माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि तय गरिएको थियो । तर लामो समयसम्म दियालो बंगलामा बस्न पाउनु भएन । अचानक माघ १६ गते राती ११ बजे नै हृदयघाटले निधन भयो । समाचारका अनुसार भोलिपल्ट बिहान ३:४५ मा चिकित्सकबाट देहावसानको घोषणा भयो । तर यो मृत्यु रहस्यमय रह्यो । धेरैले धेरै किसिमका तर्कहरु प्रस्तुत गरे ।
राजा महेन्द्रका केही भिन्न प्रबृत्तिको चर्चा गरौ ।
आषाढ कृष्ण पक्ष नवमीको दिन बिसं १९७७ जेठ ३० गते शुक्रवार नारायणहिटी राजदरवारमा कान्ती राज्यलक्ष्मीको कोखबाट जन्मनु भएका युवराज महेन्द्रको दुबै आमाहरु भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसंग धेरै निकटता थिएन । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । युवराजको बाल्यकालमा दरवार भित्र नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको हुँदा खासै बाहिर पनि सम्पर्क हुदैनथ्यो । दरवारमा शिक्षकको रुपमा किर्तिराज दलीले दरवारमै शिक्षा दिन थालेका थिए । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थालेका थिए । अंग्रेजीका सुविख्यात कविका कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो । पण्डित दधिराम पनि दरवारमा पढाउन आइपुगे पछि दुबै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाउन लगाइयो । बिस्तारै संगीत तर्फ पनि रुचि देखाउन थाले पछि भुपालमानसिंहलाई शास्त्रिय संगीत सिकाउन लगाइयो । यसरी दरवार भित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुँदै गए ।
पञ्चतन्त्रले जीवनलाई दुई विपरित किसिमले बुझ्न सिकायो । कसरी एकअर्कोमा सन्तुलन राख्न सकिन्छ भने बुझे । साथै जीवनमा बिनम्र बन्न पनि सिकायो । कणिक नीतिका कथाहरु र शिक्षाहरुलाई बाल्यकालमा ध्यानसंग पढेका युवराजले आफ्नो राज्यकालमा राजनैतिक रुपले कणिक नीतिका नियमहरुको उपयोग गरेका थिए । कणिक धृतराष्ट्रका प्रमुख मन्त्री थिए, कणिकको सल्लाहमा नै धृतराष्ट्रले राज्य सञ्चालन गर्दथे । पाण्डवसंगको युद्धमा कौरवहरुले कणिकको सल्लाह नै लिने गर्दथे । यसरी धृतराष्ट्रलाई कणिकले दिने सल्लाहलाई कणिक नीति भन्ने गरिन्छ । यसमा राजनीतिमा बिरोधीसंग कसरी विजय गर्ने भन्ने सिकाएको छ । पछि राजा महेन्द्रले कणिक नीतिको आधारमा नै राज्य सञ्चालन गरेका थिए ।
घोडचढीमा सिपालु रहेका युवराजको लागी दरवारमा सानो घोडा नै राखिएको थियो । राजा महेन्द्र युवराज छँदै पनि उनको स्वभाव अलि भिन्न थियो । यस्तैमा युवराज महेन्द्र विरामी भएपछि दरवारमा सुसारेको ब्यवस्था पनि गराइएको थियो । दरवारमा सुसारेको रुपमा रुम्जाटारकी रम्बा गुरुङलाई ल्याइएको थियो । दरवार भित्र नै रहने हुँदा रम्बा गुरुङसंग निकट हुँदा गर्भवती बनाउन पुगे । दरवारमा जस्तो परिस्थिती भए पनि भ्रुणहत्या गरिदैनथ्यो । जसले गर्दा रम्बालाई दरवारले ल्याइतेको रुपमा स्विकार गरियो । केवल १३ वर्षको उमेरमा नै महेन्द्र बाबु बने । रम्बाको नाम दरवारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको ब्यबस्था दरवारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने बञ्चित नै राखे । गीताबाट जन्मिएका छोरा रवीन्द्र, बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमालाई भने हेरेनन् । दरवारले चार जना नोकर सहित बार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसान पछि यि खर्चहरुमा कटौती गरियो ।
