ताजा समाचार

सचिवालय बैठक बोलाउन ओली सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी सचिवालय बैठक बोलाउन सकारात्मक भएका छन् ।

मंगलबार दिउँसो बालुवाटारमा भएको छलफलमा ओली र दाहालबीच सचिवालय बैठक बोलाउन सहमति भएको स्रोतले बतायो।

नेकपा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गर्दे आएका थिए। तर, अध्यादेश प्रकरणपछि दबाबमा परेका ओलीले यसलाई आलटाल गर्दै आए पनि मंगलबार दाहालसँगको भेटमा बैठक बोलाउन सकरात्मक भएका हुन्।

पार्टीका बरिष्ठ नेता झलनाथ खनालले बुधबार वा बिहीबारमा सचिवालय बैठक बस्ने बताए। ‘प्रधानमन्त्रीज्यूलाई भोली फुर्सद भए भोली नत्र पर्सी बैठक बस्छ। अब हामी उहाँलाई पर्खेर जाने पक्षमा छौं,’खनालले कान्तिपुरसँग भने।

सोमबार ओली र नेपाल समूहका नेताहरुबीचको वार्तामा मंगलबार नै बैठक बोलाउने समझदारी भएको थियो। तर, ओली र दाहालबीच भेटवार्ता तय भएपछि मंगलबारको बैठक बसेन। बुधबारका लागि अध्यक्षद्वय सकारात्मक भएका हुन्।

मंगलबार बालुवाटारमा भएको भेटमा ओली र दाहालले आ–आफ्ना अडान राखेको र बैठक बोलाउनेबाहेक अन्य राजनीतिक र शक्ति बाँडफाँडका मुद्दाचाहिँ कुनै सहमति नभएको स्रोतले बताएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org