ताजा समाचार

धितोपत्र कारोबार सञ्चालन विनियमावली पारित,करोडौंको सेयर सूचीकरणको बाटो खुल्यो

काठमाडाैं ६,भदाै ।  नेपाल स्टक एक्सचेञ्जले ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ पारित गरेको छ ।

विनियमावली पारित नहुँदा करोडौ कित्ता सेयर सूचीकृत हुन सकेको थिएन । विनियमावली पारित भएसँगै बुधबार ९ कम्पनीहरुको सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

पुरानो विनियमावली खारेज भएको र नयाँ पारित हुन नसक्दा नयाँ आर्थिक वर्ष लागेदेखि नै नेप्सेले सेयर सूचीकरण गरेको थिएन ।

बुधबार एकै दिन सिद्धार्थ बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबी बैंकलगायतका संस्थाको कुल ४ करोड ४१ लाख भन्दा बढी कित्ता सेयर सूचीकरण भएको नेप्सेका सीईओ साउदले बताए ।

जसअनुसार हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । एनएमबी बैंकले पूँजी वृद्धिका लागि निश्कासन गरेको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ पनि सुचीकृत भएको छ ।

यसैगरी सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता, कावली विकास बैंकको ९ लाख १२ हजार ९ सय १२ कित्ता, मिर्मिरे लघुवित्तको १ लाख ३८ हजार ६ सय कित्ता, सूर्योदय लघुवित्तको ७६ हजार कित्ता, हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ र भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता सेयर बुधबार सूचीकृत भएको छ ।

अन्य कम्पनीको आईपीओ सूचीकरण भोलिसम्म

सूचीकरण हुन बाँकी रहेका अन्य कम्पनीहरुको पनि बिहीबारसम्म सुचीकरण हुने नेप्सेका सीईओ साउद बताउँछन् । ‘१ महिना भन्दा बढी समयदेखि सुचीकरण रोकिएको थियो’ सीईओ साउदले भने, ‘आजै ९ वटा कम्पनीको पनि सूचीकरण गर्ने तयारी छ, आज नभएर भोलि हुन्छ ।’

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सेयर पनि आजै सूचीकरण गर्ने तयारीमा रहेको उनले बताए । सूचीकरणका लागि थोरै मात्रै प्रक्रिया बाँकी रहेको भन्दै समय भए बुधबारै नत्र बिहीबार सम्म सुचिकरण हुने उनले जानकारी दिए ।

नाडेपले चार लाख ८० हजार कित्ता अर्थात ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org