यसरी दरवार भित्रकी सेविकासंग नै लसपस भेटिए पछि युवराजको विवाह छिटोछिटो श्री ३ जुद्धशम्शेरको नातिनी तथा हरिशम्शेरको छोरी ईन्द्र राज्य लक्ष्मीसंग बि.सं.१९९७ बैशाख २६ गते गराइ दिए । विवाहको दश वर्ष पछि दिल्ली पलायन हुनु केवल दुइ महिना अगाडी युवराज धिरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी ईन्द्रको देहावसान भयो ।
युवराज्ञी ईन्द्रसंगको विवाह पछि युवराज महेन्द्रले युवराज्ञी ईन्द्रको लागि गोकर्णको जंगल भित्र सम्झना सदन बनाएका थिए । यदाकदा फुर्सद पायो भने सम्झना सदन पुग्दथे । युवराजले यसलाई शान्तीको आश्रयस्थल (Haven of peace) भन्दथे । यहि बेलाबेला साली रञ्जना पनि दिदीको साथ पुग्दथे । अचानक दिदी ईन्द्रको देहावसान पछि युवराज साली रञ्जनाको नजिक रम्न थाले । युवराज महेन्द्रले, बाबुसंग निहु खोज्दै साली रञ्जनासंग विवाह गर्न जिद गर्न थाले । बाबुले पहिलो विवाह तत्कालिन राणा श्री ३ जुद्धको नातिनीसंग गर्न बाध्य भए पनि देशमा प्रजातन्त्र आइसकेर राणाहरु अधिकारविहिन भइसकेको हुँदा छोरा युवराजको दोश्रो विवाह राणा परिवारसंग नगराउने ठानिसकेका थिए ।
भोली राजा बन्नुपर्ने युवराजको लागि भारतकै कुनै रियासतकी राजकुमारीसंग विवाह गराउने सोचमा थिए बाबु त्रिभुवन । छोराको जिद्दी पछि राजा त्रिभुवनले पनि माहिला छोरा हिमालयलाई राजगद्दीका हकदारको रुपमा युवराज घोषणा गर्ने तैयारी गर्न थालेका थिए । यता युवराज महेन्द्र पनि रञ्जनासंगको प्रेममा चुर्लुम्म डुबेर युवराजको पदबाट राजिनामा दिइ साधारण जनता सरह रञ्जनासंग नै जीवन बिताउने ठानिसकेका थिए । बिचमा नेपाली कांग्रेसका नेता विपीले राजा र युवराज दुबैलाई सम्झाएर राजा त्रिभुवनलाई रञ्जना राणासंग विवाहको लागि मनाउन सफल भए ।
यसरी युवराजको दोश्रो विवाहमा राजी भए पनि पछि आउन सक्ने विवादको आकलन गरि दोश्रो विवाह पछि सन्तान पाउन नपाउने शर्त राखे । जसको लागि भनिन्छ विवाह पूर्व नै पाठेघर फ्याक्न लगाएका थिए । यो के कति सत्य हो भन्ने कुनै आधार नभए पनि विवाह पछि सन्तान नजन्माने शर्त भने रञ्जनाले स्विकार गरेका थिए । यसरी ईन्द्र राज्य लक्ष्मीको देहावसानको दुई वर्ष पछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)संग विवाह भयो ।
राजा त्रिभुवन यस विवाहका लागी भित्र देखी नै खुशी थिएनन् । तसर्थ युवराज महेन्द्रले यो विवाह साथीसंगी र भाइहरुको साथ बागदरवारबाट रत्नलाई सिधै नागार्जुन दरवारमा लगेका थिए । शुरुमा नारायणहिटी दरवारमा भित्राउन अस्विकार गरिएको थियो । तर पछि राजा त्रिभुवनले यो सम्बन्धलाई स्विकार गरे । हुन पनि पछि युवराज्ञी रत्नले दिदीका सबै सन्तानलाई आफ्नै सन्तान सरह हुर्काए ।
राजा त्रिभुवनको भारत निर्वासन
