ताजा समाचार

कोरोना संक्रमणमा ६ जनाले ज्यान गुमाए अमेरिकामा, ७६ देशमा संक्रमण फैलियो !

एजेन्सी । अमेरिकामा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकी सवास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमबार वासिंटनमा थप ४ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ६ पुगेको हो ।

सियाटल र किंग काउन्टी जनस्वास्थ्य विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनले सोमबार पत्रकार सम्मेलन गर्दै संक्रमणको दर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । वासिंगटन राज्यमा मात्रै ६ जनाको मृत्यु भएको हो भने १८ जनामा संक्रमण भेटिएको छ । शनिबार पहिलो पटक कोभिड–१९ बाट अमेरिकामा मृत्यु भएपछि वासिंगटनका गभर्नर जे इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका थिए ।

सोमबार बिहानसम्म अमेरिकाका विभिन्न १० राज्यमा कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको छ । अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ ।अमेरिकामा कोभिड–१९ संक्रमण बढ्दै गएपछि अतिप्रभाविकत मुलुकको यात्रा तथा विदेशीहरुको आगमनमा प्रतिबन्ध लगाइएको छ ।

चीनमा घट्दै, अन्त बढ्दै

विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा चीनबाहिर ९ गुणाले संक्रमण बढेको जानकारी दिएको छ । साउदी अरेयिबा, जोर्डन र् ट्युनिसियाले सोमबार पहिलो संक्रमणको पुष्टि गरेका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार भने पछिल्लो समय चीनमा संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको छ । सोमबार थप १२५ जनामा मात्रै कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य आयोगले जानकारी दिएको छ । आइतबार २०२ जनामा संक्रमण देखिएको थियो । त्यस्तै सोमबार थप ३२ जनाको मृत्यु भएको स्वास्थ्य आयोगले जनाएको छ ।

मंगलबार बिहानसम्म चीनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ । त्यस्तै ८० हजार एक सय ५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४७ हजार निको भएको र ६ हजार ८ सय ६ जना गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

विश्वका विभिन्न ७६ देशमा गरी मंगलबार बिहानसम्म ९० हजार भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको छ भने ३ हजार एक सय २५ जनाको मृत्यु भएको छ । ४८ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org