ताजा समाचार

काठको हलो र तेलबत्तीमा सीमित सिजाङको विकासमा ऐतिहासिक फड्को, स्मार्ट जीवनशैली अहिलेको विशेषता

६० वर्षअघि गरिबीले ग्रस्त, अहिले हजार गुणा अर्थतन्त्रमा सुधार

काठमाडौं । ८२ वर्षीय लोब्साङ विगत सम्झिँदै आफ्नो बाल्यकालको सम्झनामा हराउँछन् । बाल्यकालमा उनी ल्हासा शहरअन्तर्गत मोड्रो गोङकर जिल्लाको ताशिगाङ गाउँमा हजुरबुबाले प्रयोग गर्ने पुरानो तेलबत्ती सफा गर्थे । त्यो घ्यूको गन्धको सम्झनाले उनलाई सन् १९५० को चिसो रातमा फर्काइदिन्छ । तर आज, उनले स्मार्ट एलईडी बत्तीको डिमर बटन छुँदा, न्यानो प्रकाशले अघिल्लो पुस्ताको त्यो जीवनशैलीलाई आधुनिकतासँग जोडिदिन्छ ।

सिजाङ अर्थात् तिब्बत स्वायत्त प्रदेशले अब प्रविधि र पूर्वाधारको क्षेत्रमा अकल्पनीय प्रगति गरिसकेको छ । गाउँको मूल स्विच अन भएको बेला बजेको ‘जयजयकार’ अझै लोब्साङका कानमा गुञ्जिरहेछ। आज सिजाङमा १ लाख २४ हजार ९ सय किलोमिटर लामो सडक सञ्जाल निर्माण भइसकेको छ ।अत्याधुनिक फुसिङ रेल दैनिकहजारौं यात्रु बोकेर तीव्र गतिमा दौडिन्छ ।  १८३ वटा हवाई मार्गहरूले तिब्बती पठारलाई विश्वसँग जोडिरहेका छन् ।

छुशुर जिल्लाको चापालाङ गाउँकी एक वृद्ध आमाले कहिल्यै नसोचेको परिवर्तन आजभोलि देख्दैछिन् । अहिले उनका ८ वर्षीय नाति तेन्जिन नोर्सानले घरको अत्याधुनिक धारा देखेका छन् । ती वृद्ध आमाका लागि हिमनदी तरेर पिठ्यूँमा पानी ल्याउनु पर्ने दिनहरू अब इतिहास बनेका छन् । आज सिजाङका गाउँहरूमा अप्टिकल फाइबर बिछ्याइएको छ । गोठाला परिवारका बालबालिकाहरु मोबाइलमा बेइजिङका स्कूलका अनलाइन कक्षाहरूमा सहभागी हुन्छन् । सरकारले उपलब्ध गराएको १५ वर्षको निःशुल्क शिक्षा प्रणालीले तिब्बती बालबालिकाको भविष्य उज्यालो बनाइरहेको छ । वाइफाइको सहायताले मोड्रोका गोठालाहरू परिवारसँग सम्पर्कमा रहन्छन्, नाक्छुका शिल्पकारहरू सामाजिक सञ्जाल ’वेसीन सर्कल’ मार्फत तिब्बती कपडा बेच्दछन् र न्यारीका व्यापारीहरूले ई–कमर्समार्फत् कश्मीरसम्म सामान पुर्याउँछन् ।

तिब्बती वृद्ध लोबु दोर्जीले सन् १९५४ मा फलामको पिक एक्सले पहाड खनेको सम्झँदै आज छिङ्हाई–तिब्बत राजमार्ग हुँदै गुड्ने तीव्र गतिको रेल हेर्दा गौरव अनुभूत गर्छन् । एक समयको दुर्गम भूगोल अब त्रि–आयामी यातायात सञ्जालमा परिणत भइसकेको छ । सन् १९६५ देखि २०१५ सम्मको पाँच दशकमा सिचाङको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ खर्ब चिनियाँ युआन पुगेको थियो भने त्यसपछि मात्र ६ वर्षमा दुई खर्ब पार गर्यो। यो आर्थिक चमत्कार भएको त्यहाँका विश्लेषकहरु बताउँछन् ।

