ताजा समाचार

३२ जिल्लाका ७०२ उम्मेदवारको भाग्य ३१ लाख ९१ हजार ९४५ मतदाताको हातमा

काठमाडौं, १० मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज मतदान जारी छ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। संविधान जारीपछि पहिलो पटक संघीय संरचनामा संसदीय निर्वाचन भईरहेको हो ।

यसअघि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचन भएको थियो। तत्कालीन प्रधानमन्त्री देउवाले विघटन गर्न सिफारिस गरी विघटित संसद् २०६२/०६३ को जनआन्दोलनपछि पुनस्र्थापना भएको थियो। संयोग अहिले चुनाव गराउने मन्त्रिपरिषदको नेतृत्व पनि देउवाले नै गरेका छन्। संसद् पुनस्र्थापना र तत्कालीन विद्रोही माओवादीसँग भएको विस्तृत शान्ति सम्झौता अनुसार दुई पटक संविधानसभा निर्वाचन भएको थियो।

संघीय संरचनामा हुने निर्वाचनले ११ वर्षदेखि जारी राजनीतिक संक्रमणको अन्त्य गरी संविधान कार्यान्वयनलाई थप समृद्ध बनाउने विश्वास लिइएको छ। दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुनेछ।

संविधानले तोकेका तीन संरचनामध्ये स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको छ। संविधानले कोरेको माघ ७ को संक्रमणकालीन मार्गचित्र अनुसार स्थानीय तहले संघीयता कार्यान्वयनका लागि कोरेको गोरेटोलाई थप मजबुत बनाउन प्रदेश र प्रतिनिधिसभा निर्वाचन भईरहेको हो । उम्मेदवार लक्षित आक्रमण र केही आशंकाबीच आज मतदान सुरु भएको हो ।

३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आज मतदान भईरहेको हो । कुल १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारको परीक्षणका लागि ३१ लाख ९१ हजार ९४५ मतदाता पहिलो चरणको निर्वाचनमा मतदान गरिरहेका छन् ।

प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। पहिलो चरणको निर्वाचनका लागि २ हजार ९१९ निर्वाचन स्थल र ४ हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन्।

निर्वाचनमा करिब ५० हजार कर्मचारी निर्वाचन क्षेत्र र निर्वाचन अधिकृतको कार्यालयमा खटिएका छन्। मतदान स्थल र केन्द्रमा ६ देखि ९ जना सम्म कर्मचारी खटिएका छन्। प्रत्येक निर्वाचन अधिकृतहरुको कार्यालयमा १० देखि १८ जना कर्मचारी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org