ताजा समाचार

बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र गहिराइ बुझ्दा न्यायाधीश फुयालमा न्याय सम्पादनको क्रममा बिचौलियाको मेसेजको कुनै प्रभाव नपरेको र उनले आफ्नो विवेकको आधारमा न्याय सम्पादन गरेको प्रस्ट देखिएको छ ।

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबरा र विवादास्पद व्यवसायी दीपक भट्ट कनेक्सनमा तानिएका पक्राउ परेका बिचौलिया इनम सापकोटासँग न्यायाधीश फुयालको ह्वाट्सएप सम्पर्क भएको समाचार बाहिर आएको छ ।

उक्त ह्वाट्सएपको मेसेज हेर्दा न्यायाधीश फुयालको निजसँग ‘सन्देहपूर्ण सम्बन्ध’ नरहेको देखिएको छ ।

विशेष अदालतले साउन २८ गते हिमालयन रिइन्स्योरेन्ससँगको जोडिएको मुद्दामा रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेश विरुद्ध गुप्ता सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले भदौ १७ गते गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश न्यायाधीशद्वय फुयाल र श्रीकान्त पौडेलको इजलासले दिएको थियो ।

सर्वोच्चमा मुद्दाको पेसी तोकिएपछि इनमले न्यायाधीश फुयालसँग सम्पर्क बढाएको देखिन्छ । बिहान १० बजेर २२ मिनेटमा इनमले फुयाललाई ह्वाट्सएप मेसेज गरेको देखिएको छ । उनले मुद्दा नै खारेज गरिदिनू होला भनेर मेसेजमा लेखेका छन् ।

तर न्यायाधीश फुयालले उक्त मेसेज आफूले अबेर मात्र देखेको भनेर बेलुकी ७ बजेर ३१ मिनेट जाँदा जवाफ फर्काएका छन् ।

न्यायाधीश फुयालले बेलुकी ७:३१ “मैले तपाईँको मेसेज भर्खरै (ढिलो) देखेको हुँ। उन (गुप्ता) लाई धरौटीमा रिहा गर्नुपर्ने उचित आधार थियो । आफ्नो जिम्मेवारीभन्दा बढी जिम्मेवारी लिने व्यक्ति श्री गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरियो, जबकि हामीले उनी (गुप्ता) सँग २ करोड रुपैयाँ धरौटीमा मागेका छौँ।”

विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा हिमालयन रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छालाई एक करोड र सञ्चालक समिति सदस्य शुभेच्छा खरेल १० लाख धरौटीमा छाडेको थियो ।

इनम सापकोटाले न्यायाधीश फुयालसामु प्रधानमन्त्रीले यो सवाल (गुप्ताको) लाई गम्भीरता साथ लिएको भनेर मेसेजमा लेखेका छन् । तर फुयालले कसैको प्रभाव र दबाबमा नपरीकन विवेकले न्याय सम्पादन गरेको देखिन्छ ।

सर्वोच्चले रिइन्स्योरेन्सको अध्यक्ष शेखर गोल्छालाई विशेष अदालतले धरौटीमा छोड्दा सोही कम्पनीकी सञ्चालक सदस्यको हकमा पनि धरौटी माग गर्ने गरी विशेषको आदेश उल्टाएको थियो ।

इनम सापकोटाले गरेको मेसेज र न्यायाधीश फुयालसँग फुयालले फर्काएको जवाफको समयले पनि न्याय सम्पादनमा विचलन भएको देखिँदैन । त्यसैगरी इनमले गरेको ह्वाट्सएप कल बेलुकी ७ बजेर २ मिनेटमा मिस्ड भएको सन्दर्भमा न्यायाधीश फुयालले कल नफर्काई मेसेज नै गरेबाट पनि दबाब र प्रभाव बिनै न्याय सम्पादन भएको तथ्य स्पष्ट हुन्छ । यतिसम्मकी इनमले प्रधानमन्त्रीको ‘पावर’ दुरुपयोग गरेको अवस्था पनि मेसेजमा देखिन्छ । तर त्यसतर्फ न्यायाधीश फुयालले कुनै जवाफ फर्काएको अवस्था छैन ।

न्यायमा प्रभावित भएको भए न्यायाधीश फुयालले गोल्छासँग भन्दा कम धरौटी मागेर इनमलाई सोहीअनुसारको मेसेज गर्ने निश्चित थियो । इनमले मुद्दा नै खारेज गरिदिनू भनी प्रधानमन्त्रीसमेतको कन्सर्न झल्काए पनि फुयालले ग्राउन्ड भएकै कारणले आफूले त्यस्तो गरेको भन्ने अर्थमा जवाफ फर्काएका छन् । इनम सापकोटा उक्त मुद्दा चल्दासम्म निज सामान्य नागरिकको रुपमा थिए । चोलेन्द्र-सर्वोच्च कनेक्सनसँगै उनी पक्राउ परेपछि उनी बिचौलिया रहेको खुल्न आएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org