ताजा समाचार

प्रचण्ड परिवारलाई समवेदना दिन चुनावी कार्यक्रम रोकेर नेताहरु काठमाडौंमा

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको खबर पाएलगत्तै बिभिन्न राजनीतिक दलका नेताहरु चुनावी कार्यक्रम स्थगित गरेर काठमाडौं केन्द्रित हुन थालेका छन् । प्रकाशको पार्थिब शरिर राखिएको नर्भिक अस्पतालमा राजनीतिक दलका शीष नेताहरुदेखि भेला हुन थालेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्ड पनि झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् । अहिले भखरै प्रचण्ड नर्भिक हस्पिटल पुग्नुभएको छ । प्रचण्डसँगै उनका छोरी तथा भरतपुर महानगरकी मेयर रेणु दाहाल पनि नर्भिक हस्पिटल पुगेकी छन् । प्रकाश दाहालकी पत्नी विना मगर पनि बिहानै कञ्चनपुरको चुनावी कार्यक्रम रोकेर काठमाडौं फर्किएकी छन् । उनी रुँदै अस्पताल भवनभित्र छिरेकी छिन् ।

प्रकाशका छोरालाई भने अस्पतालमा नलगी गाडीमै राखिएको छ । प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठी बिहानै अस्पताल पुगेकी थिइन् । उनी प्रकाशको निधनपछि भाव विह्वल बनेकी छिन् ।

भावविह्ल भएकी प्रकाश पत्नी र्सिजना त्रिपाठी

प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली पनि काठमाडौं आएका छन् । प्रकाशको निधनको खबर सुनेलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौं आएका छन् । शीर्ष नेताहरुमध्ये सबैभन्दा पहिले एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल परिसरमा देखिएका थिए । एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल आएका थिए ।

कांग्रेसको तर्फबाट नर्भिक अस्पतालमा पुग्ने प्रकाशमान सिंह पहिलो नेता हुन् । बानेश्वरको थापागाउँमा आइतबार बिहान आयोजित घरदैलो कार्यक्रमलाई बीचमै रोकेर प्रकाशमान नर्भिक अस्पताल पुगेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । सुरक्षाकर्मीहरुमार्फत् सिंहले दाहालको निधनको खबर पाएका थिए ।

माओवादीका अधिकांश नेताहरु नर्भिक अस्पतालमा छन् । गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल पनि आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर काठमाडौं आएका छन् । नयाँ शक्ति नेपालका खिमलाल देवकोटा पनि नर्भिक अस्पताल पुगेका छन् । अहिले नर्भिक अस्पताल परिसरमा दाहालका आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेताहरुको भिडभाड छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org