२००७ सालमा राजा त्रिभुवन, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको षडयन्त्र र भारतीय राजदुत सिपिएन सिंहको गलत सल्लाहमा फँसेर भारतीय राजदुतावासमा शरण लिन पुगे । यस अगाडि राजा त्रिभुवनले नेपाली कांग्रेसलाई पाल्पा लगिदिन आग्रह गरेका थिए । पाल्पामा बसेर राणाशासनको अन्त्यको घोषणा गर्ने योजना थियो । तर कांग्रेस सधै समयमा आबश्यक काम गर्न चुक्ने गर्दछ । जसले गर्दा समयमा हेलिकोप्टरको ब्यबस्था गर्न ढिलाइ हुँदा राजा त्रिभुवन भारतीय राजदुतको चंगुलमा फसेँ । यहिँ नै नेपालको सबैभन्दा ठूलो दुर्भाग्य थियो । यसपछि नेहरु आफ्नो षडयन्त्रमा सफल हुँदै राजनैतिक रुपले नेपालको नियन्त्रण गर्न सफल भए । नेहरुले न त राजा त्रिभुवनलाई साथ दिए न त पूर्णरुपले विश्वास नै गरे । त्यस्तै विपिलाई पनि न त बलियो साथ दिए न त पूर्णरुपले विश्वास नै गरे ।
नेपाललाई आफ्नो एक प्रान्त झै ब्यबहार गर्ने नेहरुले उत्तर प्रदेशका गृह सचिव गोविन्दनारायण सिंहलाई राजा त्रिभुवनको प्रमुख सल्लाहकारको रुपमा नेपाल पठाए । त्यो समयको नेपाल गजेटमा उनलाई दिइएको अधिकारको अध्ययन गर्दा उ नै सर्वेसर्वा थिए । अझ मातृका मन्त्रिमण्डलको समयमा त सरकारी उच्च तहका ३०० कर्मचारी भारतीय थिए ।
मातृकाले नेहरुको सल्लाहमा एनएम बुचको अध्यक्षतामा एक आयोग गठन गरि उनकै सल्लाहमा प्रशासनिक सुधारका नाममा भारतीय कर्मचारीलाई नियुक्ती दिएका थिए । साथै नेपालमा सुरक्षाका लागि सैनिकको आबश्यकता नरहेको भन्दै नेपालको सैनिकहरुको संख्या घटाउन निकै ठूलो भूमिका खेलेका थिए । उनको करिव ३ वर्षको नेपाल प्रवासमा उनले नेपालको सुरक्षा परिषदको बैठक दिल्लीमा राख्न समेत सफल भएका थिए ।
नेहरुको चालवाजी बुझेका युवराज महेन्द्र मौकाको ताकमा थिए । राजा महेन्द्रले राजगद्धी सम्हाले पछि सबैभन्दा पहिले यिनै गोविन्दनारायण सिंहलाई भारत फिर्ता पठाए । तत्कालिन समयमा नेहरुले लेखेका पत्रहरुको चाङ नै अहिले पुस्तकका रुपमा आइसकेको हुँदा पनि नेहरुका तत्कालिन मनसायहरु अहिले सहजै पढ्न र बुझ्न सकिन्छ ।
युवराज महेन्द्र राजा बनेपछि
उपचार गर्दा गर्दै २०११ फागुन ३० गते अचानक स्विटजरलैण्डमा राजा त्रिभुवनको देहान्त भयो । युवराज महेन्द्रको काँधमा सिङ्गो राष्ट्रको बोझ आइपुग्यो, उनि राजा बने । देशमा राणाबाट मुक्तिपछि राजनीति गतिलोसंग गर्न जान्ने राजनेता जन्मिएको थिएन । एक अर्कोमा आक्षेप र खिचातानीमा नै समय बितिरहेको थियो । आफ्नो देशबाट राणाशासन हटाउनको लागि भारतको सहयोग लिएको हुँदा भारतले आफ्नो हैकम दरवारमा तथा राजनैतिक नेताहरु विचमा पनि बढाउन थालेको थियो ।
यसरी भारतको दवदवाको बिरोधमा नयाँ राजा महेन्द्रले कदमहरु चाल्न थालिहाले । हुन त राजा त्रिभुवन जीवितै रहँदा पनि युवराज महेन्द्रले भारतको दवदवाको विरोधहरु गरि नै रहेका थिए । बाबु राजा हुने समयमा नै भारतको विशेष गरेर नेहरुको नीतिको विरोध गर्दै आएका राजा महेन्द्रले आफ्नो शासनकालमा अझ बढि भारत तथा नेहरुकै उपेक्षा गर्न थाले । बिकासको लागि विश्वभ्रमण गर्न थाले । बिभिन्न देशसंग सहयोगको लागि आह्वान गर्न थाले ।
राजगद्दी सम्हालेको ५ महिनामा नै बि.सं. २०१२ साउन १७ गते चीनसंग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए । शासन सम्हालेको एक वर्ष भन्दा कम अवधिमा नै बि.सं. २०१२ असोज २२ मा पहिलो पञ्चवर्षिय योजनाको घोषणा गरेका थिए । तथा बि.सं. २०१२ मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरु बिचको सामंजस्य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए ।
