ताजा समाचार

विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ । यही असोज २७-२८ मा सम्मेलनको आयोजना गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मेलनका मुख्य एजेण्डाबारे जानकारी गराए । उनका अनुसार प्रदेशहरूबीचका अनुभव आदानप्रदान, अहिलेसम्म भएगरेका काम, उपलब्धि चुनौती, कमजोरीलगायतको विषयमा छलफल हुन्छ । त्यस्तै कानुन निर्माणको क्रममा देखिएका चुनौती, प्रदेशहरूमा भएगरेका सफल अभ्यासलाई अन्यत्र लागू गर्न मन्थन हुनेछ । दुई वा दुईभन्दा बढी प्रदेशका बीच सहकार्य समन्वय साथै विपद् व्यवस्थापनका विषयमा पनि छलफल गरिने कार्कीले जानकारी दिए ।

सङ्घीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउनुका साथै प्रदेशहरूबीच सहकार्य, समन्वय र साझेदारी विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनले बताए । सम्मेलनमा संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन, संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार तथा जिम्मेवारीमा स्पष्टता, कानुनी एवं नीतिगत सुधार र वित्तीय संघीयताको विविध पक्षमा गहन छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org