ताजा समाचार

नेकपाको स्थायी कमिटी बैठक अनिश्चित ,कता अल्मलियो एकता प्रक्रिया ?

काठमाडाैँ १७,भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक दोस्रोपटक अनिश्चित बनेको छ । पार्टीका तल्ला कमिटी र जनसंगठनको एकीकरण टुंगो लगाउन १८ र १९ भदौका लागि डाकिएको स्थायी समिति बैठक गृहकार्य नपुगेको भन्दै पुनः स्थगित हुन लागेको हो । यसअघि गत ८ र ९ गते डाकिएको बैठक समयको चापले गर्दा गृहकार्य पूरा हुन नसकेको भन्दै स्थगित भएको थियो ।

‘केही तयारीका काम बाँकी रहेकाले भोलिका लागि डाकिएको स्थायी समिति बैठक केही दिनका लागि पर सर्दै छ,’ महासचिव विष्णु पौडेलले भने, ‘हामी छिटोभन्दा छिटो एकीकरणको काम टुंगोमा पुर्‍याउँछौँ ।’

साताव्यापी अमेरिका भ्रमणमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल २० भदौमा मात्र स्वदेश फर्किँदै छन् । अध्यक्ष प्रचण्ड पनि २२ भदौमा भारत जाँदै छन् । राजनीतिक भ्रमण पूरा गरेर उनी स्वदेश फर्किएपछि मात्र पर्याप्त गृहकार्य गरेर बैठक बोलाइने स्रोतले जनाएको छ । एकीकरण कार्यदलको सिफारिसलाई लिएर असन्तुष्टि बढेपछि अध्यक्ष ओली र नेता नेपालबीच पर्याप्त गृहकार्यपछि मात्र बैठक बोलाउने सहमति भएको स्रोतको भनाइ छ । ‘उहाँहरूबीच नेपाल अमेरिकाबाट फर्किएपछि पर्याप्त छलफल गरेर मात्र बैठक बोलाउने सहमति भएको छ।

स्थायी समिति बैठकमा सरकारको कामको समीक्षा एजेन्डामा छलफल सुरु भए पनि सबै सदस्यले करिब दुई महिनादेखि औपचारिक धारणा राख्न पाएका छैनन् । २१ असारमा बसेको स्थायी समिति बैठकमा सरकारको कामको समीक्षा एजेन्डा राखिएको थियो । तर, नेताहरूले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना सुरु गरेपछि अध्यक्ष प्रचण्डले त्यस निम्ति छुट्टै बैठक आयोजना हुने भन्दै बैठक बीचैमा टुंग्याएका थिए ।

तर, त्यसयता करिब दुई महिना पुग्न लाग्दा पनि नेकपाले सरकारको कामको समीक्षा एजेन्डामा औपचारिक छलफल गरेको छैन । स्थायी समिति बैठक बस्न ढिलाइ हुँदै गएपछि कतिपय नेताहरूले आफ्ना धारणा सुझाबका रूपमा सामाजिक सञ्जालबाट राखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org