२०१३ बैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्वका प्रमुख कुटनयिकहरुको पहिलो जमघट पनि थियो । यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्वभर चिनाउन मद्दत गरेको थियो । यस समारोहमा पहिलो पटक नेपालले विश्वभरका राजनयिकहरुलाई बिशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएको थियो ।
यहि माैकामा राजा महेन्द्रले अमेरिकी चलचित्र निर्माता लोवेल थोमसलाई शुभराज्याभिषेकको विशेष छायाँकन गरि चलचित्र सर्च फर प्याराडाइजका लागि अनुमति समेत दिएका थिए । यो चलचित्र स्वर्गको खोजीमा निस्केको एक अमेरिकी धनाध्यको कथा थियो । पाकिस्तानको हुन्जा उपत्यकाको भ्रमण पछि काठमाडाैमा आएका थिए । यो चलचित्र पछि राजा महेन्द्र अमेरिका भ्रमणमा पुग्दा लस एन्जेल्स भ्रमणमा हलिवुड पनि पुगेका थिए । त्यहि प्यारामाउन्ट पिक्चरको स्टुडियोमा राजा महेन्द्रलाई “सर्च फर प्याराडाइज” चलचित्र देखाइएको थियो ।
देशमा प्रजातन्त्र आगमन पछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरु सक्षम भइनसकेको आभास हुन्छ । यस बिच मातृकाप्रसाद कोइराला दुई पटक प्रधानमन्त्री बने तर अन्य प्रधानमन्त्रीहरु लामो समय टिक्न सकेनन् वा भनौ टिक्न दिएनन् । बि.सं. २००७ साल देखि २०१७ सालको बिचमा दलिय राजनीति निकै तल्लो स्तरको थियो । दाजुभाइ नै मिल्न सकेनन् दुबैलाई मिलाउने कांग्रेसी कार्यकर्ता भारतका नेतालाई गुहार्न सम्म पुगे ।
त्यस्तै घटना पछिल्लो समयको २०४६-४७ सालमा भएको नेपालको राजनैतिक परिवर्तन पछि देशमा बहुदलीय ब्यबस्था आगमन पछि पनि पूर्ण रुपमा राजनीतिक ज्ञान नभएका राजनैतिक दलहरुका अगुवाबाट २००७ साल पछिको पारा देखाएको थियो । देशको आबश्यकता भन्दा आफ्नो ब्यक्तिगत र दलहरुको स्वार्थमा डुब्दा देशले बिकास तथा परिवर्तन पाउन सकेन ।
देशमा प्रजातान्त्रिक सरकार बने पछि राजा लामो बिदेश भ्रमणमा निस्केका थिए । आफूले देशमा केही परिवर्तन गरेमा सहयोग गरिदिने अनुरोधका लागि पनि बिभिन्न प्रमुख देशका राजनयिकहरु भेट्न पुगेका थिए । विश्व राजनीतिलाई नजिकबाट नियालेर फर्केका राजाले राष्ट्रिय आमचुनावबाट बनेको बिपी सरकारलाई पनि अपदस्थ गरिदिए । देशमा रहेका राजनैतिक आस्था भएकाहरुको सधै यहि गुनासो रहने गर्दछ, “किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए” । तर सो को विरोध कुनै पनि देशबाट भएन ।
देशका जनतासंग प्रत्यक्ष सम्वादको थालनी पश्चिम नेपालबाट गर्दा बाटो घाटोको अप्ठ्यारो महसुस गरि २०१८ मा पूर्व पश्चिम राजमार्गको उद्घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए । हुन पनि यस राजमार्गको निर्माणले पूर्व देखि पश्चिमसम्मका नेपालीले आफ्नो देश सहजै चिन्न पाएका थिए ।
भनिन्छ त्रिभुवन विश्वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ती र ईश्वरीको गहना बेचेका थिए । राजकाजको समय कतिपय कठोर निर्णयहरु पनि भए होलान । जसलाई केही वर्गले सहजै स्विकार गर्न सकेनन् । तर समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरु राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समय अनुकुल बन्थे । कहिले कठोर कहिले नरम भएर आबश्यक कदम चाल्थे ।
