सेयर लगानीकर्ताले बुझ्नुपर्ने ९ विषय

केही महिनाअघिसम्म उच्च दरमा बढेर शिखर चुमेको नेपालको सेयर परिसूचक नेप्से हाल उत्साहप्रद छैन । अहिले सेयर बजार परिसूचक घट्दो क्रममा मात्रै छैन, दैनिक कारोबार रकम पनि एकदमै सानो हुन थालेको छ । यसले सेयर बजारको अबको दिशालाई अन्योलपूर्ण बनाएको छ । यस्तो अवस्थामा सेयर बजारमा भर्खरै प्रवेश गरेका तथा बुझ्दै गरेका लगानीकर्ताहरू आत्तिएका पनि छन् । नेपाली सेयर बजार अब कतातिर जाला र लगानीकर्ताले के बुझ्नुपर्ला भन्ने विषयमा सेयर लगानीकर्ता तथा विश्लेषक नवराज भट्ट यसो भन्छन्:
१. लगानीकर्ताको मनोबल खस्किन सक्छ
सेयर बजारमा कारोबार रकम दिनदिनै घटेपछि त्यसको खोजी हुने थालेको छ । सेयर बजारमा पुनः एक हिसाबले ठूलो पहिरो गएको छ भने पनि हुन्छ । वित्त बजारमा तरलता संकट गहिरिँदै गर्दा सेयरबजारमा सेयर मूल्य घट्ने क्रम तीव्र बनेको हो । बजारलाई आड दिने आधार कमजोर बन्दा लगानीकर्ताको मनोबल खस्किएको छ र उनीहरू सस्तैमा सेयर बेचेर भए पनि पैसा निकाल्ने प्रयासमा लागेका छन् । केही महिनाअघि दैनिक कारोबार रकम साढे दुई अर्बमाथि पुगेकामा त्यसयता घट्दै आएर अहिले ३३ करोड हाराहारीमा सीमित भएको छ । यसरी कारोबार रकम दिनदिनै घट्नुमा ठूला र संस्थागत लगानीकर्ता बजारबाट टाढा बसेको कारण मान्न सकिन्छ । केही कम्पनीको साधारण सेयर निष्कासन क्रम बढेको र हकप्रदका लागि रकम जोहो गर्नुपर्ने बाध्यताले लगानीकर्तालाई दोस्रो बजारको किनबेचमा साँघुर्याएको अवस्था छ भने अर्कोतर्फ तरलता अभाव, राजनीतिक अन्योललगायतका कारणले लगानीकर्ताको मनोबल कमजोर भएको छ ।
२. नयाँ लगानीकर्ता डुब्न सक्छन्
जतिसुकै मूल्य बढेको बजारमा पनि रातो चिह्नसहित बजार ओरालो लागेको देख्न पाइन्छ । यो क्रम नेपालको सेयर बजारले पनि समातेको छ । बैंकको न्यून ब्याजदर र संस्थागत लगानीकर्ताको प्रवेशले स्टकको भाउ बढाएको हो । साधारण सेयरको मूल्य देखाउने फ्लोट सूचक अझै पनि १ सय ५० अंकभन्दा तल नै छ । २०६५ भदौलाई आधार मान्दा नेप्से धेरै माथि गएको मान्न सकिँदैन । त्यसपछि बजार घटेर २ सय ९२ अंकसम्म झरेको थियो । यो न्यून बिन्दु भनेको नेपाली सेयर बजार ‘क्र्यास’ भएको हो । तर, अहिलेको बजारमा भाउ वृद्धि लगातार हुनु भनेको डरलाग्दो हो । यसले नयाँ लगानीकर्तालाई डुबाउन सक्छ । बजार बढेर नै जाने हो । तर, यसरी लगातार होइन । अहिले नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने समय होइन । तर, बजार बढेका वेलामा कोही पनि यस्तो सुझाब सुन्न चाहँदैनन् ।
३. ब्याजदर सेयरको भाउ बढाउने कारण
