ताजा समाचार

रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना सैनिकसँग हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।

बाढीका कारण नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको बताइएको छ। यसैगरी, बाढीबाट रसुवामा रहेका विभिन्न वाणिज्य बैंकका शाखा प्रभावित हुँदा २६ जना बैंक कर्मचारीसँग पनि सम्पर्क हुन सकेको छैन। तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बजार र बैंकका शाखामा क्षति पुर्‍याएको हो।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार आठवटा शाखामा कार्यरत २६ जना कर्मचारी हालसम्म सम्पर्कमा आएका छैनन्। टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए।

‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका शाखामा क्षति पुगेको छ। सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका हुन्,’ शर्माले भने। बाढीबाट प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुगेको शर्माले बताए। बाढीबाट प्रभावित बैंकका शाखाको संख्या नौ पुगे पनि आठवटा शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क हुन नसकेको जनाइएको छ।

बैंकर्स एसोसिएसनका अनुसार अहिले भौतिक क्षतिको विवरण संकलनभन्दा कर्मचारीको सुरक्षा र अवस्थाबारे जानकारी लिनलाई प्राथमिकता दिइएको छ। कर्मचारीको अवस्था यकिन भएपछि मात्रै भौतिक क्षतिको विस्तृत विवरण संकलन गरिने शर्माले बताए।

बाढी प्रभावित क्षेत्रमा तत्काल पुग्नसमेत कठिनाइ भइरहेको छ। बाढीका कारण फोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुगेकाले सम्पर्क स्थापित गर्न थप समस्या भइरहेको शर्माले जानकारी दिए। यसैबीच, डेभलपमेन्ट बैंकर्स एसोसिएसनले रसुवाको सो क्षेत्रमा रहेका विकास बैंकका शाखामा भने हालसम्म कुनै क्षति नभएको जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org