यस पछि भारत अझै राजा महेन्द्रसंग चिढिए । बिभिन्न उद्योगहरुको स्थापनाको लागि चीन तथा रुसको सहयोग लिए । नेहरुले विरोध गरिरहे तर महेन्द्रले आफ्नो गति रोकेनन् । यसरी भारतले महेन्द्रको आफ्नो नेपाल प्रति दमनको नीतिको विरोधीको रुपमा लिन थाले । नेपाली कांग्रेसले सधै भारत आफ्नो हितमा रहेको ठानिरहे तर नेहरुले कहिल्यै वीपि प्रति सहयोगी र सद्भाव राखेनन् । राजा महेन्द्रको १७ सालको कदमको भित्रि रुपमा सहयोग नेहरुको पनि थियो । दुई दिन अगाडि मात्र भारतीय सेना प्रमुख ठिमैया नेपाल भ्रमणमा रहनु र १७ सालको कदम पछि जननिर्वाचित प्रधानमन्त्री जेल कोच्चिए पछि भारतको संसदमा नेहरुले बोल्ने क्रममा एक सांसदले नेपालका राजालाई धन्यवाद र बधाइ दिनुपर्छ सम्म भनेका थिए ।
साथै ठिमैयाको पक्षमा नेहरुले भनेका थिए, “उनि सम्मानको कार्यक्रममा पुगेका थिए तर अचानक राजाले यस्तो कदम चाले । यसमा ठिमैया अथवा भारतको कुनै साथ र सहयोग थिएन ।” तर अनौठो संयोग वा योजना थियो त्यसबेला । राजाले प्रजातान्त्रिक सरकार अपदस्थ गरिरहँदा भारतीय राजदुत हरिश्वर डोयाल, भारतीय सेना प्रमुख जनरल ठिमैया र नेपालका सैनिक प्रमुख निरशम्शेर चितवनमा जोन कोपम्यानका साथ थिए । पुस १ गतेको बिहानै राजा महेन्द्रले जनरल ठिमैयाको हात नेहरुलाई सम्पूर्ण जानकारी सहितको पत्र पठाएका थिए । तर नेहरुले सो पत्र पुस ४ को बिहान मात्र पाए । पछि राजासंगको भेटमा नेहरुले वीपि सरकार मात्र अपदस्थ गरेर संसद भंग नगरेको भए हुने भनेका थिए भनिन्छ ।
राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन् । पुरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन् । तर पनि छोटो अवधीमा पनि धेरै काम गरेर देखाएका थिए । शायद यो अवधीमा नेपालमा जुन किसिमको बिकासका पूर्वाधारहरु बने यसले पछि सम्म बिकासका लहरहरु नै चले । गाउँ गाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनिहरुको दुख सुन्ने परिपाती उनले शुरु गरेका थिए । जुन पछि राजा वीरेन्द्रले पनि नियमित गरे ।
बि.सं. २०२८ माघ ३ गते लामो छुट्टी मनाउने उद्देश्यले चितवन लागेका थिए । प्रधानमन्त्री किर्तीनिधी विष्टलाई माघ महिनाको मन्त्रीपरिषदको बैठक दियालो बंगलामा नै गर्ने पनि जानकारी दिएका थिए । साथै राजा यो छुट्टीमा देशको निकाशको लागि केही गहन निर्णय गर्ने मनसायले बिचार विमर्ष गर्न पनि एकान्त खोज्दै थिए । चितवन जाँदा उनमा कुनै पनि किसिमको शारिरीक समस्या थिएन । साधारण अवस्थामा छुट्टीमा चितवन पुगेका राजा केही दिन आफूलाई ब्यस्त राख्न शिकारमा पनि गएका थिए ।
बि.सं. २०२६ सालमा राजा महेन्द्रले राजधानी बाहिर नेपालकै मध्य भाग पर्ने गरि महेन्द्र राजमार्ग नजिकै शितकालिन दरवारको रुपमा दियालो बंगला बनाएका थिए । यो दरवार धार्मिक रुपले पनि महत्वपूर्ण देवहरुको भूमी देवघाटमा बनाइएको थियो । चारकोशे झाडीको जंगलको एक भाग भित्र जीवनको उज्यालोको आशाको स्वरुप बनाइएको थियो दियालो बंगला ।
