ताजा समाचार

स्थानियद्वारा अपर तमोर हाइड्रोपावरमा तोडफोड

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन अपर तमोर हाइड्रोपावरको कामदार बस्ने ब्यारेक तोडफोड भएको छ । स्थानीयले विरोध जनाइरहेको जिल्लामा निर्माणाधीन सबैभन्दा ठुलो २८५ मेगावाट क्षमताको जलविद्युतको कामदार बस्ने ब्यारेक तोडफोड भएको हो ।

फक्ताङलुङ गाउँपालिका ३ सिँवामा रहेको ब्यारेकमा कामदार नभएको समयमा आज बिहान करिब साढे आठ बजे तोडफोड भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । कर्मचारीहरू काम गर्न गएको समयमा १० देखि १२ जनाको समूहले तोडफोड गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।

उक्त समूहले ब्यारेकको १३ वटा झ्याल, छ वटा ढोकामा, एउटा हेलोजिन लाइट तोडफोड गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । घटनापश्चात् तत्काल प्रहरी चौकी सिँवाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरीको टोली खटाइएको थियो ।

तोडफोड गरेर समूहहरू अहिले फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईको नेतृत्वमा १० जना प्रहरी खटाइएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org