ताजा समाचार

मुसहर–माझीलाई उच्चशिक्षाका लागि आर्थिक सहयोग

रत्ननगर, चितवन, ६ साउन । रत्ननगर नगरपालिकाले यहाँको मुसहर र माझी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययनका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

नगरभित्र रहेका मुसहर माझी विद्यार्थीले चाहेमा स्नातकोत्तरसम्मको अध्ययनका लागि सहयोग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।

नगरसभाबाट पारित भए पनि अहिलेसम्म मुसहर माझीले नगरपालिकाको उक्त सेवा लिन नसकेको जानकारी दिँदै उनले भने, “भर्खरै एक दुईजना प्लस टुसम्म पुगेका रहेछन्, अब उनीहरुको उच्चशिक्षालाई नगरपालिकाले आर्थिक भार व्यहोरेर पढाउँछ ।”

सो जानकारी पाएपछि झुवानी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत अमीर माझी सञ्जय माझी नगरपालिकामा बुझ्न आएका थियो ।

“माझी मुसहरलाई फ्री रे भन्ने सुनेको थिएँ, अनि आएको”, नगरप्रमुख वनको सामुन्ने सञ्जयले लजाउँदै भने । त्यसपछि उहाँलाई नगरप्रमुख वनले उच्च शिक्षाका लागि पूर्ण सहयोग हुने आश्वासन दिए ।

कक्षा ११ मा उनलाई अहिलेको छात्रवृत्तिमा परीक्षा दिन भनिएको छ । शिक्षक बनेर आफू जस्तै अन्य गरीबलाई पढाउने इच्छा रहेको सञ्जयको भनाइ थियो ।

यस्तै नगरपालिकाले कोचिङ कक्षाका लागि पनि आर्थिक सहयोगका साथै उच्च शिक्षा पढ्ने हरेक सुकुम्बासीका बालबालिकाका लागि प्रतिव्यक्ति रु पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org