ताजा समाचार

अस्पताल ल्याउनुभन्दा तीन घन्टा अघि ‘आकस्मिक हृदयघात’ कारण प्रकाशको निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको अस्पत्तालले जनाएको छ । आईतबार बिहान पाँच बजेतिर नर्भिक अस्पताल लगिएका प्रकाशको पहिल्यै नै निधन भईसकेको जनाएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो ।

चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । त्यसअघि सबै जाँच गरिएको थियो । अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ ।

चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसँग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चनपुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।

घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल हेर्न जाँदा अचेत अवस्थामा भेटिएका थिए । लगतै उनलाई सन्तु दराई (परवाना) लगायतले गाडीमा राखेर नर्भिक अस्पतालमा पुर्‍याएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org