाख आठहजार सातसय २६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । शिविरपछि पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली सङ्कलन कार्य जारी रहनेछ ।

पोखरेलले बसाइँसराइ, मृत्यु लगायतले देखिएको समस्या हटाउने वा थप्ने विषयमा पनि दाबी तथा विरोधका लागि अभियान सञ्चालन भएको बताउनुभयो ।

यसैबीच, निर्वाचनमा सहभागी हुन काभ्रेपलाञ्चोकमा २५ राजनीतिक दलले आफ्नो विवरण पेस गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले यही १७ गतेसम्मका लागि समयसीमा निर्धारण गरेको थियो । विवरण पेस गर्ने नयाँ दलमा गान्धीवादी पार्टी नेपाल र युनाइटेड ग्रिन अर्गनाइजेसनसमेत रहेका छन् ।

त्यसबाहेक नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेपाल मजदुर किसान पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायत छन् । “दल दर्ता नभए दलहरुले निर्वाचनमा भाग लिन पाउँदैनन्”, जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका नायब सुब्बा नारायणबहादुर खड्काले भन्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org