‘सेटिङ’मै हुन्छ सुन तस्करी
काठमाडौं, २९ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कर्मचारीकै मिलेमतोमा पटक–पटक सुन तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा दुई महिनादेखि विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीकै सेटिङमा तस्करी भएको खुलेको हो । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका युवाहरूले नै पटक–पटक विमानस्थलबाट अवैध सुन भित्राएको र त्यसमा कर्मचारीको मिलेमतोको संकेत पाइएको सिआईबीका निर्देशक डिआईजी नवराज सिलवालले बताए । गत बिहिबार साढे ३३ किलो सुनसहित पक्राउ परेका नेपालगंजका गोपाल बहादुर शाहीले आफुले ६ पटकसम्म कर्मचारीकै सहयोगमा विमानस्थलबाट सुन भित्राएको बयान दिएका थिए । प्राविधिक अनुसन्धानमा पनि सुन तस्कर र कर्मचारीको मिलेमतो पुष्टि भएको सिआइबीले जनाएको छ । प्रहरीले तस्करीमा सहयोग गर्ने विमानस्थल भन्सारका कर्मचारीलाई पनि संगठित अपराध मुद्दामा कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । कर्मचारीको गल्ती देखिएपछि भन्सार कार्यालयले गत शुक्रबार नै सुन तस्करी भएको बेला डिउटीमा खटिएका २९ कर्मचारीलाई जिम्मेवारीमुक्त गरिसकेको छ । भन्सार विभागले पनि उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा समिति गठन गरेर छानबिन गर्दै आएको छ । प्रहरीका अनुसार सुन रहेको लगेजमा कुनै संकेत राखेर त्यसबारे पहिले नै भन्सार कर्मचारीलाई जानकारी दिइन्थ्यो । सोही अनुसार भन्साारमा कर्मचारीको डिउटी मिलाइएको हुन्थ्यो । पूर्वसूचनाअनुसार नै विमानस्थल भन्सारका कर्मचारीले सुन रहेको झोलाहरु चेकजाँच गरेको जस्तो गरी ‘पास’ गराउदै आएको प्रहरीले जनाएको छ । सिआईबीले तस्करीमा संलग्न संगठित गिरोहमाथि नै छानबिन अघि बढाएको छ । विगतमा सुन बरामद गर्दा प्रहरीले अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाउने गरेकोमा यसपटक संगठित अपराध मुद्दामा आफैं थुनामा राखेर छानबिन अघि बढाएको छ । अनुसन्धानमा सिआईबीलाई आफुहरुले पनि सहयोग गर्दै आएको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद सापकोटाले बताए । सिआईबीले सुन लिएर आएका शाही तथा सुन लिन गएका दिल बहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो । थापा र काफ्लेको साथबाट समेत सुन बरामद भएको थियो । सो सुन पनि विमानस्थलबाटै तस्करी भइ आएको खुलेको छ । तर, प्रहरीले मुख्य तस्करलाई अझै पहिचान गर्न सकेको छैन । सिआईबी स्रोतका अनुसार थापा र काफ्ले दुबईमै बस्दै आएका थिए । उनीहरुले विगत लामो समयदेखि एयरपोर्ट भन्सारमा सेटिङ मिलाई विभिन्न सामान तस्करी गर्दै आएका थिए । पछिल्लो समय भारतीय तस्करहरुसँग मिलेर निश्चित कमिसन लिई सुन तस्करी गर्न थालेको प्रहरीले जनाएको छ । पक्राउ परेका शाही बैदेशिक रोजगारीका लागि दुबईमा गएको बेला उनीहरुबीच चिनजान भएको थियो । एक पटक दुबई गएर सुन तस्करी गर्दा खर्च बाहेक आफुले १० हजार रुपैया“ पाउने गरेको शाहीले बयान दिएका छन् ।
सुन तस्करीमा संलग्न भन्सार कर्मचारीलाई पनि संगठित अपराध मुद्दा
सुन तस्करीमा संलग्न भन्सार अधिकृत श्रीनारायण यादव र एक्सरे टेक्निसियन (नासु) राजकुमार ढकाललाई सिआइबीले बिहीबार पक्राउ गरेको छ । उनीहरूमाथि संगठित अपराध मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । त्यस्तै, मिलेमतो रहेको पुष्टि भएपछि विमानस्थल भन्सार कार्यालयले नासुहरू प्रद्युम्न श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, सञ्जय महर्जन, निश्चल महर्जन, राजकुमार ढकाललगायत ६ कर्मचारीलाई निलम्बन गरेको छ । तस्करीमा प्रत्यक्ष मिलेमतो खुलेपछि यादव र ढकाललाई पक्राउ गरिएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । अन्य कर्मचारीलाई पनि मुद्दा चलाउने तयारी प्रहरीको छ । सिआइबीले बुधबार तस्करीका प्रमुख एजेन्ट रामहरि कार्कीलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा दुई कर्मचारी पक्राउ परेका हुन् ।
६ कर्मचारी निलम्बित