पर्यावरणीय संरक्षणको क्षेत्रमा पनि सिजाङ अगाडि देखिएको छ । ४.४ लाख नागरिक पर्यावरण संरक्षणको क्षेत्रमा संलग्न छन् । वन क्षेत्र विस्तार भएर १२.३१ प्रतिशत पुगेको छ र सिजाङको वायु गुणस्तर दर ९९.७ प्रतिशतले विश्वस्तरीय स्तरमा पुगेको छ । गोठाला किशोरहरू अब प्राकृतिक आरक्षण क्षेत्रमा प्रविधिमा आधारित काम गरिरहेका छन् र फोटोवोल्टिक प्यानलहरू जौका खेतहरूसँगै सहअस्तित्वमा छन् ।

सिजाङमा लोकतान्त्रिक अभ्यास पनि सशक्त रूपमा लागू गरिएको छ । ग्रामिण मामिलामा जनसहभागिता सुनिश्चित गर्न ‘खुला सूचना नियम’ लागू गरिएको छ, जसले स्थानीयवासीलाई नीतिनिर्माणमा भाग लिन अधिकार दिएको छ । कम जनसंख्या भएका जातीय समूह, जस्तै मेन्बा र लुओबा, का आफ्नै प्रतिनिधिहरू छन् । चार तहका जनकांग्रेसहरूमा कुल ४२,१५३ प्रतिनिधि छन्, जसमा ८९.२ प्रतिशत तिब्बती र अन्य अल्पसंख्यक छन् ।

६ दशकको विकास यात्राले सिजाङलाई परम्परा र आधुनिकताको सन्तुलनमा राखेको छ। यहाँ संरक्षण र विकास हातेमालो गर्दै अघि बढिरहेका छन् । पठारमा बसोबास गर्ने जनताले केवल स्थानीय परिवर्तन होइन, विश्वसभ्यताको ‘आधुनिकीकरण’ मा समेत महत्वपूर्ण उदाहरण प्रस्तुत गरेका छन् ।

 सिजाङको छलाङ:  काठका हलोबाट अत्याधुनिक उपकरण

सन् १९५२ मा सिजाङको अन्न उत्पादन मात्र १,५५,००० टन थियो । सन् २०२४ मा सिजाङको अन्न उत्पादन ११.२ लाख टन पुगेको छ । सन् १९५२ मा कुल पशुधन संख्या ९७.४ लाख थियो । सन् २०२४ मा कुल पशुधन संख्या बढेर १ करोड ७६ लाख पुगेको छ । सन् १९५२ मा काठका हलो प्रयोग हुन्थे, र धातुका उपकरणहरू अझै अपनाइएका थिएनन । आज सिजाङमा ९ वटा राष्ट्रिय स्तरका आधुनिक कृषि औद्योगिक पार्कहरू, ६ वटा विशेषता भएका प्रतिस्पर्धी उद्योगका समूहहरू र २८ वटा सबल कृषि औद्योगिक सहरहरू छन् । सन् २०२४ सम्ममा यस क्षेत्रमा करिब २,९६,८२० हेक्टर उच्च–स्तरीय खेतीयोग्य जमिन निर्माण भइसकेको छ ।

६० वर्षअघि गरिबीले ग्रस्त, अहिले हजार गुणा अर्थतन्त्रमा सुधार

आजभन्दा साठि वर्षअघि तिब्बत, जसलाई रहस्यमयी उच्च भू–भागका रूपमा चिनिन्थ्यो, गरिबीले ग्रस्त र एक्लिएको अवस्थामा थियो । त्यतिबेला सडक अत्यन्तै थोरै थिए र सामाजिक पूर्वाधार सीमित मात्रामा विद्यमान थिए।

तर आज, सिजाङले उल्लेखनीय प्रगति हासिल गरेको छ। यस क्षेत्रको अर्थतन्त्र करिब १,००० गुणा बढेको तथ्यांकले देखाउँछ । विशाल यातायात सञ्जाल विस्तारसँगै यस क्षेत्र अब देशका विभिन्न भागसँग मात्र नभई विश्वसँग पनि सशक्त रूपमा जोडिएको छ।

सामाजिक सेवामा भएको उल्लेखनीय सुधारका कारण जीवनस्तर उल्लेखनीय रूपमा उकासिएको छ। औसत आयु दोब्बर पुगेको छ भने पूर्ण गरिबीलाई अन्त्य गरिएको छ।

आजको सिजाङ चीनको समावेशी विकास नीतिको प्रत्यक्ष उदाहरणका रूपमा देखिन्छ । आत्मविश्वासी, खुला र दिनप्रतिदिन समृद्ध बन्दै गएको यो प्रदेश भविष्यमा अझ छलाङ मार्न साहसपूर्वक अघि बढिरहेको छ ।