२०२८ सालको असोज १९ गते देखि २९ गतेसम्म रौटहट र बारा जिल्लामा धार्मिक दंगा भएको थियो । यस पछि नेपालका जनजातीका अगुवाहरुको रुपमा खड्गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजंग गुरुङ, योगी नरहरीनाथ लगायत थुप्रैसंग इन्दिरा गान्धीले भेट गरेका थिए । देशमा जातीय द्वन्दको तैयारी इन्दिरा गान्धीले गराउन चाहेको भनक पाएका थिए, राजा महेन्द्रले । जुन बेला भारतको राजधानी दिल्लीमा नेपालका जातीय अगुवाहरु इन्दिरा गान्धीसंग गोप्य छलफलमा ब्यस्त थिए, त्यहि समय नै चितवनमा राजा महेन्द्रको देहावसान भएको थियो । नेपालमा पहिलो पटक भएको जातीय दंगामा ५१ ब्यक्तिको हत्या भएको थियो भने १८७४ घर जलाइएको थियो । यसको पिडा पनि राजा महेन्द्रलाई गहिरोसंग लागेको थियो ।
यस्तैमा माघ १० गते दियालो बंगलामा नै भएको मन्त्रीपरिषदको बैठकमा पनि भारतपरस्त एक दुई मन्त्रीबाट केही बिरोधका आवाजहरु आएका थिए । राजाले छलफलका लागि अर्को बैठक माघ १७ मा बोलाएका थिए । दलविहिन राजनीतिमा लागेको १० वर्ष भइसकेको हुँदा पनि देशमा बहुदलिय ब्यबस्थाको आबश्यकताको अनूभुति राजाले गरिसकेका थिए । बहुदलिय ब्यबस्थामा नेतृत्व भने बिपीलाई नै दिनुपर्छ भन्नेमा राजा निश्चिन्त थिए ।
राजाको आगामी योजना र नेतृत्वको आह्वान सहितको पत्र बोकेर श्रीभद्र शर्मा बिपी निर्वासन रहेको सारनाथ गइसकेका थिए । यसको जानकारी मन्त्रीमण्डलकै एक सदस्यले गोप्यरुपमा भारतलाई जानकारी पठाइएको आशंका गरिएको थियो । वास्तवमा भारत अझै पनि बिपीको नेतृत्व चाहदैनथ्यो । यस्तैमा माघ १७ को अर्को बैठक बस्नै नसकिने गरि राजा महेन्द्रको देहावसान भयो ।
राजा महेन्द्रको समयमा नै कीर्तिनिधी विष्टको सरकारले गरेको चीनिया नाका नजिकै रहेको भारतीय चेकपोष्टहरु हटाएको थियो । २०२६ साल साउन १० गते राष्ट्रिय पंचायतको बैठकबाट संकल्प प्रस्ताव पारित गराइ हिमाली नाकामा रहेका १७ भारतीय चेकपोष्ट, त्यहाँ रहेको वायरलेस अपरेटर तथा सैनिक तुरुन्त हटाउन लगाइएको थियो । यसबाट इन्दिरा गान्धी सरकार राजा महेन्द्र प्रति निकै रुष्ट भएको थियो । साथै किर्तिनिधी विष्टले १९५० को सन्धीको कुनै औचित्य नरहेको भन्ने बक्तव्य समेत दिएका थिए । राणाशासन अझै केहि समय टिकाउन मद्दत गर्ने लोभ देखाइ नेहरुले मोहनशम्शेरलाई १९५० को सन्धीमा हस्ताक्षर गर्न लगाएका थिए । तर पछि नेहरुले न त राणालाई सहयोग गरे न त विपी र त्रिभुवनलाई नै सहयोग गरे । सबैलाई लोभ देखाउँदै आफ्नो स्वार्थ पुरा गरिरहे ।
शुरुमा सिक्किमलाई भारतमा गाभ्ने र त्यसपछि भारतले नेपालको तराइ क्षेत्रलाई टुक्राउने योजना बनाएका थिए । सन १९६८ मा भारतीय जासुसी संस्था “र” को गठन भएको थियो । यसका प्रमुखका रुपमा आरएन काओ नियुक्त भएका थिए । काओ भारतीय जासुसको रुपमा परिचित भइसकेका थिए । जसले गर्दा काओ बिभिन्न षडयन्त्रमा अगाडि बढे । तराइ टुक्राउने भनक पाएका राजा महेन्द्रले तुरन्तै भारतीय चेकपोष्टहरु हटाउन लगाएका थिए । अचानक राजाको निधन भयो । उता भारतले सिक्किमलाई भारतमा विलय गरि छाडे । काओ नेपालको तराई टुक्राउने योजनामा अगाडि बढ्दै थिए ।