जुनवेला बजार क्र्यास भएको थियो त्यो समयमा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारी पुगेर उच्च थियो । अहिले ब्याजदर ७ देखि १० प्रतिशतको हाराहारीमा छ । यसबीचमा ब्याजदर त्यसभन्दा पनि तल झरेको थियो । न्यून ब्याजदर नै बजारमा सेयरको भाउ बढाउने पहिलो कारण हो । ब्याजदर र सेयर बजारको सम्बन्ध जहिले पनि विपरीत हुने गर्दछ । ब्याजदर बढेका वेला सेयरको मूल्य घट्ने र घटेका वेला सेयर मूल्य बढ्ने गर्छ । यो प्रवृत्ति नेपाली सेयर बजारमा पनि पटक–पटक देखिइसकेको छ । विश्वभरिकै बजार र ब्याजदरको सम्बन्ध विपरीत हुन्छ । नेपालमा बैंकले लगानी गर्ने क्षेत्र पाएपछि यो दर माथि जानेछ । अहिले बैंकमा तरलता थुप्रिएको छ । लगानी गर्ने ठाउँ कम छन् । लगानीकर्तालाई पनि बैंकमा पैसा राख्दाभन्दा सेयरमा लगानी गर्दा बढी आम्दानी हुन्छ । कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा हुने अवस्था छ । बजारमा सेयरको भाउ बढेर हुने नाफा र कम्पनीले दिने लाभांशलाई हेर्दा सस्तो दरमा कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा नै हुन्छ । यसैले अहिले बजारमा सेयरको भाउ बढेको हो । अहिलेको सेयर बजारमा दुई–चारजना लगानीकर्ता मिलेर मूल्य घटाउन र बढाउन सक्दैनन् । केही साना कम्पनीमा बाहेक बजार पूर्ण रूपमा बजारमा नै निर्भर छ । संस्थागत लगानीकर्ताको प्रवेशले बजारले नयाँ उत्साह र औजार पाएको छ ।
४. सामूहिक लगानी कोषबाट नयाँ गति
सामूहिक लगानी कोष सञ्चालनले बजारलाई नयाँ गति दिएको छ । यस्ता कोष सञ्चालनमा आएपछि बजारमा सेयरको मूल्य निर्धारण पूर्णतया बजारबाटै हुनेछ । अहिले पनि धेरै लाभ नआउने देखेर नेपाल टेलिकमको सेयर मूल्य नबढ्नु यसको उदाहरण हो । सेयरको मूल्य घटेका वेलामा यस्ता कोषले खरिद गर्नेछ भने बढेको समयमा बिक्री गरी बजारलाई सन्तुलित बनाइराख्नेछ । अहिले वाणिज्य बैंकहरूले स्थापना गरेका यस्ता कोषले सेयरमा लगानी गर्न थालेपछि पनि स्टकको भाउ अकासिएको बजारमा अहिले सेयरको नाफामा बुझाउनुपर्ने पुँजीगत लाभकर पनि अवैज्ञानिक छ । जति अवधि सेयर होल्ड गर्नेले पनि उही दरमा पुँजीगत लाभकर बुझाए पुग्छ । यसलाई वैज्ञानिक बनाउन एक वर्षभन्दा कम अवधिमा सेयर होल्ड गर्नेलाई बढी र लामो समय होल्ड गर्नेलाई घटी कर लगाउनुपर्छ । सँगसँगै तत्काल सेयर किनबेचमा संलग्नलाई बढी दर तोक्नुपर्छ । यसबाट तत्कालको ‘सट्टेबाजी’मा संलग्न हुनेलाई निरुत्साहित गर्नेछ र दीर्घकालका लागि सेयर किन्ने प्रोत्साहित हुनेछन् । धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र ब्रोकरले विभिन्न शीर्षकमा उठाउने शुल्क घटाउनु सकारात्मक छ । तर, ब्रोकरले पनि राम्रो आम्दानी गरिराख्नुपर्छ । यसबाट लगानीकर्तालाई उत्साहित गर्नेछ ।
