ताजा समाचार

ओलीले देव गुरुङलाई भने – ‘प्रमुख सचेतकबाट राजीनामा दिनुस्’

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट चुलिएको बेला प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकको पदबाट देव गुरुङको राजीनामा मागेका छन् ।

मङ्सिर २८ गते ओलीले गुरुङलाई बालुवाटार बोलाएर राजीनामा मागेको स्रोतले दाबी गर्यो ।

‘तपाईको भूमिका र नियत मलाई सहयोग गर्ने जस्तो देखिएन, त्यसैले प्रमुख सचेतकबाट राजीनामा दिनुस्,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

स्थायी कमिटी बैठक सकेलगत्तै गुरुङलाई ओलीले बालुवाटार बोलाएका थिए ।

ओलीले राजीनामा मागेपछि गुरुङले पार्टीको निर्णयअनुसार नै आफू प्रमुख सचेतक भएकाले यत्तिकै राजीनामा नदिने बताए अडान लिएका थिए ।

गुरुङले विचार र सिद्धान्तका हिसाबले आफूले पक्षधरता लिएको भएपनि प्रमुख सचेतकका हिसाबले निभाउनुपर्ने कानूनी र संवैधानिक भूमिका आफूले निभाएको भन्दै आफ्नो बचाउ गरेका थिए ।

ओलीले राजीनामा मागेपछि गुरुङले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूलाई यसबारे जानकारी गराइसकेका छन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेर आफूलाई असहयोग गर्दै आएको आरोप ओलीले गुरुङमाथि लगाउँदै आएका छन् ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदीय दलका मुख्य सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेको बेला पनि देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउने चर्चा चलेको थियो ।

एमालेसँग पार्टी एकता हुनुअघि गुरुङ तत्कालीन माओवादी संसदीय दलको प्रमुख सचेतक थिए । पार्टी एकीकरणपछि तत्कालीन एमालेले संसदीय दलको नेता र तत्कालीन माओवादीले प्रमुख सचेतक लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org