ताजा समाचार

देशमा बिकास र समृद्दिको ढोका भरतपुरबाट खुल्दैछ -अध्यक्ष प्रचण्ड

चितवन ७,असोज । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाले एकपछि अर्को गर्दै विकासमा फड्को मार्दै गएको दावी गरेका छन् ।

देआइतबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भरतपुरमा लगातार भइरहेको विकासले देशभरि नै सकारात्मक सन्देश दिएको बताए । उनले भने, ‘विकासको नमुना मोडेल भरतपुरले देखाएको छ । यहाँ देशकै नमुनाको रुपमा सिटी हलको कुरा अगाडि बढेको छ, रिंगरोड, लिंकरोड, क्रिकेट रंगशाला, बनाउने दिशामा भरतपुर अगाडि बढेको छ । ’

चितवन जिल्ला विकासका काममा अगाडि बढ्ने जमर्को गर्ने जिल्लामा गनिएको प्रचण्डकोे भनाइ थियो । उनले भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमा बनाउने कुरा अन्तिम चरणमा पुगेको भन्दै यसबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग आफुले कुरा गसिकेको जानकारी दिए ।

त्यस्तै प्रचण्डले जलमार्ग र जलाशयको उपयोगको कुरा पनि भइरहेको बताए । भैँसालोटनदेखि देवघाटसम्मलाई जलमार्गको रुपमा अगाडि बढाउने विषयमा छलफल भएको भन्दै प्रचण्डले त्यसका लागि तटबन्धसहित रिंगरोड भइदिए उपयुक्त हुने धारणा राखे ।

भारत र चीनले पनि चितवन र भरतपुरलाई विशेष रुपमा हेरेको प्रचण्डको भनाइ थियो ।

‘म भर्खरै भारत र चीन गएर आएँ, छिमेकी देशहरुले भरतपुर चितवनलाई ध्यानपूर्वक हेरिरहेका मैले पाएँ’ उनले भने, ‘भरतपुर र चितवनको विकास कसरी हुन्छ, विकासका मोडेलहरु कसरी अघि बढाइन्छ भनेर छिमेकी देशहरुले ध्यानपूर्वक हेरिरहेका छन् ।’

प्रचण्डका अनुसार राष्ट्रियस्तरमा नेतृत्व गर्ने नेताहरु पनि चितवनमै भएकाले विदेशीहरुले चितवनलाई ध्यान दिएको आफुले पाएको भन्दै आफुहरुले नयाँ पुस्तालाई केही दिनुपर्ने बताए ।

‘मैले भरतपुर महानगरको रिंगरोडलाई मोटो रकम हाल्न अर्थमन्त्रीसँग कुरा गरेको छु । उहाँले भरतपुरको रिंङरोड र लिंकरोडलाई सक्नेजतिको रकम हाल्छु भन्नुभएको छ’ अध्यक्ष प्रचण्डले खुलासा गरे, ‘चितवन धार्मिक पर्यटकको प्रचुर सम्भावना भएको जिल्ला हो, यसको लागि पनि स्थानीय सरकारले योजना बनाइरहेको जानकारी पाएको छु ।’

उनले भरतपुरलाई वैज्ञानिक तवरले व्यवस्थित सहर बनाउनुपर्ने पनि बताए ।

‘भरतपुरलाई देशकै नमुना सहरको रुपमा विकास गर्नुछ, भरतपुरले विकासको नमुना मोडेलको सन्देश देशभरि दिनुछ’ प्रचण्डको जोड छ ।

प्रचण्डले नेपालमा बिजुली उत्पादनको धेरै सम्भावना भएको भन्दै  प्रसारणको समस्याले गर्दा विदेशी कम्पनीहरु बिजुली उत्पादनका लागि नआएको बताए ।

उनले तरकारी बजार बढ्दै गएपछि चितवनको फोहोर व्यवस्थापन राम्रोसँग गर्नुपर्ने चुनौती रहेको पनि बताए ।

उनले वर्तमान सरकार देशको विकासमा लागिरहेको भन्दै कृषिको विकासको लागि जोन व्लकहरु बनाउने काम भइरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org