ताजा समाचार

व्यवसायिक बेमौसमी तरकारी खेतीले फेरियो महिलाको जीवनस्तर

- नरजन तामाङसुर्खेत

सुर्खेत कुनाथरी–५, बेलचौरका महिलाहरूले बेमौसमी तरकारी खेतीलाई आफ्नो आर्यआर्जनको मुख्य स्रोत बनाउँदै आम्दानी गर्न सफल भएका छन् । करेसाबारीमा मात्रै तरकारी खेती गर्ने महिलाहरुले अहिले व्यवसायिक रुपमै बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सफल भएका हुन् ।

सधै चुलोचौकोमा मात्र सिमीत रहेका महिलाहरु समाज परिवर्तनको लागि सक्रिय बन्दै आयआर्जनमा समेत लागेका हुन् । बेलचौरका महिलाहरुले व्यवसायलाई सरल रुपमा आर्यआर्जन गर्ने बाटो बनाएका छन् ।  शुरुमा घरमा श्रीमानको दमनमा बस्ने महिलाहरुले बेलचौरलाई केही महिना अगाडि नमूना गाउँको अभियान चलाएका थिए । बेलचौरलाई साँच्चीकै नमूना बनाउने लक्ष्य लिएका उनीहरुले महिलाहरु पनि समृद्ध बन्नुपर्छ भन्ने लक्ष्य लिएर बेमौसमी तरकारी खेतीबाट आयआर्जनमा लागेका हुन् । सामूहिक रुपमा समाज रुपमान्तरणको अभियानमा लागेका उनीहरुले अहिले आफूहरु पनि आर्थिक रुपमा समृद्ध बन्न थालेको बताएका छन् ।

कुनाथरी गाविस बेलचौरकी रुपसिला सारु अहिले ३४ वर्षकी भईन । रुपसिला सुरुमा घरमा बालबच्चा हेरचाहमा मात्रै व्यस्त हुन्थिन तर उनी अहिले किर्डाक नेपालको कार्यक्रमले गर्दा सामाजिक अभियान्तासंगै आयआर्जन समेत गरेकी छन् ।

आमा समूहमा आवद्ध भएपछि किर्डाकद्धारा सञ्चालित सिडस कार्यक्रमबाट तालिम लिएर बेमौसमी तरकारी खेतीमा लागेकी हुन् ।  सुरुमा तरकारी खेती कसरी गर्ने भन्नेसम्म थाहा नपाएकी उनले अहिले भारतमा मजदुरीका लागि जाने युवाहरुलाई समेत तरकारी खेतीमा लाग्न प्रेरित गरिरहेकिछन् । उनले अहिले श्रीमान र आफू मिलेर तरकारी खेती गरी आर्यआर्जन गरेको बताइन । दुई मौसममा गरेको खेतीबाट वार्षिक रुपमा ७० हजार आम्दानी गरेको उनको भनाई छ ।

यस्तै कुनाथरी बेलचौरकी ५२ वर्षकी रम्बा गौतमले पनि तरकारी खेती बाटै आफ्नो दैनिकी सहज बनाएकिछन् । घरमा ६ जना परिवार भएको रम्बाले तरकारी खेती गरेको रकमले घर खर्च चलाउँदै आएकी छन् । घरको मुली मान्छे आफै भएको भन्दै उनले यही तरकारी खेतीबाट आफूले परिवार चलाएको बताइन । किर्डाकले नै दिएको रोग सम्बन्धीको तालिमले अझ सहज बनाएको उनले बताइन । अहिले तालिम लिएपछि तरकारी खेतीबाटै मनग्य आम्दानी गर्ने आँट आएको उनले बताइन् ।

२५ हजारको बीउ र टनेलको खर्च समेत कार्यक्रमबाट उपलब्ध भएको उनले बताइन । उनले श्रीमानको निधनले पीडा भएको भन्दै अहिले तरकारी खेती गरी पीडा भुल्दै आएको बताइन । उनले बार्षिक एक लाख २५ हजारसम्म आम्दानी गरेको उनको भनाई छ । तरकारी खेतीसँगै अहिले १२ वटा बाख्रा र कुखुरा पनि पाल्दै आएको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org