ताजा समाचार

स्क्रबटाइफस र डेंगुको संक्रमण घट्दै

चितवन १०, साउन । जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो । आव २०७३÷०७४ मा ५०९ जनामा स्क्रबटाइफस संक्रमण भेटियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आव २०७४÷०७५ मा दुई हजार २३७ जनाको रगत परीक्षण गर्दा ४१० जनामा स्क्रबटाइफस पोजेटिभ देखियो । आव २०७३÷०७४ मा एक हजार ६२६ जनाको नमूना परीक्षण गर्दा ५०९ जनामा स्क्रबटाइफस भेटिएको थियो ।

मुसामा हुने एक प्रकारको परजीविको टोकाइबाट यो रोग लाग्ने गर्दछ । घाँस तथा झाँडीमा जाँदा ‘माइट’ नामक उक्त परजीविले मानिसलाई टोकेमा स्क्रबटाइफस रोगको संक्रमण हुने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।

उहाँका अनुसार गत आवमा एक हजार ४८३ जनाको नमूना परीक्षण गर्दा ५९ जनामा डेंगु पोजेटिभ देखिएको थियो । आव २०७३÷०७४ मा दुई हजार ५६२ जनाको नमूना परीक्षण गर्दा ६८७ जनामा डेंगुको संक्रमण भेटिएको उनले बताए ।

एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नुनै यो रोगबाट बच्ने उत्तम उपाय भएको केसीले बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org