अचानक भारतीय राजनीतिमा आन्तरिक समस्या बल्झियो जसले गर्दा इन्दिरा गान्धीले इमर्जेन्सी लगाउन बाध्य भए । सबै राजनैतिक कृयाकलाप तथा अन्य योजनाहरु सबै रोकिए । काओको नेपालको तराइ टुक्राउने योजना पनि टुहियो । जसले गर्दा नेपाल एउटा ठूलो संकटबाट बच्यो । अझै पनि भारत नेपालको तराइ टुक्राउने योजनामा नै रहेको देखिन्छ । काओसंगको कुराकानीका आधारमा एके यादवले आफ्नो पुस्तक “मिसन र” मा यसको उल्लेख गरेका छन् ।
यि त भए षडयन्त्रका हुनसक्ने कारणहरु । राजा महेन्द्रको केही समस्या स्वास्थ्यको पनि थियो । २०२४ सालमा पहिलो पटक हृदयघाट भए पछि बेलायतमा उपचार भएको थियो । बि.सं. २०२७ माघ १७ गते शिकारको क्रममा कञ्चनपुरमा बाघलाई ताकेर हानिएको गोली ढुङ्गामा ठोकिइ उछिटिदा छर्राले रानी रत्नलाई चोट लागेको थियो । रानी रत्नको उपचार त्यसबेला नेपालमा नै गरिएको थियो । शाही चिकित्सक मेजर जनरल शुशिलचन्द्र हल्डरको बिशेष निगरानीमा उपचार भएको थियो ।
यस घटनाले पनि राजा महेन्द्रमा गहिरो चोट पुगेको थियो । बि.सं. २०२६ सालमा पनि शिकारकै क्रममा कञ्चनपुरको हरैयामा बाघलाई गोली प्रहार गर्दा गोली बाघमा नलागि उल्टै बाघले राजालाई आक्रमण गर्न लाग्दा नजिकै रहेका सुरक्षाकर्मीले बाघलाई गोली हानेर मारेका थिए । बाघको अप्रत्याशित आक्रमणको त्रासले राजा अचानक बेहोस भएका थिए । यसपटक भारतीय चिकित्सकहरुले नै उपचार गरेका थिए ।
सामान्य अवस्थामा माघ ३ गते दियालो बंगला पुगेका राजा महेन्द्रलाई तेश्रो पटक माघ १६ गते राती हृदयघाट भएको भनियो । जसको कारणले १७ गतेको बिहान ३:४५ मा निधन भएको जानकारी गराइयो । तर विवरणहरु अनुसार भने राजा महेन्द्रको उपचारका लागि भारतीय चिकित्सक एमएल भाटिया पनि आएका थिए । यदि एमएल भाटिया पनि उपचारमा संलग्न थिए भने राजा महेन्द्रलाई ब्यथाले केही दिन अगाडि नै समाएको हुनुपर्छ । शाही चिकित्सक सुशिलचन्द्र हल्डरले उपचार गरेका थिए । रानी रत्नको समेत उपचार गरेका हल्डर सेनाका चिकित्सक थिए ।
सेनामा उपरथी (मेजर जनरल) रहेका उनलाई रानी रत्नको सफल उपचारको लागि अति सुविख्यात सेवालंकार समेत दिइएको थियो । उनका साथै अर्का शाही चिकित्सक सच्चेकुमार पहाडी तथा मृगेन्द्रराज पाण्डे पनि खटिएका थिए । यसरी स्वदेशी बिशिष्ट चिकित्सकले उपचार गरिरहेको समयमा एम्स (AIIMS)का प्रख्यात चिकित्सक एमएल भाटियालाई बोलाइयो । उनको उपस्थिती नै धेरैलाई प्रश्नचिन्ह राख्ने ठाउँ बन्यो । उनको आगमन पछि नै राजाको देहान्त हुँदा उपचारमा लापरवाही वा षडयन्त्र भएको धेरै आशंका भयो ।
डाक्टर भाटिया एम्समा पहिलो पटक पेसमेकर प्रत्यारोपण गर्ने चिकित्सक हुन् । सन १९६५ बाट पेसमेकर प्रत्यारोपण मात्र गर्दै थिए । तसर्थ कतै दियालो बंगलामा सिमित श्रोत र साधनका बिच पनि उनले अप्रेशन गर्ने कतै प्रयास त गरेनन् । जसको कारणले राजा महेन्द्रको देहान्त भयो । यदि राजा महेन्द्र गम्भिर हृदयघाटबाट पिडित थिए भने किन तत्कालै सुविधा सम्पन्न अस्पतालमा लगिएन । किन दियालो बंगलामा नै उपचार गर्ने असफल प्रयास भइरह्यो ।