५. नीतिगत अस्थिरताको सन्देश
चालू आर्थिक वर्षको मौद्रिक नीतिले मार्जिन लेन्डिङलाई नियन्त्रण नगरे पनि नीतिगत स्थिरता दिएन । मार्जिन लेन्डिङ एकपटक तोकेपछि चलाइरहनु भनेको बजारलाई अस्थिर बनाएर नियन्त्रणमा लिनु हो । राष्ट्र बैंकले यसपटक पनि मार्जिन लेन्डिङ कर्जाको सीमा परिवर्तन गरेर नीतिगत अस्थिरताको सन्देश दिएको छ । विगतमा राष्ट्र बैंकले यस्तै नीतिगत अस्थिरताबाट सेयर बजारलाई खेलाउँदै आएको थियो । पछिल्लो समय स्टकब्रोकरमार्फत लगानीकर्तालाई कर्जा दिने मार्जिन लेन्डिङको प्रस्ताव अगाडि आएको छ । धितोपत्र बोर्डको पाँचवर्षे गुरुयोजनामा पनि ब्रोकरमार्फत मार्जिन लेन्डिङ गर्ने व्यवस्था छ । स्टक ब्रोकरको क्षमता अभिवृद्वि नगरी तत्कालै यो व्यवस्था कार्यान्वयनमा ल्याउन सम्भव छैन । यसका लागि स्टक ब्रोकरको पुँजी, पूर्वाधार र जनशक्तिको क्षमता बढाउनुपर्ने हुन्छ । लगानीकर्तालाई सेयर धितो राख्न बैंक तथा वित्तीय संस्थामा धाउनुभन्दा सक्षम ब्रोकरमार्फत नै लगानी गर्ने व्यवस्था बढी सरल हुन्छ । भारतमा ब्रोकरले नै लगानीकर्तालाई कर्जा दिन्छन् ।
६. बजार आधुनिक युगमा प्रवेश गर्न नसक्नु
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) सञ्चालनमा आएपछि बजारमा कारोबार बढेको हो । यसले कागजी प्रमाणपत्रको युग समाप्त गरी डिजिटल जमानामा स्टक बजारलाई प्रवेश गराउने पहिलो चरणको काम पूरा गरेको छ । बजार आधुनिक युगमा प्रवेश गर्न सकेको छैन । बजारलाई पूर्णरूपमा आधुनिक र अन्तर्राष्ट्रिय स्तरको बनाउन अनलाइन कारोबार सुरु गर्नुपर्छ । सरकारी स्वामित्वको स्टक एक्सचेन्जले तत्कालै अनलाइन कारोबार सुरु गर्दैन भने निजी स्तरको स्टक एक्सचेन्ज स्थापना गर्नुपर्छ । गैरआवासीय नेपाली (एनआरएन) लाई सेयर बजारमा लगानी गर्न दिने घोषणा भएको धेरै भइसकेको छ । तर, एनआरएनको लगानी बजारमा आउन सकेको छैन । पोर्टफोलियो व्यवस्थापन कम्पनीमार्फत एनआरएनले लगानी गर्न सक्ने भनिए पनि कार्यान्वयनमा ल्याउन ढिलाइ भएको छ ।
७. विदेशी लगानीकर्तालाई बाटो खुला
एनआरएनको लगानी सुरु गरी अब बजारमा विदेशी लगानीकर्तालाई पनि बाटो खुला गर्नुपर्छ । सधैँ खुम्चिएर बस्ने कार्यले स्तरोन्नति हुनै सक्दैन । अर्थतन्त्रको ऐना स्टक मार्केट हो । यो मार्केटमा विदेशी लगानी नहुनु भनेको अगाडि बढ्न नखोज्नु हो । सेयर बजार भनेको भविष्यमा मुलुकको भविष्य कस्तो रहन्छ त्यसबाट कम्पनीको अवस्था निर्धारण हुन्छ भन्नेमा निर्भर रहन्छ । भविष्य आशावादी नभएमा बजार पनि घटिरहन्छ । भविष्य सकारात्मक भए बजार पनि बढिरहन्छ । सेयर बजार तत्काल कम्पनीले दिने नाफा, व्यवस्थापन, सकारात्मक भविष्यमा आधारित हुन्छ । यसको आधार भनेको राजनीति नै हो । राजनीति सकारात्मक भए आर्थिक विकास तीव्र हुन्छ । या वेलामा कम्पनीको नाफा पनि बढ्छ । लगानीकर्ताले पाउने प्रतिफल पनि बढ्छ र सेयरको मूल्य पनि उकालो लाग्छ । यही आधारमा अहिलेको बजार बढेको हो । सेयर बजार प्राविधिक विश्लेषणमा मात्रै आधारित हुन सक्दैन । बजारका लागि आवश्यक पूर्वाधार र आधुनिकताका लागि सरकारी निकायले प्रयास गर्नुपर्छ । बजारमा प्रतिस्पर्धा नहुने अवस्था, झन्झटिलो व्यवस्था अन्त्य गर्नेतर्फ नियामक निकाय लाग्नुपर्छ । आवश्यक पूर्वाधार तयार भएपछि बजारले निर्धारण गरेको मूल्यमा चिन्ता लिन जरुरी छैन । मूल्य बढ्ने घट्नका लागि हो भने भाउ घट्ने बढ्नका लागि हो ।
८. बजार घटबढ गराइनुहुँदैन
राष्ट्र बैंक र धितोपत्र बोर्डले बजारलाई घटबढ गराउने नीतिगत खेल नखेलेमा बजार उकालोतर्फ नै लाग्नेछ । जबसम्म बैंकमा निक्षेप र कर्जाको ब्याजदर बढ्दैन, त्यतिवेलासम्म बजार उकालो लाग्छ । जब ब्याजदर बढ्छ त्यसपछि बजार ओरालो लाग्न सुरु गर्नेछ । मुलुकको भविष्य सकारात्मक देखिएपछि सेयरको मूल्य बढ्ने हो । बजार पनि केही घटबढ हुँदै भाउ बढ्नेतर्फ नै अगाडि बढ्ने छ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने राष्ट्र बैंकको निर्देशनले बजारमा सेयरको संख्या बढाउनेछ । योसँगै वाणिज्य बैंकहरूले स्थापना गर्ने म्युचुअल फन्डको संख्या पनि बढ्दै छ । यसले बजारमा संस्थागत लगानी बढाउनेछ । लगानी बढ्नुको अर्थ भाउ पनि बढ्नेछ । बजार नबुझ्नेहरूले म्युचुअल फन्डको स्किम (सेयर) किन्नु उत्तम हुन्छ । नयाँ लगानीकर्ता पनि फन्डको स्किममा लगानी गर्ने र प्राथमिक निस्कासनमा एक सय रुपैयाँ अंकित सेयरमा पैसा हालेर बजारमा प्रवेश गर्नु राम्रो हुन्छ ।
९. व्यावसायिकता बुझेर लगानी
सेयर बजारमा लगानी गर्नेहरू धैर्य गरेर बसेमा एक, दुई वर्षमा होइन, कम्तीमा १० वर्ष कुर्ने हैसियत राख्ने हो भने सेयरमा लगानी गर्ने हरेक व्यक्ति करोडपति हुनेछन् । यसका लागि कम्पनीको अध्ययन, व्यवस्थापनको व्यावसायिकतालाई भने बुझ्न सक्नुपर्छ । एकै वर्षमा कमाउँछु भनेर लगानी गर्नेहरू भने टाट नै पल्टिन सक्छन् । घरजग्गामा जस्तो मुखका आधारमा सेयरको मूल्य तोकिँदैन । बजारले यसको मूल्य निर्धारण गर्छ ।
लेखक सेयर विश्लेषक एवं लगानीकर्ता हुन्
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