प्रारम्भिक अनुसन्धानमा मिलेमतो पुष्टि भएपछि विमानस्थल भन्सार कार्यालयले ६ जना नासुलाई निलम्बन गरेको छ । प्रद्युम्न श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, सञ्जय महर्जन, निश्चल महर्जन, राजकुमार ढकाललगायत निलम्बनमा परेका हुन् । उनीहरू फ्रन्टडेस्कमा बसेर काम गर्ने कर्मचारी हुन् । तस्करीमा अन्य कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । अधिकृतस्तरका कर्मचारीलाई मन्त्रालयले मात्र निलम्बन गर्न सक्छ । यसअघि कार्यरत उपसचिवसहित ३० कर्मचारीलाई हटाएर नयाँ कर्मचारी ल्याइएको विमानस्थल भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
प्रहरीले माग्यो अध्यागमनको अधिकार
नेपाल प्रहरीले अध्यागमनको जिम्मेवारी मागेको छ । सुरक्षा दृष्टिले अध्यागमनको जिम्मेवारी आफूहरूलाई दिनुपर्ने प्रहरीको माग छ । आगामी साता काठमाडौंमा हुने इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा एआइजी विज्ञानराज शर्माले अध्यागमनको जिम्मेवारी प्रहरीले पाउनुपर्ने बताए । ‘सुरक्षाको हिसाबले अध्यागमन प्रहरीले हेर्नुपर्छ,’ शर्माले भने, ‘अन्तरदेशीय अपराध नियन्त्रण गर्न अध्यागमनमा प्रहरी हुुनुपर्छ ।’ विश्वका धेरै देशमा अध्यागमन प्रहरीलाई दिने गरिएको पनि उनको भनाइ छ । अध्यागमन प्रत्यक्ष रूपमा सुरक्षासँग जोडिएकाले प्रहरी खटिनुपर्ने प्रहरीको भनाइ छ । अध्यागमनको जिम्मेवारी ०४७ देखि निजामती कर्मचारीले सम्हाल्दै आएका छन् । त्यसअघि अध्यागमनको जिम्मेवारी प्रहरीकै थियो । अध्यागमनमा कार्यरत प्रहरीले भ्रष्टाचार गरेका कारण अध्यामगन नै बदनाम भएपछि सरकारले निजामती कर्मचारीलाई जिम्मेवारी दिएको थियो । तर, अहिले अध्यागमनमा कार्यरत निजामती कर्मचारी विभिन्न काण्डमा मुछिँदै आएका छन् । सेटिङका आधारमा मानव तस्करी गर्ने तथा अध्यागमनसम्बन्धी अपराधको पनि राम्रोसँग अनुसन्धान नगरेको भन्दै अध्यागमनका कर्मचारीको आलोचना हुँदै आएको छ । विमानस्थल अध्यागमनमा एकपछि अर्काे विवाद भएपछि तीन वर्षअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले अध्यागमनको जिम्मेवारी प्रहरीलाई दिने तयारी गरेका थिए । अध्यागमनमा खटाउन प्रहरीसमेत तयार बनाइएको थियो । तर, अध्यागमन विभागका तत्कालीन महानिर्देशक शरदचन्द्र पौडेललगायतको विरोधपछि पनि जिम्मेवारी परिवर्तन भएन । अध्यागमन र प्रहरीबीच विमानस्थलमा पनि राम्रो सहकार्य छैन । इन्टरपोलको ब्ल्याक लिस्टसम्बन्धी डाटामा आफूहरूलाई प्रहरीले पहुँच नदिएको अध्यागमनका अधिकारीहरू बताउँछन् । नक्कली पासपोर्ट तथा भिसासहित पक्राउ परेका अपराधीबारे आफूहरूलाई जानकारी नदिने गरेको प्रहरी गुनासो छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने अध्यागमन प्रहरीलाई दिने विषयमा औपचारिक रूपमा कुनै प्रस्ताव नआएको बताए । ‘प्रहरीलाई दिँदा फाइदा हुन्छ भन्ने निचोड भयो भने राज्यले प्रहरीलाई दिन पनि सक्छ,’ उनले भने, ‘तर कुनै व्यक्ति र संस्थाको चाहनाले मात्र यो सम्भव छैन ।’
काठमाडौंमा इन्टरपोलको सम्मेलन हुँदै म्याच फिक्सिङदेखि मानव तस्करीसम्मका एजेन्डा
इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनमा नेपाल प्रहरीले मानव तस्करीलाई प्रमुख एजेन्डाका रूपमा उठाउने भएको छ । सम्मेलन ५ माघमा काठमाडौंमा सुरु हुँदै छ । वैदेशिक रोजगारीको प्रलोभनमा विभिन्न देशमा पुर्याएर नेपाली श्रम र यौनका लागि बेचिने गरेका छन् । यस विषयमा कार्यपत्र पनि प्रस्तुत हुने एआइजी विज्ञानराज शर्माले बताए । वन्यजन्तुका अंगको कारोबार, आतंकवाद नियन्त्रण, अन्तरदेशीय सहकार्य, विभिन्न संगठित अपराध तथा म्याच फिक्सिङलगायतका विषय पनि सम्मेलनका एजेन्डा छन् । सम्मेलनमा ५५ देशका प्रहरी प्रमुख तथा प्रतिनिधि आउने नेपाल प्रहरीले जनाएको छ । हायात होटेलमा तीन दिनसम्म चल्ने सम्मेलन इन्टरपोलका नवनिर्वाचित अध्यक्ष मेङ होङवीको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हुनेछ । होङवी चीनका सार्वजनिक सुरक्षाका उपमन्त्री हुन् । सन् १९८९ मा नेपालले पहिलोपटक भएको इन्टरपोलको १०औँ क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो । २८ वर्षपछि नेपालले २३औँ सम्मेलन गर्न लागेको हो । सम्मेलनले सुरक्षामा सहकार्यबाहेक देशको राम्रो छवि फैलने र पर्यटन क्षेत्रलाई पनि फाइदा हुने एआइजी शर्मा बताउँछन् । नयाँपत्रिकाबाट
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












