ताजा समाचार

ओली र प्रचण्डसँग सशंकित माधव नेपालले बोलाए गुट भेला

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र सचिवालय बैठकमा अध्यक्षद्वयको मिलेमतोप्रति सशंकित रहेका वरिष्ठ नेता माधवकुमार नेपालले गुटगत भेला बोलाएका छन्।

आफ्नो निवास कोटेश्वरमा नेता नेपालले स्थायी कमिटी सदस्यहरुसँग छलफल गरिरहेका छन्। पार्टीको विवाद चर्किरहेका बेला शनिवार बसेको सचिवालय बैठकले केही हदसम्म किचलो साम्य पारेको छ। शनिवारको सचिवालय बैठकमा भएको गतिविधिबारे जानकारी र आगामी रणनीतिबारे छलफल गर्न नेपाल निकट नेताहरु भेला भएको बताइएको छ।

प्रधानमन्त्रीको राजीनामा र पार्टी नै फुट्न सक्ने तहसम्म पुगेको नेकपा विवाद एकाएक साम्य भएको छ। शनिवार सचिवालय बैठक अघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटमा विवाद सुल्झाएको नेताहरुले बताएका छन्।

बैठकमा दुई अध्यक्ष नरम रुपमा प्रस्तुत भएपछि नेता नेपाल भने सशंकित बनेका छन्। शुक्रवारमात्रै नेता नेपाल निवास कोटेश्वरमा प्रचण्ड र केही स्थायी कमिटी सदस्यहरुले भेट गरेका थिए। भेटमा सदस्यहरुले बैठकको माग राखेका थिए।

शनिवार बिहानदेखिको दौडधुपपछि नेताहरुले पार्टीमा एकजुट भएर जाने निष्कर्ष निकालेका छन्। बैठकले सदस्यहरुको माग अनुसार स्थायी समिति तय गरेको हो। वैशाख २५ गते बिहान ११ बजेका लागि स्थायी समिति बोलाइएको छ।

सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आत्मालोचना गरेका थिए। बैठकपछि नेताहरु अब पार्टी र सरकार विधिवत् रुपमा चल्ने बताउँछन्।

प्रधानमन्त्रीको राजीनामा मागेका शीर्ष नेताहरु तत्कालका लागि राजीनामा टरेको प्रतिक्रिया दिन थालेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org