सिजाङ स्वायत्त क्षेत्र स्थापनाको ६० औँ वार्षिकोत्सव, द्रुत विकासको नयाँ अध्याय

यस वर्ष सिजाङ स्वायत्त क्षेत्र (हाल शिदा भनेर चिनिने, जसलाई अन्य देशहरुले परम्परागत रूपमा तिब्बतका नामले चिन्छन्) स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइएकाे छ । स्थापना पश्चात् छ दशकको अवधिमा एक समय दुर्गम मानिएको यस क्षेत्रले अद्भुत रूपान्तरण हासिल गरेको छ ।

यसैक्रममा  राष्ट्रपति सी चिनफिङले बिहीबार ल्हासास्थित पोटाला दरबार चोकमा आयोजित एक भव्य समारोहमा सहभागी भए । सिजाङको ६० वर्षको प्रगति उत्सव मनाउन उनी उत्साहपूर्वक सहभागी भएका थिए । स्वायत्त क्षेत्रको स्थापना वार्षिकोत्सव कार्यक्रममा आर्थिक र सामाजिक विकासमा भएको महत्वपूर्ण प्रगतिको चर्चा गरिएको थियो ।

राष्ट्रपति चिनफिङ झन्डै २०,००० स्थानीय अधिकारीहरू र सबै जातजाति तथा जीवनका सबै क्षेत्रका जनतासँग मिलेर सिजाङ स्वायत्त क्षेत्रको स्थापनाको ६०औं वार्षिकोत्सवमा सहभागी भएका हुन् ।

सन् १९७० को दशकको सुरुवातमा सिजाङको प्रदेशीय उत्पादन (जीडीपी) ३० करोडभन्दा कम थियो । आज यो २७६.५ अर्बमा पुगेको छ, जुन करिब हजार गुणा वृद्धिको उदाहरण हो । यस उल्लेखनीय प्रगतिका पछाडि द्रुत आधुनिकीकरणको पृष्ठभूमी रहेको देखिन्छ ।

पहिले लगभग शून्य रहेको पूर्वाधार आज परिवर्तनको प्रतीक बनेको छ । राजमार्ग, रेलमार्ग र विमानस्थलहरूले यस क्षेत्रलाई चीन र विश्वसँग जोडिदिएका छन् । उदाहरणका लागि, ल्हासा–न्याम्ची रेलमार्ग संसारकै सबैभन्दा कठिन भू–भागमा उच्च गतिमा सञ्चालन भइरहेको छ, जसले महिनौँ लाग्ने यात्रा केही घण्टामै सम्भव बनाएको छ ।

विकासका क्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय सुधार देखिएको छ । १९५० को दशकको तुलनामा औसत आयु दोब्बरभन्दा बढी भएको छ । चरम गरिबी, जुन एक समय यहाँ व्यापक थियो, लगभग अन्त्य भएको छ । साथै, जलविद्युत्, सौर्य र हावाबाट ऊर्जाको उत्पादन तीव्र गतिमा बढ्दै गएको छ । यालुङ नदीमा हाल संसारकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण भइरहेको छ, जसमा करिब १.२ ट्रिलियन युआन (१६७ अर्ब अमेरिकी डलर) लगानी भएको छ । उक्त बाँधले थ्री गॉर्जेस बाँधको तीन गुणा बढी विद्युत उत्पादन गर्ने अनुमान गरिएको छ ।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका कारण पर्यटन उद्योग पनि यहाँको प्रमुख आर्थिक आधार बनेको छ, जसले रोजगारी सिर्जना गर्ने मात्र नभई आम्दानी वृद्धि गर्न सहयोग पुर्याएको छ । यस विकासले समावेशी प्रगतिलाई प्रवर्द्धन गर्दै ग्रामीण तथा गोठाला समुदायसहित सबै जातीय समूहलाई अवसर प्रदान गरेको छ ।

यद्यपि, चुनौतिहरू अझै धेरै देखिएका छन् । वातावरणीय संवेदनशीलता यहाँको प्रमुख चुनौती हो, त्यसैले दिगो विकासलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ । तर, स्पष्ट छ—आजको सिजान आत्मविश्वासी छ, बिकासमुखी छ र दिनप्रतिदिन समृद्ध बन्दै गएको छ । क्षेत्रीय स्वायत्तताको ६० वर्ष पूरा गरेको अवसरमा सिजानले साझा प्रगति, गरिमा र अवसरले भरिपूर्ण भविष्यतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org