अर्को प्रसंग जोन कोपम्यानको पनि आउने गर्दछ । उनको बिबादास्पद भनाइ आएको थियो, राजा महेन्द्रलाई हृदयघाट हुँदा कोपम्यान र राजा दुइजना संगै थिए । उनले नै शाही डाक्टरलाई तत्कालै बोलाएका थिए । जोन कोपम्यानलाई कतै कतै सिआइएको एजेन्टको रुपमा पनि उल्लेख गर्ने गरिएको देखिन्छ । यदि यसो हो भने जोन कोपम्यान राजा महेन्द्रसंग एकान्तमा ह्विस्कीमा रम्नुको कारण के थियो । साथै राजा महेन्द्रको देहावसान पछि कोपम्यानले नेपाल सदाको लागि किन छोडेर गए ।
जोन कोपम्यान अचानक २०२९ सालमा नेपालबाट पलायन भए । उनले चलाइरहेको होटल टाइगर टपको जिम्मा उनले जिम एडवर्डसलाई दिएका थिए । २०२१ साउन २० गते राजा महेन्द्रको विश्वासपात्रको रुपमा जोन भर्नान कोपम्यानले होटल टाइगर टप चलाउन १५ वर्षको लागि चितवनको जंगलको बिचमा रहेको १७० एकड जमिन होटल सञ्चालनको लागि तथा जंगलको १००० वर्गमाइल क्षेत्र अन्य प्रयोजनका लागि लिएका थिए । जोन कोपम्यानले आफ्ना दुइ लगानीकर्ताको रुपमा अमेरिकी राज्य डल्लासका हर्वर्ट डब्लु क्लेन र टोडी लि विन्ने जुनियरलाई लिएका थिए । तर १५ वर्षको लागि होटल सञ्चालनको जिम्मा लिएका कोपम्यान राजाको देहावसान पछि जिम एडवर्डसलाई जिम्मा लगाएर नेपालबाट बाहिरिए ।
राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढि मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको बिकासको लागी बिभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरु खुलेका थिए । क्रमश बाटाहरुले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यति बेला ति उद्योग कल कारखानामा रहेका कर्मचारी तथा मजदूरहरु राष्ट्रमुखी सोच राख्ने थिए । नेपाल स्वतन्त्र राष्ट्र नै होइन भनेर संयुक्त राष्ट्र संघको सदस्यताको लागि नेपालले गरेको अनुरोधमा भिटो लगाउने रुसले राजा महेन्द्रको भ्रमण पछि थुप्रै उद्योग तथा सडकमा सहयोग गरे ।
अहिलेको तुलना गर्यो भने नेपालका नेताहरु ब्यक्तिमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सिमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन । जबसम्म देशका दलहरु र दलका अगुवाहरु राष्ट्रमुखी हुदैनन् । केवल आफ्ना र दलको स्वार्थमा नै केन्द्रित रहन्छन् । देशले कुनै गतिशिल निकास पाउँदैन ।
पछिल्लो समय युवाहरुको जेन्जी आन्दोलन पनि अधुरो रह्यो । बिचैमा हाइज्याक भयो । आन्दोलन पछि संसद र संविधान खारेज हुनुपर्दथ्यो तर हुन सकेन । संविधान जोगिनु र पुरानै संविधान अनुसार संसदको चुनाव हुनुेले भोली ति जेन्जीका युवा जो अगुवा थिए माथि अप्ठ्यारो स्थिति आउन सक्छ । यो संविधान रहनु भनेको नै हिजोका दलका अगुवाहरु बलियो रहनु हो । अहिलेको चुनावको नतिजा जस्तो आए पनि ति पुराना नेताहरुको दवदवा संसद भित्र रहिरहनेछ । स्वतन्त्र रुपमा जितेका वा साना दलका रुपमा सांसद बनेकाहरु भोलि किनबेच हुने सम्भावना हुन्छ । र पुरानाले फेरी खेल खेल्ने अवसर पाउँछ ।
अहिले हुन लागेको चुनावले कुनै निर्णय दिन सक्दैन । यसले अझ अवस्था जटिल बनाउने सम्भावना छ । अब दलहरुले नै राजालाई फिर्ता ल्याउने सम्भावना पनि न्यूनरुपमा उब्जेको छ । होइन भने निकट भविष्यमा अझ भयावह आन्दोलन निम्त्याउन सक्दछ । खैर, अहिलेको देशको राजनैतिक परिस्थितीको निकासको लागी कुनै नयाँ कदम छिट्टै आओस भन्ने अपेक्षा गरौं ।
-सुनील उलककाे फेसबुकबाट
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











